सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ब्याजदर कुनै एक जनाको चाहनाले मात्रै घट्न सक्दैन : ढकाल

शुक्रबार, १२ फागुन २०७९, २१ : ५४
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताको लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन् । शुक्रबार पर्वत उद्योग वाणिज्य संघको ४७ औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारण सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीहरुले भोटका लागि गैरजिम्मेवार रुपमा चर्को र जथाभावी बोल्न नहुने कुरा बताएका हुन् ।  

“हामीले हुललाई खुशी पार्नका लागि व्यवहारिक रुपमा सम्भव नहुने त्यस्ता केही लोकप्रिय कुरा गर्न सकिन्छ,’  उनले भने। उनले व्यवसायी साथीहरुले चुनावी फण्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गरे ।

‘तपाई हामीले चुनावमा भोटका लागि यस्ता मिठा मिठा कुरा त गरौँला । तर भोलि यसलाई कसरी निष्कर्षमा पुर्याउने भन्ने बारेमा पनि हामीले सोच्नुपर्ने हुन्छ’, उनले भने। कोभिड र रशिया–युक्रेन युद्धलगायत समस्याहरुले गर्दा नेपालको अर्थतन्त्रमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै उनले अब विस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गरे । 

‘अर्थतन्त्र अप्ठ्यारोमा थियो तर अहिले सुधारोन्मुख छ,’ उनले भने, ‘विस्तारै धेरै कुरामा सुधार देखिन सुरु भएको छ । हामी व्यवसायीको जस्तोसुकै अफ्ठ्यारो परिस्थितिमा पनि किन्चित नहडबडाइ निरन्तर सेवा प्रदान गर्ने गरेको इतिहास छ । हामी धेरै निरास हुनुहुँदैन । नैरश्यताले हामी आफैंलाई नै समस्यामा पार्छ ।’ 

आफू एउटा बैंकको सञ्चालक भएको नाताले धेरै ठाउँमा पटक पटक बैंकको व्याजदरको विषय उठाउने गरेको बताउँदै उनले धेरै व्यवसायीलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको व्याजदर परिवर्तन हुने भ्रम रहेको बताए ।

‘धेरै व्यवसायी साथीहरुलाई के भ्रम रहेको छ भने म वा कुनै एउटा बैंकको सञ्चालकले घटाइदिने हो भने व्याजदर घट्न सक्छ । यसले त्यसो नगरेर यसले बैंकको मात्र पक्षपोषण गरेको छ । तर म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंक वा बैंकको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन । म आफैंलाई पनि बैंकको व्याजदर घट्दा हुने फाइदा मैले बैंकबाट पाउने लाभांशभन्दा धेरै गुणा बढी हुन्छ’, उनले भने । 

वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगरका व्यवसायीहरुको हक, हित र संरक्षणका लागि आफूहरु लागिरहेको र निरन्तर लागि रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप