सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय
महिला टी–२० विश्वकप छनोट

यूएईलाई हराउँदै विश्वस्तरीय छनोटमा पुग्यो नेपाल

सोमबार, ०५ जेठ २०८२, १२ : १५
सोमबार, ०५ जेठ २०८२

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले सोमबार खेलिएको आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पाँच विकेटले हराएको हो । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा पाँच विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो ।  जितसँगै नेपाली टोली विश्वस्तरीय छनोट प्रतियोगितामा पुगेको छ । नेपालसँगै थाइल्यान्ड पनि ग्लोबल छनोटमा प्रवेश गरिसकेको छ ।

नेपालको जितमा कप्तान इन्दु वर्माले अविजित ३० रनको योगदान गरिन् । उनले २८ बलमा दुई चौका पनि हिर्काइन् । रुविना क्षेत्रीले पनि टोलीका लागि २३ रनको योगदान गरिन् । उनले १८ बलको सामना गरी तीन चौका हिर्काइन् । 

ओपनर सम्झना खड्काले पनि टोलीको खातामा २१ रन थपिन् । उनले २७ बलमा तीन चौका प्रहार गरिन् । पूजा महतोले पनि १९ बलमा एक चौकाको मद्दतले १३ रन बनाइन् । राजमती ऐरीले आठ, कविता कुँवरले पाँच र रुवी पोद्दारले अविजित ६ रन बटुले । नेपालले अतिरिक्त रूपमा नौ रन पायो । 

त्यसअघि, युएईका लागि ओपनर एसा ओजाले ३९ रन बनाएकी थिइन् । उनले ३९ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काइन् । अर्की ओपनर थिरथा सतिशले पनि २१ रनको योगदान गरिन् । उनले भने ३२ बलमा दुई चौका प्रहार गरिन् । 

दुवै ओपनरले टोलीका लागि ४५ रनको साझेदारी गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी लावन्या केनीले ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाइन् । हिना होचन्दानीले पनि १६ बलमा तीन चौकाको मद्दतले २० रनको योगदान गरिन् । उडेनी डोनाले पनि अविजित ६ रन बटुलिन् । 

केजिहाय मारियम सबिनले पाँच रन जोडिन् । नेपाली टोलीकी बलर मनिषा उपाध्यायले चार विकेट लिइन् । उनले चार ओभरमा २० रन खर्चिइन् । कविता कुँवरले दुई विकेट हात पारिन् । राजमती ऐरीले पनि एक विकेट लिइन् । 

सुपर–३ चरणमा खेलिएको यो दोस्रो खेल हो । यसअघि आइतबार खेलिएको खेलमा आयोजक थाइल्यान्डले युएईलाई ५४ रनले हराएको थियो । नेपाली टोली समूह ‘सी’ को विजेता बन्दै प्रतियोगिताको सुपर–३ चरणमा पुगेको हो ।

यसैगरी, युएई समूह ‘बी’ को विजेता र थाइल्यान्ड समूह ‘ए’ को विजेता बन्दै सुपर–३ चरणमा प्रवेश गरेका हुन् । सुपर–३ चरणमा नेपालले आफ्नो दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । सुपर–३ चरणमा तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् । 

सुपर–३ चरणको खेलपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा प्रवेश गर्नेछन् । विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । 

हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने तीन टोलीको मात्र टुङ्गो लागेको छ । बङ्गलादेश, स्कटल्यान्ड र अमेरिकाले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् । बाँकी सात टोलीको भने टुङ्गो लाग्न बाँकी छ । 

विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुङ्गो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताबाट चार टोलीले सन् २०२६ मा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप