शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन–२ मा सत्ता गठबन्धनको उम्मेदवार जितनारायण

बुधबार, १५ चैत २०७९, १४ : ५४
बुधबार, १५ चैत २०७९

काठमाडौँ । सत्ता गठबन्धनबाट चितवन– २ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेसको पदाधिकारी तहमा श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति जुटिसकेको छ। गत आम चुनावमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नागरिकता प्रकरण दोषी ठहर भएपछि पद खाली भएको थियो ।

आगामी वैशाख १० गते चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस चितवनले ११ जनाको नाम सिफारिस गरेको थियो ।  सिफारिसमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम समावेश थियो ।

१३ जना मध्येबाट श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ । बिहीबार विहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने ती पदाधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘पार्टीको मुलधारकै मान्छेलाई दिनेमा सहमत भएका छौं । अस्तिको जस्तो उमेश श्रेष्ठ जस्तो बाहिरबाट उम्मेदवार नबनाउने सबैको समझदारी छ । अब पूर्व जिल्लासभापति जितनारायण श्रेष्ठ उम्मेदवार बन्नुहुन्छ ।’ औपचारिक निर्णय भने भोलि बस्ने कार्यसम्पादन समिति बैठकले गर्ने बताए । 

४३ वर्षीय श्रेष्ठ कांग्रेसमा प्रखर वक्ताका रुपमा चर्चित छन्  । २०७४ को निर्वाचनमा उनी चितवन– २ को प्रदेश ‘क’ बाट उम्मेदवार थिए । तत्कालीन बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका घनश्याम दाहालसँग झिनो मतान्तरले पराजित भएका थिए । २०७२ सालमा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत भएको जिल्ला अधिवेशनबाट ३६ वर्षकै उम्मेदवार उनी सभापति बनेका थिए ।

अर्थशास्त्र विषयमा स्नातकोत्तर (एमए) गरेका श्रेष्ठ कांग्रेस चितवनमा सानो उमेरै राजनीतिमा ठूलो फड्को मार्न सफल नेता हुन् । २०४८ सालबाट राजनीति यात्रा सुरू गरेका उनले नेविसंघ विद्यालय समितिको सचिव हुँदै दुई कार्यकाल नेविसंघ चितवन जिल्ला सचिव, दुई कार्यकाल नेविसंघ जिल्ला सभापति भएर काम गरेका थिए । यस्तै ०६६ सालदेखि उनले कांग्रेस पार्टी राजनीति यात्रा सुरू गरेका थिए । कांग्रेस चितवनको कार्यसमिति सदस्य, ०६९ सालमा चितवनको सचिव हुँदै ०७२ सालमा चितवनको पार्टी सभापति भए । कांग्रेसको १४ औं महाधिवेशनमा श्रेष्ठले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका थिए । यता एमालेमा उम्मेदवार बन्न तीन जनाको मुख्य दाबेदारी छ ।

एमालेले कृष्णभक्त पोखरेल, देवी ज्ञवाली र विजय सुवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । पोखरेल गत निर्वाचनमा तेस्रो भएका थिए भने प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।  एमाले जिल्ला अध्यक्ष समेत रहेका सुवेदी भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभापति रवि लामिछाने उम्मेदवार बन्ने निश्चित छ । चितवन–२ मा राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवार दिने निर्णय गरिसकेको छ । जनमोर्चाले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप