शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निद्राको कमीले महिला मोटाइरहेछन् : बढिरहेछ डिप्रेसन, आत्महत्यासम्मको सोच आउने

शुक्रबार, ०३ चैत २०७९, १० : ३९
शुक्रबार, ०३ चैत २०७९

सबैभन्दा सुखी व्यक्ति ती मानिन्छन् जो आनन्दले सुत्न सक्छन् । मिठो निद्राले शरीरलाई आराम त दिन्छ नै यसले स्वास्थ्यलाई दुरुस्त पनि राख्छ । आज ‘वर्ल्ड स्लिप डे’ हो । यस वर्षको थिम ‘निद्रा राम्रो स्वास्थ्यका लागि आवश्यक छ ।’

वर्ल्ड स्लिप डेको सुरुवात सन् २००८ मा भएको हो । ७० देशमा यस दिन सार्वजनिक बिदा दिइन्छ र मानिसलाई मिठो निद्राको आवश्यकताबारे अवगत गराइन्छ । 

घरमा सबैभन्दा छिटो उठ्ने र सबैभन्दा अन्तिममा बेडमा जाने व्यक्ति भनेको महिला हुन् । आज तिनै महिलाको मिठो निद्रा र यससँग सम्बन्धित स्वास्थ्य अवस्थाबारे कुराकानी गरौँ ।

कम सुत्ने महिला चिड्चिडापन बढिरहेको छ

भारतकी मनोचिकित्सक डा. सोनल आनन्दले कामकाजी महिलाको जिम्मेवारी बढेका कारण उनीहरुले भरपुर निद्रा नपाइरहेको र उनीहरू घरमा सबैभन्दा पहिला उठ्नु परेको बताएकी छिन् । 

उनी भन्छिन्, ‘राती पनि सबै काम सकाएपछि मात्रै उनीहरू सुत्न पाउँछन् । यसले गर्दा उनीहरूको निद्रा पुरा हुन पाउँदैन र उनीहरू मोटोपन, ध्यान केन्द्रित हुन नसक्नु, चिडचिडेपन, डिप्रेसन, मुटु रोगजस्ता स्वास्थ्य समस्या देखिन थाल्छ ।’

महिलाको टिभी र मोबाइल हेर्ने समय पनि बढिरहेको छ । यसका कारण पनि उनीहरूको निद्रा प्रभावित भइरहेको छ । लामो समयसम्म टिभी, मोबाइल, ल्यापटपको अगाडि बस्दा आँखाका साथै मानसिक स्वास्थ्यमा पनि क्षति पुगिरहेको छ ।

महिला आफ्नो निद्रामा कटौती गरेर सोसल नेटवर्क साइटमा बस्छन् । महिलामा फियर अफ मिसिङ आउट (फोमो) को टेन्डेन्सी पनि देखिन्छ अर्थात् उनीहरूलाई उनीहरूको नजरबाट कुनै जानकारी मिस हुन्छ कि भन्ने डर पनि हुन्छ । यसै कारण पनि उनीहरूको निद्रामा कटौती भएको छ ।

निद्राको कमीका कारण मोटोपना, हाइपर टेन्सन, मधुमेह र मुटुको रोग बढिरहेको छ । निद्राले शरीरलाई ऊर्जा दिन्छ । यो एक प्रकारको हिलिङ प्रोसेस पनि हो ।

यसको कमीले कामको गति कम हुन्छ, काममा मन लाग्दैन, ध्यान केन्द्रित हुन पाउँदैन, तनाव र डिप्रेसनजस्ता समस्या सुरु हुन्छ ।

निद्रा नपुग्दा आत्महत्यासम्मको सोच आउन सक्छ

डा. सोनल आनन्दले आफ्नो एक केस स्टडीलाई उद्धृत गर्दै ३५ वर्षकी रिना (परिवर्तित नाम) मा निद्राको कमीले आत्महत्या गर्ने इच्छा बढ्न थालेको जानकारी दिइन् । 

रिना कामकाजी महिला थिइन्, घरको काम बाँकी नै हुन्थ्यो र अपडेटेड रहनका लागि उनी सुत्नु अघि सोसल मिडियामा पनि बस्ने गर्थिन् ।

लामो समयसम्म यही तालिकाका कारण उनी ‘बर्न आउट सिन्ड्रोम’ को सिकार भइन् । उनीभित्र चिड्चिडापन र रिस बढ्यो । रिनाले स्थिति सम्हाल्न नसक्दा उनले डा. सोनललाई भेटिन् । दुई तीन महिनाको उपचारपछि उनी पूर्ण रूपमा निको भइन् ।

निद्रा नपुग्दा महिलाहरू मोटो हुन थालेका छन्

महिलामा पुरुषको तुलनामा बोसो लागेको छिटो देखिन्छ । यसको एउटा कारण हो निद्राको कमी । महिलाहरूले घर र बाहिर दुवैको जिम्मेवारी काँधमा लिनुपर्छ, जसका लागि बढी समय र ऊर्जा चाहिन्छ ।

निन्द्रा कम गर्नाले शरीरको बोसो चाँडो बढ्छ, जसका कारण उनीहरू पुरुषको तुलनामा चाँडै छिटो मोटो हुने गर्छन् ।

निद्रा नपुग्दा रोग प्रतिरोधात्मक क्षमता प्रभावित हुन्छ र कुनै औषधि तथा खोपले पूर्ण प्रभाव देखाउँदैन । किनभने रोगसँग लड्ने एन्टिबडीहरू शरीरमा कम उत्पादन हुन्छन् ।

राम्रो निद्रा राम्रो स्वास्थ्य

– बेलुका ६ बजेपछि चिया–कफी नपिउनुहोस्

– राती सुत्नु दुई घण्टा अघि खाना खानुहोस्

– रातीको खाना खाएपछि केही बेर टहल्नुहोस्

– दिउँसो सुत्ने बानी छ भने आधा घण्टाभन्दा बढी नसुत्नुहोस्, नभए रातीको निद्रा खलबलिन्छ

– राती सुत्नु आधा घण्टा अघि टिभी, ल्यापटप, मोबाइलबाट टाढा रहनुहोस्

सानै उमेरमा मुटुको रोग बढ्न थाल्यो

पहिले बुढेसकालमा मुटु रोग लाग्ने गर्दथ्यो तर अहिले युवाहरू पनि मुटुरोगको चपेटामा परेका छन् । डब्ल्यूएचओ र अमेरिकन जर्नलको अध्ययनअनुसार ३० देखि ४० वर्षका युवाहरूमा मुटुसम्बन्धी रोग १३ प्रतिशतले बढेको छ ।

त्यसमा पनि पछिल्लो समय महिलामा मुटुको रोग बढ्न थालेको छ । 

मिठाे निद्रा लाग्दा मुटु पनि स्वस्थ रहन्छ

मार्च २०२३ मा अमेरिकन कलेज अफ कार्डियोलोजी सम्मेलनमा प्रस्तुत गरिएको एक अनुसन्धानले निद्राको गुणस्तर जति राम्रो हुन्छ, मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम त्यति नै कम हुने देखाएको थियो ।

अन्वेषकहरूले ५० वर्षको औसत उमेर भएका व्यक्तिहरूको डाटा मूल्याङ्कन गरे, जसमा जोखिम क्षेत्रमा रहेका ५४ प्रतिशत महिला थिए ।

कतिपय अवस्थामा धेरै थकाई लाग्दा पनि निद्रा लाग्दैन । 

थकानले निन्द्रा हराएपछि उपचार गर्नुपर्‍यो

मुम्बईको वकहार्ट हस्पिटलका न्युरोलोजिस्ट डा. पवन पईले एक दम्पतीको घटना सुनाए जसमा निद्राको कमीले श्रीमती बिरामी भइन् । यी दम्पतीले सङ्गीतको कक्षा दिने गर्दथे ।

लकडाउनमा अनलाइन सङ्गीत कक्षा दिन थाले । उनका ग्राहक विदेशमा पनि थिए, त्यसैले राती पनि कक्षाहरू सञ्चालन हुन थाल्यो ।

श्रीमतीले घरको काम गर्दै सङ्गीतको कक्षा लिने गर्थिन् जसले उनको थकान बढ्यो र निद्रा गायब भयो । उनले राम्रोसँग निदाउन उपचार गराउनु पर्‍यो त्यसपछि मात्र उनी ठिक भइन् । अब यो जोडीले राती कक्षा दिन बन्द गरेको छ र मिठो निद्राका लागि आफ्नो जीवनशैली परिवर्तन गरेको छ ।

उमेरसँगै निद्राको आवश्यकतामा परिवर्तन 

६० वर्ष पुगेपछि निद्रामा कमी आउँछ । त्यसपछि निद्राको ढाँचा परिवर्तन हुन थाल्छ । यो उमेरका मानिसले सुत्नुभन्दा एक घण्टा अगाडि पानी पिउनु हुँदैन । महिलामा रजोनिवृत्तिको समयमा तनाव बढ्दै गएमा निद्रामा गडबडी हुन्छ ।

कुन उमेरमा कति घण्टाको निद्रा चाहिन्छ ?

०–१ वर्ष – १४ देखि १६ घण्टा

१–५ वर्ष – १० देखि १२ घण्टा

५–१० वर्ष – ९ देखि १२ घण्टा

११–१८ वर्ष – ८ देखि १० घण्टा

१८–६० वर्ष – ७ देखि ८ घण्टा

६१ वर्ष माथिका – ६ देखि ८ घण्टा

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप