बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
विद्युतीय सवारीमा आकर्षण

ह्वात्तै बढ्यो विद्युतीय सवारीको आयात, ८ महिनामै २२ सय भित्रियो

शुक्रबार, १० चैत २०७९, २३ : ११
शुक्रबार, १० चैत २०७९

चालू आर्थिक वर्ष २०७९/८० मा विद्युतीय सवारीको आयात ह्वात्तै बढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ८ महिनाको तुलनामा यो वर्षको फागुनसम्म विद्युतीय सवारीको आयात उल्लेख्य रुपमा बढेको हो । गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा जम्मा साढे १३ सय वटा विद्युतीय सवारी आयात भएको थियो । उक्त अवधिमा १ सय किलोवाटदेखि ३ सय किलोवाटसम्मका उक्त संख्याका विद्युतीय सवारी भित्रिएका थिए । जबकि, चालू आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा २२ सय वटा विद्युतीय सवारी भित्रिएका हुन् ।

भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्याङ्कअनुसार सय किलोवाट क्षमताका २१ सय ३९ वटा विद्युतीय सवारी भित्रिएका छन् । यस अवधिमा यो क्षमतासम्मका ५ अर्ब ९० करोड ५३ लाख रुपैयाँका विद्युतीय सवारी भित्रिएका हुन् । यस्तै, २ सय किलोवाटसम्म क्षमता भएका २२ करोड २२ लाख रुपैयाँ बराबरका ५२ वटा सवारी भित्रिएका छन् ।

तर, ठूलो क्षमताका सवारी साधन भने कम संख्यामा भित्रिँदै छन् । भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा जम्मा ७ वटा विद्युतीय सवारी ३ सय किलोवाट क्षमताका भित्रिएका छन् । यी सवारीको आयातमा ४ करोड ६ लाख रुपैयाँ बाहिरिएको छ । ३ सय किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारी भने भित्रिएका छैनन् ।

भारतबाट धेरै आयात
नेपाल भित्रिएका विद्युतीय सवारी साधनमध्ये सबैभन्दा धेरै भारतबाट भित्रिएका छन् । भारतमा टाटा समूहबाट उत्पादित ‘टाटा नेक्सन’ मोडल अन्तर्गतका विद्युतीय सवारी धेरै भित्रिई रहेका छन् । यो सवारी नेपालमा सिप्रदी ट्रेडर्सले बिक्री वितरण गर्दै आइरहेको छ । ८ महिनाको अवधिमा भारतबाट मात्रै १५ सय ७१ वटा विद्युतीय सवारी भित्रिएका छन् ।

जबकि, नेपालले ८ महिनाको अवधिमा जम्माजम्मी २२ सय वटा विद्युतीय सवारी मात्रै आयात गरेको छ । यसमध्ये १५ सय ७१ वटा भारतबाटै भित्रिएका हुन् । र, यीमध्ये पनि सबैभन्दा धेरै टाटाको नेक्सन ब्राण्डका विद्युतीय सवारी भित्रिरहेका छन् । तर, यी सवारी सय किलोवाट क्षमताको रहेको तथ्याङ्कले देखाउँछ । 
यस्तै, चीनबाट ३६७ वटा विद्युतीय सवारी भित्रिएका छन् । यस्तै, कोरियाबाट २५२ वटा सवारी भित्रिएका छन् भने अमेरिकाबाट ४ र इण्डोनेसियाबाट ३ वटा विद्युतीय सवारी भित्रिएका छन् ।

बढ्यो विद्युतीय चार्जरको आयात
विद्युतीय सवारीको आयात बढ्दै गएपछि ती सवारी चार्ज गर्न चार्जरको आयातसमेत बढ्दो अवस्थामा छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा २५ करोड ८९ लाख रुपैयाँ बराबरका ८३ हजार वटा विद्युतीय चार्जर (एसी/डीसी) भित्रिएका छन् ।
जबकि, गत आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा विदेशबाट जम्मा ६ करोड ७४ लाख रुपैयाँको विद्युतीय सवारीका चार्जर भित्रिएका थिए । उक्त अवधिमा १ लाख ७६ हजार वटा चार्जर भित्रिएको तथ्याङ्क विभागले सार्वजनिक गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप