सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कोभिड–१९ विरुद्धको खोप

दोस्रो पटक बुस्टर डोज पाउने लक्षित समूह कुन–कुन हुन् ?

बुधबार, १७ फागुन २०७९, ११ : ०४
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । सरकारले कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो मात्रा अर्थात् बुस्टर डोज खोप दिने भएको छ । 

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतमले दोस्रो पटक बुस्टर डोज खोप लक्षित समूहलाई दिइने बताए । 

उक्त खोप स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती, ५५ वर्षभन्दा माथिका सबै नागरिकलाई दिइने उनले बताए । 

हालसम्म कोरोना विरुद्धको बुस्टर डोज खोप ८० लाख ६९ हजार ८३१ जनाले लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडा छ  । यसले खोप लगाउने दर बढेको देखिँदैन । 

गएको एक साता यता ८ फागुनमा २ हजार ७५० जनाले बुस्टर डोज लगाएका छन् । यस्तै, ९ गते ४ हजार ६१० जनाले बुस्टर डोज लगाउँदा ११ गतेसम्मको आँकडामा १ हजार ८६३ जनाले लगाएका थिए । यस्तै, क्रमशः १२ गते ३ हजार ८९, १३ गते २ हजार ६८७, १५ गते ५ हजार ६२६ र १६ गते  १ हजार ३६० जनाले लगाएका थिए ।

बुस्टर डोज कहिले ?

बुस्टर डोज खोप शाखाका प्रमुख डा.गौतमका अनुसार बाइभ्यालेन्ट खोप पहिलो र दोस्रो बुस्टरका लागि प्रयोग गरिनेछ । पहिलो मात्रा अर्थात् पूर्ण मात्रा खोप लगाएको तीन महिनापछि पहिलो लगाउनु पर्छ । 

यस्तै, पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो बुस्टर डोज खोप सरकारले लक्षित गरेको हो । बाइभ्यालेन्ट खोपको माग अत्यधिक भए पनि सरकारले आवश्यकताअनुसार स्थानीय खोप केन्द्रमा पुर्‍याउन सकेको छैन ।

प्रदेश, स्थानीय तहबाट लक्षित समूहलाई खोप दिन माग गरिएको आधारमा बुस्टर डोज खोप पाइने उनको जिकिर छ । उनले भने, ‘हाल खोप कम छ, आवश्यकताका आधारमा खोप केन्द्रहरूमा पठाइरहेका छौँ ।’

यद्यपि बाइभ्यालेन्ट खोपलाई नियमित खोपको रूपमा भने प्रयोग नगरिएको उनले बताए ।

कति छ  खोप ?

सरकारसँग १५ लाख बाइभ्यालेन्ट खोप पहिलो र दोस्रो बुस्टर डोजका लागि छ । खोप भण्डारण केन्द्रले बुस्टर डोज थोरै थोरै प्रदेश र जिल्लामा पठाएको डा. गौतमले बताए ।

 हाल बुस्टर डोजका रूपमा प्रयोग गरिएको खोप दुई महिनाअघि छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि ३० लाख मात्रा खोप गाभीसँग माग गरिएको थियो । 

जसमा १५ लाख मात्रा बाइभ्यालेन्ट खोप नेपालले प्राप्त गरेको छ । यस अघि पनि सरकारले भारत र चीनमा ओमिक्रोनको नयाँ भेरियन्ट बि.एफ ७  फैलिन थालेपछि बुस्टर खोप लगाउन आग्रह गरेको थियो । यद्यपि खोप भने सरकारसँग उपलब्ध थिएन । 

हाल सरकारले लक्षित समूहलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज पहिलो र दोस्रो मात्रा लगाउन आग्रह गरेको छ । प्रमुख गौतमका अनुसार २० देखि २७ मार्चसम्म बुस्टर डोजको लागि १५ लाख थप मात्रा खोप आउने उनले बताए । खोप खपतका आधारमा माग गरिने उनको भनाइ छ । 

सङ्क्रमितले बुस्टर लगाउन मिल्छ ? 

कोरोना भाइरस सङ्क्रमितले कोरोना विरुद्धको खोप लगाउन नमिलेझैँ अहले पनि सङ्क्रमितले पहिलो, दोस्रो बुस्टर डोज पनि लगाउन हुँदैन । कोरोना सङ्क्रमण मुक्त भएको एक महिना पछि मात्रै पहिलो वा दोस्रो बुस्टर डोज लगाउन मिल्ने डा. गौतमले बताए । 

ओमिक्रोनको सब भेरिएन्टको लागि अन्य खोपभन्दा बाइभ्यालेन्ट खोप उपयुक्त मानिन्छ । विश्वबाट कोरोना महामारीको जोखिम कम नभइसकेकाले लक्षित जनसङ्ख्यालाई  सरकारले दोस्रो बुस्टर डोज दिन सुरु गरिएको उनले बताए । 

६ महिना पहिले पहिलो बुस्टर डोज लगाएका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती, स्वास्थ्यकर्मी लगायतलाई सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले खोप लगाउन उनको आग्रह छ ।  

खोप अभियान सुरु भएदेखि  हालसम्म लक्षित समूहअन्तर्गत २ करोड ३३ लाख २७ हजार ६१९ जनाले खोप लगाएका छन् । जसमा पूर्ण मात्रा ९९.५ प्रतिशत र ९५.७ प्रतिशतले एक मात्रा खोप लगाएका छन् । 

खोप अभियान सुरु भएदेखि हालसम्म ५ करोड ३५ लाख २०७ मात्रा खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप