मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

ओली–माधव सहकार्यको सम्भावना कति ?

भुसाल भन्छन्– सम्भावना छैन, भट्टराई भन्छन्–हेर्ने दृष्टिकोण फरक छ
आइतबार, १४ फागुन २०७९, १४ : २९
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाटै विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई डेढ वर्षपछि राजनीतिक पार्टीका रूपमा सम्बोधन गरेका छन् । यसलाई कतिपयले ओलीले डेढ वर्षपछि नेकपा एकीकृत समाजवादीलाई पार्टीका रूपमा स्वीकार गरेको टिप्पणी गरेका छन् । नेता माधव नेपालले २ भदौ २०७८ मा एमालेबाट औपचारिक रूपमा छुट्टिँदै आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।

त्यसयता नेकपा एमालेले नेता नेपाल नेतृत्वको पार्टीलाई राजनीतिक पार्टीका रूपमा स्वीकार गर्नुको साटो सर्वोच्च पुगेर रिट निवेदन दिने र लामो समय सदन अवरुद्ध गरेको थियो । एमालेले नेता नेपाल नेतृत्वको पार्टीलाई पार्टीको हैसियत नदिन माग गर्दै सर्वोच्चमा दिएको निवेदन हालसम्म पनि यथावत् छ । पार्टी गठनपछि एकीकृत समाजवादीले डेढ वर्षकाबीचमा २०७९ वैशाख र २०७९ मंसिरमा सम्पन्न स्थानीय निर्वाचन र आम निर्वाचनमा सहभागी भैसकेको छ । हाल नेता नेपालको पार्टीबाट प्रतिनिधि सभामा १० जना सांसद छन् ।

मंसिरमा सम्पन्न आम निर्वाचनपछि पहिलेको संसदको आकार समेत फेरिएको छ । यसमा कांग्रेस पहिलो र एमाले दोस्रो दल बन्दा नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेपनि प्रतिनिधि सभामा १० सिट जितेको छ । प्रदेशमा समेत सो पार्टीको उपस्थिति छ ।  मंसिरमा सम्पन्न आम निर्वाचनपछि दोस्रो ठुलो दलमा खुम्चिएको एमालेले पछिल्ला दिनमा एकीकृत समाजवादीसँग सहकार्य गर्ने चाहना गरेको छ ।

शनिवार मात्रै राष्ट्रपति निर्वाचनका सवालमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पत्र नै लेखेर राष्ट्रपतिमा सहयोग गर्न प्रस्ताव गरेका हुन् । त्यसअघि अध्यक्ष ओलीले नेपाललाई भेटेर राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव समेत गरेका थिए । तर ओलीको प्रस्तावमा नेपाल विश्वस्त हुन सकेनन् र राष्ट्रपतिमा कांग्रेस उम्मेदवारको पक्षमा खुलिसकेका छन् । 

राष्ट्रपतिमा ओलीले नेपालसँग गरेको प्रस्तावप्रति नेकपा एकीकृत समाजवादीले औपचारिक पत्र वा जवाफ पठाइनसके पनि पार्टी प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवाद ज्ञापन गरेका छन् । उनले यसले औपचारिक रूपमा राजनीतिक संवादको ढोका खुलेको समेत बताएका छन् । यद्यपि खतिवडाले राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारलाई सघाउन नसकिने प्रस्ट भनेका छन् ।

‘पत्रका लागि धन्यवाद । यसले औपचारिक रूपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ  राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण  निर्माण हुन सक्दछ’, खतिवडाले भनेका छन् ।

पार्टी महासचिव डा. बेदुराम भुसालले भने खतिवडाले दिएको उक्त जवाफ व्यक्तिगत धारणा भएको बताए ।

‘पार्टीले एमाले अध्यक्ष ओलीको पत्रका सम्बन्धमा कुनै जवाफ दिएको छैन’, भुसालले रातोपाटीसँग भने,‘हामीले त्यसलाई कुनै महत्त्व पनि दिएका छैनौ ।’ महासचिव भुसालले एमाले आफू डुब्ने भएपछि सहारा खोजेको मात्र भन्दै उसँगको सहकार्य तत्काल सम्भव नभएको पनि बताए ।

उनले भने, ‘एमालेसँग अहिले तत्काल सहकार्यको सम्भावना छैन ।’ राष्ट्रपति निर्वाचनका सन्दर्भमा एमाले अध्यक्ष ओलीले पत्र लेख्दैमा सहकार्यको आधार नबन्ने भुसालको भनाइ छ ।

‘भोट माग्न पत्र लेख्दैमा सहकार्यको आधार बन्दैन । उम्मेदवार भएपछि भोट माग्नु एउटा कुरा भयो, त्यसरी भोट एमालेले अरू पार्टीसँग पनि मागेको छ । फेरि पत्रमा पुस १० को सहमतिअनुसार भनिएको छ, पुस १० को सहमतिमा हामी कतै जोडिएकै छैनौ’, भुसालको भनाइ छ । उनले एमालेले पठाएको पत्र खाली मिडिया खपतका लागि मात्रै भएको बताए । ‘त्यो त मिडिया खपतका लागि गरेको स्टन्टबाजीमात्र हो र त्यसले कुनै उपलब्धि हासिल गर्दैन भन्ने मेरो बुझाइ छ’, भुसालको टिप्पणी छ ।

तर नेकपा एमालेका सचिव योगेश भट्टराई भने निर्वाचन अघि र अहिलेको अवस्था फरक भएकाले दुई पार्टीबिच सहकार्यको सम्भावना रहेको बताउँछन् ।

‘चुनाव पछाडिको अवस्था बदलियो । चुनावअघि अदालतमा हामीले जे मुद्दा उठाएका थियौँ, चुनावपछि उहाँहरू (नेकपा एस) ले पार्टी बनाएर, निर्वाचन आयोगले मान्यता दिएर चुनाव नै लडेर आइसकेपछि हिजोको अवस्था रहेन’, सचिव भट्टराईले भने, ‘उहाँहरूले एमालेलाई हेर्ने अवस्था पनि हिजोको जस्तो छैन ।’

उनले हिजो एमाले र नेकपा एकीकृत समाजवादीले एक अर्कालाई हेर्ने दृष्टिकोण चुनावले नै मिलाइदिएको पनि बताए । ‘चुनावले आआफ्नो वैधानिक पोजिसन क्लियर गर्दिएको छ साथै जनताबाट अनुमोदित भएर संसदमा आइसकेपछि सबै दलसँग सहकार्य गर्ने र सम्बन्ध स्थापित गर्ने नीति एमालेको छ’ सचिव भट्टराईले भने, ‘नेपालका सबै वामपन्थी कम्युनिस्टहरू नेकपा एमालेमा आबद्ध हुने हो, त्यो बाहेक अर्को बाटो छैन अव माओवादी पनि बाहिर रहन सक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप