शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

४० जिल्लामा ३० हजार हात्तीपाइलेका बिरामी

शुक्रबार, १२ फागुन २०७९, १४ : २५
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । नेपालमा अझै पनि ३० हजार हात्तीपाइलेका बिरामी रहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किट्जन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार ४० जिल्लामा मात्रै गरिएको सर्वेक्षणमा हात्तीपाइले रोगको लक्षण र स्वास्थ्य समस्या भएका बिरामी ३० हजार जना रहेको पाइएको छ । 

यता विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा नेपाललाई हात्तीपाइले रोग निवारण राष्ट्रको रूपमा घोषणा गर्ने लक्ष्य राखेको छ । 

नेपालमा हात्तीपाइले रोग प्रभावित जिल्ला अझै १५ वटा छन् । यी जिल्लामा नियमित रूपमा आम औषधि अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले रोगको सङ्क्रमण देखिएकाले सरकारले छुट्टै रणनीति बनाएर अघि बढ्ने डा. दाहालले बताए ।

उनी भन्छन्, ‘पहिला पाँच वर्षसम्म लगातार दुई पटक हात्तीपाइले विरुद्धको औषधि ख्वाउने गरिन्थ्यो । गएको वर्षदेखि ती प्रभावित जिल्लामा तीन थरी औषधि ख्वाउने तर, दुई वर्ष मात्रै ख्वाउन थालेका छौँ ।’

हात्तीपाइले विरुद्धको औषधि ४८ जिल्लामा ख्वाएर एउटा चरण पार गरिएको उनले बताए । यस्तै, २७ वटा जिल्लामा निवारण नै भइसकेपनि महाशाखाले औपचारिक रूपमा जानकारी नदिएकोले सार्वजनिक भएको छैन ।

सरकारले ४८ जिल्लामा सङ्क्रमणको स्तर मापन गर्ने तथा रगतको परीक्षण कार्य गरिरहेको डा. दाहालले बताए । उनले २०३० सम्ममा हात्तीपाइले रोग निवारण गरिसक्ने जिकिर गरे ।

प्रभावित जिल्लामा लगातार औषधि अभियान सञ्चालन गरिएको थियो । पाँच वर्षसम्म सञ्चालन गरिएको आमऔषधि अभियानमा ६५ प्रतिशतले मात्रै हात्तीपाइले विरुद्धको औषधि सेवन गरेकाले समस्या भएको डा दाहालले बताए । 

हात्तीपाइले रोगविरुद्धको औषधिबारे जनचेतना फैलाउन पूर्ण रूपमा सबै सम्बन्धित सक्रिय हुन नसकेको डा दाहालले स्वीकारे । सहरमा व्यस्तताका कारण शिक्षित वर्ग नै औषधि सेवनप्रति चासो दिँदैनन् । १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धका औषधि ख्वाएको एक वर्षपछि रगत परीक्षण गरी नतिजाका आधारमा अगाडि बढ्ने उनको भनाई छ ।

किन खाने हात्तीपाइलेको औषधि ?

हात्तीपाइले विरुद्धको औषधि हात्तीपाइले रोग लागेकाले मात्रै सेवन गर्ने होइन । आमऔषधि अभियान सञ्चालन गर्दा सेवन गर्ने औषधिले कसैको शरीरमा हात्तीपाइले रोग गराउने परजीवी भएमा त्यो स्वतः मर्ने डा. दाहाल बताउँछन् । यसले सङ्क्रमण हुन पनि दिँदैन ।

यद्यपि मानिसको शरीरमा हात्तीपाइले रोगको परजीवी प्रवेश गरेको केही वर्षपछि मात्रै रोगको लक्षण देखिन्छ । शरीरमा हात्तीपाइले रोगको परजीवी ७÷८ वर्ष बस्ने उनले बताए ।

हात्तीपाइले रोगको परजीवी शरीरमा बसेको लामो समयसम्म थाहा हुँदैन । परजीवी बोकेकालाई टोकेको पोथी लामखुट्टे क्युलेक्सकले अन्य मानिसलाई टोकेमा त्यसमा रहेको परजीवी सर्ने भएकाले अनिवार्य रूपमा औषधि खानुपर्ने उनको सल्लाह छ ।

यद्यपि दुुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीले यो औषधि सेवन गर्न हुँदैन ।

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्दा बिरामी भइन्छ भन्ने गलत धारणा छ । शरीरमा हात्तीपाइले रोगको उचेरेरिया ब्याङ्क्रफ्टी नामक् परजीवी भएमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको ज्वरो आउने, खाना खान मन नलाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने हुन सक्छ ।

औषधि सेवन गर्दा शरीरमा कम परजीवी भएका मानिसमा सामान्य र बढी परजीवी हुनेमा कडा खालका लक्षण देखिन सक्छ । डा दाहालका अनुसार, औषधि सेवन गरिसकेपछि शरीरमा यस्ता खालका लक्षण देखिएमा औषधिले प्रभावकारी रूपमा काम गर्दैछ भनेर बुझ्न आवश्यक छ ।

ती लक्षण केही घण्टाभित्र आफै हराएर जाने उनले बताए । केही गरी शरीरमा लामो समयसम्म ती लक्षण रहिरहे नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाहमा उपचार गर्नुपर्छ । 

औषधि अभियान 

सरकारले बिहीवारदेखि हात्तीपाइले रोगविरुद्धको आमऔषधि अभियान चलाएको छ । यो अभियान झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली यी १५ जिल्लामा निरन्तर अझै दुइ सातासम्म सञ्चालन हुनेछ । डा. दाहालका अनुसार बिहीवार १५ जिल्लामा बुथबाट औषधि सेवन गराइएको थियो । शुक्रबार अर्थात् आजदेखि घरघर, स्कुलमा पुगेर औषधि खुवाइने अभियान सञ्चालन गरिनेछ  । आमऔषधि अभियानमा १५ जिल्लामा ९ हजार स्वास्थ्यकर्मी तथा १३ हजार महिला स्वास्थ्य स्वंयमसेविका परिचालन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप