शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण अवधि सकिन लाग्दा शिलान्यास !

विराटनगरको रानीमा प्रवेशद्वार र आकाशे पुल निर्माण हुने
मङ्गलबार, ०७ चैत २०७९, १७ : ५०
मङ्गलबार, ०७ चैत २०७९

विराटनगर । भारतबाट नेपाल प्रवेश गर्ने नाका विराटनगरको रानीमा प्रवेशद्वार निर्माण हुने भएको छ । उक्त प्रवेशद्वारको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार शिलान्यास गरेका छन् । 

निर्माण स्थलको टुंगो नलागेपछि प्रदेश सरकारले २ वर्ष अगाडि नै टेण्डर लगाएको भएपनि निर्माणको टुंगो भने लागेको थिएन । स्वागतद्वार र आकाशे पुल निर्माणका लागि २०७७ जेठ २७ गते प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय विराटनगरले ह्याबिटाट आशिषदीप जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७९ असार १४ गते काम सकिनुपर्ने थियो । तर, भन्सारले निर्माणमा अवरोध गरेपछि काम हुन सकेको थिएन ।

निर्माणस्थलबारे भन्सारसँग सहमति भएपछि सम्झौता मितिलाई पुनः कार्यदेशमार्फत मिति परिवर्तन गर्दै फागुन २६ गतेदेखि २०८१ साल फागुन २५ गतेसम्ममा निर्माण सम्पन्न गर्ने अवधि तोकिएको छ । 

स्वागतद्वारा तथा आकाशे पुल ७ करोड ७६ लाख ४८ हजार लागत अनुमान गरिएको थियो । तर, ६ करोड २५ लाख २४ हजारमा ठेक्का सम्झौता भएको छ । सहरी विकास तथा भवन कार्यालयले ठेकेदारलाई १ करोड ३० लाख मोबिलाइजेशन बापतको रकमसमेत भुक्तानी दिइसकेको छ । 

प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङ्गले त्रिपक्षीय लागत साझेदारीमा स्वागतद्वारा निर्माण गर्ने तय भएको थियो । काम थाल्न लाग्दा गेट र आकाशे पुल दशगजामा पर्ने भनेर रोकिएको थियो । भारततर्फ भने दशगजामा नै स्वागतद्वारा रहेको छ । 

दोस्रो पटक दशगजाभन्दा १५० मिटर उत्तरतर्फ निर्माण गर्न लागिएको गेट पनि रोकिएको थियो । सो स्थानमा निर्माण अगाडि बढाउन भन्सार कार्यालयले रोकेको थियो । विराटनगर भन्सार कार्यालयले प्रोटोकल नमिल्ने भन्दै स्वागतद्वारा निर्माणमा रोक लगाएपछि निर्माणको काम अलपत्र परेको थियो । सो आयोजनमा ७५ प्रतिशत प्रदेश सरकारले, २५ प्रतिशत विराटनगर महानगरले र ५ प्रतिशत उद्योग संगठन मोरङले लगानी गर्ने जनाइएको छ ।

उक्त गेट शिलान्यास कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । उनले कोशी प्रदेशको पहिचानलाई झल्को दिने गरी बिम्बहरु राखेर द्वार निर्माण हुने बताए । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँले आफू मन्त्री भएपछि रिपोर्ट लिँदा स्वागतद्वारा अलपत्र भएको थाहा पाएपछि छलफल गरेर निर्माण कार्य अगाडि बढाएको बताए । स्वागतद्वारा निर्माण गर्दा गुणस्तरीय हुने र समयमै सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप