शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार : तीन दिन खुलेको बजारमा ४७ अंकको गिरावट, ६ अर्ब २८ करोडको कारोबार

शुक्रबार, १२ फागुन २०७९, १८ : २२
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । यो साता पनि सेयर बजारका लागि सन्तोषजनक रहेन । आइतबारदेखि बिहीबारसम्म जम्मा तीन दिन खुलेको बजारमा ४७ अंकमाथिको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्क अनुसार अघिल्लो साताको अन्तिम कारोबार दिन फागुन चार गते नेप्से सूचक २१.१५ अंकले घटेर २ हजार ७०.४१ अंकको विन्दुमा अडिएको थियो । तर, यस सातको पहिलो कारोबार दिन आइतबार प्रजातन्त्र दिवस परेकाले एकैपटक सोमबार खुलेको बजारमा थप २३.६० अंकले नेप्से घट्दै २ हजार ४६.८१ विन्दुमा झर्न पुग्यो । 

मंगलबार (फागुन ९ गते) ग्याल्पो ल्होछारका कारण सार्वजनिक बिदा हुँदा पुनः बजार बन्द हुन पुग्यो । तर, दोस्रो दिन फागुन १० गते खुलेको बजारमा नेप्से सूचक ३३.५७ प्रतिशतले बढेर २ हजार ८०.३८ अंकको विन्दुमा उक्लियो । 

तर, कारोबारको अन्तिम दिन, बिहीबार भने पुनः ५७.७४ अंकले नेप्से सूचक घट्दै २ हजार २२.६४ अंकको विन्दुमा झर्न पुगेको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै लाभांश र ब्याजदरमा कडाइ गरेसँगै लघुवित्तको सेयर बजार ह्वात्तै डाउन हुन पुगेको छ । जसको प्रभाव नेप्से सूचकमा परेको हो । 

६ अर्ब २८ करोडको कारोबार

४७ अंकले नेप्से घटेको यस साता कुल ६ अर्ब २८ करोड ८५ लाख ६६ हजार ३९० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साता ११२ अंकमाथिले नेप्से घटेको बजारमा ८ अर्ब १४ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यद्यपि, यस साता जम्मा तीन दिन मात्र सेयर कारोबार भएको छ । 

फागुन ८ गते २३.६० अंकले नेप्से घटेको बजारमा १ अर्ब ९१ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने, दोस्रो कारोबार दिन फागुन १० गते नेप्से सूचक ३३.५७ अंकले बढ्दा १ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । र अन्तिम कारोबार दिन बिहीबार (फागुन ११ गते) नेप्से सूचक ५७.७४ अंकले घट्दा २ अर्ब ५१ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप