सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
व्यवसायीको चुनाव

उपाध्यक्ष श्रेष्ठले सार्वजनिक गरे प्यानल, टिम बनाउँदै संघाई र उमेश

बुधबार, ०१ चैत २०७९, ११ : ५२
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जान श्रेष्ठले प्यानल सार्वजनिक गरेका छन् । वस्तुगततर्फको उपाध्यक्ष रहेका श्रेष्ठले आगामी ३ वर्षपछि २१औं अध्यक्ष बनेर महासंघको नेतृत्व सम्हाल्ने लक्ष्यसहित वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

वरिष्ठ उपाध्यक्षको दौडमा रहेका ४ जना आकांक्षीमध्येबाट अञ्जान श्रेष्ठले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफ्नो प्यानलबाट उपाध्यक्षमा उठ्ने तीन जनाको नामसमेत सार्वजनिक गरेका छन् । महासंघमा जिल्लानगर, एसोसिएट र वस्तुगत गरी ३ उपाध्यक्ष हुने प्रावधान छ ।

श्रेष्ठले तयार पारेको प्यानलमा एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ छिन् । उनी नेपाल रत्न तथा आभुषण संघकी वर्तमान अध्यक्ष समेत हुन् । यस्तै, श्रेष्ठको प्यानलमा वस्तुगततर्फ मणिषलाल प्रधान र जिल्लानगरतर्फको उपाध्यक्षमा अरुण सुमार्गी उम्मेदवार छन् । ज्योत्सना श्रेष्ठ ३ वर्षअघिकै चुनावमा उपाध्यक्ष पदको उम्मेदवारी दिने तयारीमा थिइन् । तर, ३ वर्ष पर्खेर उनले यसपटक उम्मेदवारी दिएकी हुन् ।

प्यानलसहित उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘मेरो टिम एकदमै योङ्ग र इनर्जेटिक छ । महासंघको राजनीतिमा लागेको २० वर्षको अनुभवलाई नेतृत्वमा पुगेर काम गर्ने समय आएको छ ।’

महासंघको वस्तुगततर्फका उपाध्यक्ष समेत रहेका श्रेष्ठ चुनावी तयारीकै लागि पछिल्लो १ वर्षको अवधिमा ६० भन्दा धेरै जिल्ला घुमेको बताउँछन् । उपाध्यक्षसहितको प्यानल बनाइसकेका श्रेष्ठले अबको केही दिनमै सम्पूर्ण टिम घोषणाको तयारी गरेका छन् ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान छ । निवर्तमान अध्यक्ष भवाणी राणाको पालादेखि विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान ल्याइएको थियो । यही प्रावधानअनुसार चन्द्रप्रसाद ढकाल यही चैत २८ र २९ गतेको साधारणसभामार्फत स्वतः अध्यक्ष बन्नेछन् । ढकालपछिको नेतृत्वका लागि यही चैतमा हुने चुनावबाट वरिष्ठ उपाध्यक्षमा चुनिनुपर्छ । यही व्यवस्थाका कारण महासंघको चुनावको केन्द्रमा वरिष्ठ उपाध्यक्ष पद हुने गर्छ ।

प्यानल बनाउँदै रामचन्द्र र उमेश

वरिष्ठ उपाध्यक्षको दौडमा रहेका ४ मध्ये अञ्जान श्रेष्ठले प्यानल नै सार्वजनिक गरेपछि अन्य आकांक्षीसमेत प्यानल निर्माणको कसरतमा जुटेका छन् । यसअघिदेखि नै प्यालन निर्माणको तयारीमा रहेका रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले समेत प्यानललाई करिब–करिब अन्तिमरुप दिएका छन् । वरिष्ठ उपाध्यक्षको तयारीमा रहेका संघाईले आफ्नो प्यानलमा सन्दीप अग्रवाल, सुरजकृष्ण वैद्य र भरत आचार्य राखेका छन् ।

रातोपाटीसँग कुरा गर्दै संघाईले भने, ‘वस्तुगत उपाध्यक्ष सन्दीप अग्रवाल तय भएको छ । जिल्लानगरतर्फ सुरजकृष्ण वैद्य र एसोसिएटतर्फ भरत आचार्य छन् ।’ तर, भरत आचार्य हालसम्म कुनै पनि प्यानलमा खुलिसकेका छैनन् । यही कारण, आचार्यलाई वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी उमेशलाल श्रेष्ठले समेत आफ्नो प्यानलमा राखेका छन् । उमेशलाल श्रेष्ठले एसोसिएटमा आचार्यसहित जिल्लानगरमा दिनेश श्रेष्ठ र वस्तुगतमा हेमराज ढकाल आफ्नो प्यानलमा रहेको रातोपाटीलाई बताए ।

उमेशलाल श्रेष्ठले आफ्नो प्यानलमा नाम राखेका दिनेश श्रेष्ठ वर्तमान जिल्लानगरतर्फका उपाध्यक्ष समेत हुन् । उनी आफै वरिष्ठ उपाध्यक्षको दौडमा छन् । तर, उमेशलाल श्रेष्ठ भने दिनेश श्रेष्ठले आफ्नो प्यानलमा बस्ने सहमति जनाइसकेको बताउँदै आएका छन् । यही विषयमा दिनेश श्रेष्ठसँग बुझ्दा आपसी समझदारी र छलफलबाट अघि बढ्ने आफ्नो योजना रहेको सुनाए । हालसम्म दिनेश श्रेष्ठ आफैले भने कुनै प्यानल निर्माणको तयारी थालेका छैनन् ।

भरत आचार्यलाई दोहोरो प्यानलमा राखिएको छ । आचार्य उमेश र रामचन्द्रको प्यानलमा परेका छन् । यसबाहेक संघाईको प्यानल करिब–करिब तय भएको देखिन्छ । यस्तै, दिनेश श्रेष्ठले उमेशको प्रस्ताव स्वीकार गरिसकेको अवस्थामा उनको समेत प्यानल तय जस्तै देखिन्छ । तर, अञ्जानबाहेक अन्य उम्मेदवारले प्यानल सार्वजनिक गरिनसकेकाले तयारीमा रहेकाहरुको सिङ्गो एउटा प्यानल बन्ने सम्भावना रहेको व्यवसायीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप