बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई गजल

शनिबार, २७ फागुन २०७९, १५ : ४६
शनिबार, २७ फागुन २०७९


दुःख आउँदा, सुख आउँदा पहाड तराई बार्दैन
परी आए छिमेकले नि आफन्त पराइ बार्दैन ।
घाम जुन समेतले नि भोग्नु पर्ने रहेछ ग्रहण 
भोक प्यास मेट्न पेटले भाँडा कराइ बार्दैन ।
नुहिएको हुन्छ हाँगाभरि फल लागेको वृक्ष 
उम्रेर हुर्किने बीउले रोपाइ अनि छराइ बार्दैन ।
देउता पनि जोगी बनी आउँछ हात फिँजाइ
मनले दिए दान हातमा, उसले सराइ बार्दैन ।
दुःख आउँदा सुख आउँदा पहाड तराई बार्दैन
परी आए छिमेकले नि आफन्त पराइ बार्दैन ।


औँसी मेरो अँध्यारो रातमा पूर्णिमा तिमी 
प्रेम, विश्वासको कसम जुनी जुनीमा तिमी ।

शंका, अविश्वासका दिनहरू अस्ताइसके
पूर्वी क्षितिजको प्रेमिल अरुणिमा तिमी ।
उजाड थियो जिन्दगी प्रेम नफुल्दा यहाँ 
रुगरुगे डाँडाभरि गुराँसे लालिमा तिमी ।
रुखो खेतको गरा झैँ उजाड जिन्दगीमा 
रङ्गिन फूलहरूको सुवासित महिमा तिमी ।
शून्यतामा दुखिरहन्थ्यो एक्लो यो जीवन 
म ‘पारुहाङ्ग’लाई पूर्णता दिने सुम्निमा तिमी ।

इलाम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र आचार्य
दीपेन्द्र आचार्य
लेखकबाट थप