शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

केपी, रवि र राजेन्द्रको मोर्चाले सरकारलाई कति चुनौती ?

सोमबार, १५ फागुन २०७९, ०७ : २७
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । ‘केपी ओली सत्तामा हुँदा पनि समस्या, सत्ता बाहिर हुँदा पनि समस्या छ । अब त्यसमै एमाले र रास्वपा सत्ता बाहिर जाने देखिन्छ । राप्रपा त सत्ता बाहिर गई नै सक्यो । यदि एमालेसहित रास्वपा र राप्रपा प्रतिपक्षमा गए सरकारलाई निकै चुनौतीपूर्ण हुने देखिन्छ,’ यो विश्लेषण हो नेकपा माओवादी केन्द्रका एक प्रभावशाली मन्त्रीको ।

माओवादी केन्द्रसमेतको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने भएपछि एमाले सहितका दलहरु बिच्किएका छन् । एमालेले उपयुक्त समय खोजेर सत्ताबाट बाहिरिने तयारी गरेको ती मन्त्रीको दाबी छ ।

‘अब एमाले, रास्वपा र राप्रपासहित तीन दल सत्ता बाहिर जान्छन् । सानो गल्ती भए छोड्नेवाला छैनन् । कामै गर्न गाह्रो छ । उनीहरूको अधिकांश समय सरकारको कामको विरोधमै बित्ने देखिन्छ,’ ती मन्त्रीले भने, ‘एमालेका अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिपक्षमा भए जनमतलाई प्रभावित पार्छन् । त्यसको असर सरकारलाई प्रत्यक्ष पर्न सक्छ ।’

तर, प्रतिपक्षमा रहने दलहरु सशक्त भएमा सरकार सञ्चालन प्रभावकारी हुने पनि ती मन्त्री बताउँछन् ।

एमाले अध्यक्ष ओली, रास्वपाका सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देन तीनै जना भाषण कलामा पोख्त छन् । उनीहरु प्रतिपक्ष भएमा जनमतलाई समेत प्रभावित पार्न सक्ने भएकाले माओवादी नेताहरुले दबाब महसुस गरेका छन् ।

तर, एमालेका सचिव योगेश भट्टराईले सरकारका विषयमा कुनै निर्णय नभएकाले एमाले सरकारमै रहिरहने बताए । सरकारका विषयमा परिस्थिति हेरेर निर्णय लिइने उनको भनाइ छ ।

‘प्रचण्डजीलाई के चाहिएको हो, थाहा छैन । उहाँलाई एमाले भन्दा कांग्रेसमा विश्वास छ,’ भट्टराईले भने, ‘राष्ट्रपतिको विषयमा एमालेलाई घाटा छैन । उल्टै माओवादीलाई क्षति हुन्छ ।’

एमाले तत्काल सरकार छोड्ने तयारीमा छैन । उपयुक्त समयमा एमाले आफै सरकारबाट बाहिरिने रणनीतिमा छ । त्यो बेलासम्म एमालेका संघीय सरकारका मन्त्री सहित प्रदेशका मुख्यमन्त्री र मन्त्री सरकारमै रहने छन् । एमालेका मन्त्री सरकारमा हुँदा कांग्रेससहित एकीकृत समाजवादी र जसपालाई सरकारमा जान समस्या पर्ने देखिएको छ ।

तर, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद राजन दाहालले यदि एमाले सरकारबाट नबाहिरिएमा एमालेका मन्त्रीहरुलाई बिना विभागीय बनाएर सरकार पुनर्गठन गरिने बताए ।

सत्तामा हुँदा पनि राप्रपा र रास्वपाले अस्थिरता सिर्जना गरेपछि नयाँ राजनीतिक समीकरण बन्न पुगेको उनको भनाइ छ । ‘सत्तामा हुँदा राप्रपा र रास्वपाले राम्रो गतिविधि गरेनन् । उनीहरु सत्तामा हुँदा कामै गर्न नसक्ने अवस्था भयो,’ दाहालले भने, ‘एमाले, राप्रपा, रास्वपा सरकारबाट बाहिरिएमा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन, संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्न मद्दत पुग्छ ।’

एमाले सहित राप्रपा, रास्वपा प्रतिपक्षमा भए पनि कुनै समस्या नहुने दाहालको दाबी छ । उनीहरु सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा गर्ने गतिविधि उस्तै हुने भएकाले सरकारलाई कुनै समस्या नहुने उनको विश्लेषण छ ।

‘परिस्थिति बदलिएमा समीकरण पनि स्वाभाविक रूपमा बदलिन्छ । यो समीकरण बन्नुमा एउटा राजनीतिक उद्देश्य छ,’ दाहालले भने, ‘पछिल्लो चरण मुलुक राजनीतिक अस्थिरतातिर जाने सङ्केत देखियो । राप्रपा र रास्वपाको गतिविधि असाध्यै अनुशासनहीन देखियो ।’

राप्रपा र रास्वपाका नराम्रा गतिविधि प्रधानमन्त्री प्रचण्डले रोख्न खोजे पनि केपी ओलीले संरक्षण गरेको उनको भनाइ थियो । ‘राप्रपा र रास्वपा लगायत दललाई प्रचण्ड कमरेडले रोक्न खोज्नुभयो । केपी कमरेडले संरक्षण दिन थाल्नुभयो,’ उनले भने, ‘त्यसपछि परिवर्तन पक्षधर एक ठाउँमा उभिने परिस्थिति बन्यो ।’

अहिलेको आठ दलीय गठबन्धन पुरानो गठबन्धन नभएर नयाँ आवश्यकतामा बनाएको दाहालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप