आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पौराणिक कथा : जटायुको सहयोग

बिहीबार, ११ फागुन २०७९, १६ : २३
बिहीबार, ११ फागुन २०७९

उपकारको फल उसैलाई प्राप्त हुन्छ, जसले गरेको छ । थाहा छैन कहिले हुन्छ, तत्कालै हुन पनि सक्छ निकैपछि हुन पनि सक्छ । हुन सक्छ अर्को जन्मसम्म पनि कुर्नुपर्ने हुन सक्छ तर प्राप्त हुन्छ जरुर । उपकार गर्नसाथ ईश्वरको खातामा त्या जम्मा भइसकेको हुन्छ र आवश्यकता अनुसार प्राप्त गर्ने गर्छ । त्यसैले तत्कालै फल मिलेन भनेर आत्तिन पनि हुन्न र आफूले सकेको उपकार गर्न छाड्न पनि हुँदैन ।  

प्रसङ्ग निकै पुरानो हो । जतिबेला भगवान् राम वनबासमा थिए । एक दिन उनी सीता र लक्ष्मणको साथ घुमिरहेको बेला एउटा विशाल आकृतिको गिद्ध देखे । सामन्य आकृतिको भन्दा भिन्न र ठूलो देखिएकाले रामलाई कुनै राक्षसले छल गर्दैछ भन्ने लाग्यो र धनुषवाँड ताके तर त्यो कुनै राक्षस थिएन । उसले तत्कालै मानिसको भाषामा भन्यो–

‘राम बाबु ! धनुषवाँण नताक । म तिम्रो हितैषी हुँ ।’

गिद्धको वचन सुनेर रामलाई आश्चर्य लाग्यो ।  उनले धनुष हटाउँदै सोधे–

‘पक्षीराज ! तपाईँ को हुनुहुन्छ ? बोली सुन्दा लाग्छ पक्कै कुनै ठूलै सन्त हुनुहुन्छ ।’

‘राम बाबु ! मेरो नाम जटायु हो ।’ गिद्धले आफ्नो परिचय दिँदै भन्यो– 

‘धेरै पहिले महर्षि कश्यपको अरुण र गरुण दुई भाइ छोरा भए । अरुणलाई भगवान् सूर्यले सारथि बनाएका थिए । उनै अरुणको छोरा हुँ । उहाँका दुई छोरा थियौँ, म र दाजु सम्पाति । 

एक पटक हामी दुई भाइ बाबुलाई भेट्न सूर्यलोकतर्फ गएका थियौँ तर सूर्यको तेज सहन नसकी म यतै फर्केँ । दाजु सम्पातिले भने उडान रोक्नुभएन । फलतः उहाँको पखेटा डडेर अपाङ्ग बन्नुभयो । त्यसपछि पक्षीसमूहले मलाई त्यस समयको राजा बनाएका थिए । बुढो भएपछि त्यो पनि छाडेर तपार्ईँको प्रतीक्षा गर्न लागेको थिए । आज त्यो पनि पूरा भयो, आभारी छु ।’

जटायुको कुरा सुनेर रामले श्रद्धापूर्वक शिर झुकाउँदै भने–

‘पक्षीराज ! तपाईँको प्रशंसा पिताश्री दरथको मुखबाट पहिले नै सुनेको थिएँ । एकपटक उहाँको प्राणै बचाउनु भएको रहेछ तर यस अघि अयोध्यामा भेट गर्ने अवसर भने पाएको थिइन । आज पाएँ । आभारी तपाईँ होइन म भएको छु ।’

रामको कुरा सुनेर जटायुको आँखा रसायो । उनले विगत प्रस्तुत गर्दै भने–

‘यो त सप्तद्वीपाधिपति महाराज दसरथको महानता हो । त्यति ठूलो राजाले पनि म जस्तो क्षुद्र पक्षीको सानो सहयोगलाई सम्झिरहनुभएको रहेछ । यसको अर्थ यस अघि अयोध्या नगएको भन्ने होइन । दुईपटक गएको थिएँ । पहिलो पटक तपाईँको पिताजी शनिदेवमाथि विजय प्राप्त गरी अयोध्या फर्कन लागेको बेला उहाँले सँगै लानुभएको थियो ।’

‘शनिदेवमाथि विजय गर्नु पर्ना कारण के थियो नि पक्षीराज !’ रामले थप जान्ने चाहे ।

त्यसको नालीबेली लगाउँदै जटायुले भने– 

‘एकपटक शनिको दुष्प्रभावका कारण पृथिवीमा अनिकाल मच्चिएको थियो । तपाईँको पिताजीलाई त्यो सैह्य भएन र मन्त्रबलले शनिलोक पुगेर युद्ध गर्न लाग्नुभयो । युद्धकै क्रममा उहाँ मूर्छा परेर पृथिवीमा झर्दै हुनुहुन्थ्यो । त्यतिबेला म त्यतै भएकाले उहाँलाई पिठ्युमा राखेर सकुल उतारेको थिएँ । तत्कालै होस आएकाले उहाँ पुनः लड्न जानुभयो । उहाँको पराक्रम सहन नसकी शनिदेवले दोष फिर्ता लिएर माफी मागेका थिए । त्यतिबेला अयोध्या फर्कँदा उहाँले मलाई पनि साथै लगेर भन्नुभएको थियो–

‘तपाईँले मेरो प्राणको रक्षा गर्नुभएको छ । यसप्रति आभारी छु । सट्टामा जे चाहे पनि पाउनुहुनेछ । भन्नुस् के सेवा गरौँ ।’ 

उहाँको कुरा सुनेर मैले भनेको थिएँ–

‘केही पनि चाहिन्न महाराज ! सानो सहयोग हो, कुनै चीज पाउने उद्देश्यले गरेको होइन ।’

तर उहाँले मान्नुभएन । केही पनि लिनुभएन भने मलाई दुःख हुनेछ भन्ने आशय व्यक्त गर्दैै भन्नुभयो– 

‘केही न केही माग्नैपर्छ ।’

त्यसपछि उहाँको वचन हार्न नसकेर भनेको थिएँ–

‘त्यस्तै हो भने महाराज ! अहिलेसम्म एउटै सन्तान छैनन् । जब तपाइँको सन्तान हुनेछ पहिलो सन्तान मलाई दिनुहोला ।’

मेरो कुरा सुनेर उहाँले निकै खुसी हुँदै भन्नुभएको थियो–

‘निःसन्देह । आएर लानुहोला ।’

‘अनि त्यसपछि ?’ रामले थप जान्न चाहे ।

जटायुले त्यसको पनि नाली बेली लगाउँदै भने–

‘तपाईँको जन्म भएपछि पनि गएको थिएँ । मलाई देख्नासाथ महाराज दशरथले तपाईँलाई मेरो काखमा दिँदै भन्नुभएको थियो–

‘मित्र ! यो मेरो पहिलो सन्तान तपाईँलाई सुम्पदैछु । आफ्नो नाशो समाल्नुहोला ।’

त्यतिबेला तपाईँको माताजीलाई निकै उदास भएको पाएँ । उहाँको अवस्था देखेपछि मन दुःखाएर ल्याउन मन लागेन र तपाईँलाई महाराजकै काखमा समर्पित गर्दैै भनेँ–

‘महाराज ! बालक सानै छ । आफ्नै साथमा रखेर शिक्षा दीक्षा दिनुहोला । ठूलो भएपछि आफैँ खोज्दै आउनेछ । यति भनेर फर्केको थिएँ । गिद्धको छाया मानिसलाई मन नपर्ने भएकाले त्यस दिनदेखि कहिल्यै अयोध्या गएको थिइन । यहीँ बसेर तपार्ईँको आगमनको प्रतीक्षा गरिरहेको थिएँ । आज आफैँ आइदिनुभयो । कृतार्थ भएँ । नजिकै पञ्चवटी पर्छ त्यहीँ गएर बस्नुहोला । स्थान निकै सुन्दर छ तर राक्षसहरूको आगमन भइरहने भएकाले सतर्कतापूर्वक बस्नुपर्छ । म पनि यही वरको रुखमा बसेर पुत्री सीताको रेखदेख गर्नेछु ।’

त्यसपछि उनले प्रत्येक दिन बिहान रामसीताको दर्शन गरेपछि मात्र दिन चर्या सुरू गर्न थाले । सीता हरणका बेला उनले रोक्न निकै प्रयास गरेका पनि हुन् तर केही लागेन । उल्टै रावणले उनको पखेटा काटिदियो । घाइते बनेर बसिरहेको बेला रामले उनलाई भेटे । रामलाई देख्नासाथ उनको प्राण गयो । त्यसपछि नै उनको सद्गत गरे ।

यसरी जटायुले कुनै समयमा महाराज दशरथलाई गरेको सहयोगले पछिसम्म पनि पछ्याइरह्यो र यसैका कारण रामको हातबाट उनको सतगत भयो ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप