आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सस्तो लोकप्रियताको पछि नलाग्न ढकालको आग्रह

बिहीबार, २५ फागुन २०७९, १४ : १९
बिहीबार, २५ फागुन २०७९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौँ प्रदेश सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘निजी क्षेत्रलाई सम्मानित बनाउने गरी र निजी क्षेत्रको खस्किएको साखलाई पुनस्थापित गर्ने गरी काम गर्नुपर्नेछ । हामीले सकेसम्म जिल्ला नगर, प्रदेश र केन्द्रको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्न आवश्यक छ । निजी क्षेत्रका मागहरु पुरा गर्नको लागि बलियो र सशक्त निजी क्षेत्र बनाउनुपर्नेछ’ ढकालले भने ।
सस्तो लोकप्रियता र भिडमा तालीका लागि मात्र गैरजिम्मेबार ढंगले विषयवस्तु नउठाउन सबैलाई उनले आग्रह गरे । 

‘म निजी क्षेत्रका साथीहरुलाई पनि भन्न चाहन्छु । तपाईहरु वास्तविक र व्यवहारिक बन्नुस् । त्यसबाट बाहिर गएर भिडमा लोकप्रिय बन्ने प्रतिस्पर्धा नगरौँ । सस्तो लोकप्रियताका लागि यस्ता गैरजिम्मेबार कुराका पछाडि नलागौं । यसले कुनै दिन हामीले कल्पना नगरेको संकट निम्ताउन सक्छ’ ढकालले भने । 

कोरोनाभाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउदै उहाँले कोरोनाभाइरसका कारण वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरु तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको उनले बताए । 

त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको समेत उनले बताए । उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा महिलाहरुको प्रतिनिधित्व हुनुपर्‍यो भन्ने मागमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले आफ्नो कार्यकालमा महासंघमा महिला प्रतिनिधित्व बढाउन पुरापुर प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले महासंघको विधानमा रहेका केही प्रावधानहरु नमिलेको बताउँदै त्यसलाई संशोधन गरेर अगाडि बढ्ने समेत प्रतिवद्धता जाहेर गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप