मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई तत्काल कारबाही गर्नुपर्छ : महामन्त्री थापा

बुधबार, १० फागुन २०७९, १४ : ५९
बुधबार, १० फागुन २०७९

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग गरेका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गरे । थापाले लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताए ।

उनले लघुवित्तका कारण कयौं गरिब जनता माथि उठ्न नसक्नेगरी थला परेको टिप्पणी गरे । उनले लघुवित्त संस्थाहरुले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको  बताए । उनले अब एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न र सुपरीवेक्षण कार्यलाई तल्लो तहसम्म लैजान समेत माग गरे । 

उनले भने, ‘अति न्युन आय भएका गरिबीको आहालबाट निकाल्नको लागि काम होला भनेको गरिबहरु उठ्न नसक्ने गरी थला पर्न बाध्य भएका छन् । अनुचित नाफा कमाउनको लागि जे पनि गर्ने लघुवित्त संस्था र तत्कालको गर्जा टार्न जस्तो पनि ऋण लिने ग्राहकहरु । अनुमति लिँदै गर्दा हात फैल्याउने र सुपरीवेक्षण गर्दै गर्दा मुठी कस्ने राष्ट्र बैंकको कारणले लघुवित्तको समस्या देखिएको हो ।’ 

सांसद थापाले भने, ‘लघुवित्तको वास्तविक मर्कामा परेकाहरुको लागि सामाजिक उत्तरदायित्व वा निक्षेपकर्ता कोषको प्रयोग गर्ने र बदलियत नियतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्ने र एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन र सुपरीवेक्षण कार्य तत्लो तहसम्म गर्ने र वित्तीय साक्षरतालाई स्थानीय सरकारको साझेदारीमा तत्लो तहसम्म लैजाने काम राष्ट्र बैंकले तत्काल गरोस् भनेर ध्यानाकर्षण गराउँछु ।’

उनले राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन र सुपरिर्वेक्षण कार्य र वित्तिय साक्षरतालाई स्थानीय सरकारको साझेदारीमा तल्लो तहसम्म लैजाने काम राष्ट्र बैंकले तत्काल गर्नुपर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप