शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
चितवन–२ उपनिर्वाचन

चितवन–२ मा उपनिर्वाचन लड्न एमालेले अझै भेटेन उम्मेदवार !

बिहीबार, १६ चैत २०७९, १२ : ३९
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । नेकपा एमालेलाई चितवन निर्वाचन क्षेत्र नम्बर– २ को उपनिर्वाचनका लागि उम्मेदवार भेट्नै कठिन भएको छ । नेकपा एमाले जिल्ला कमिटी चितवनको बुधवार बसेको बैठकमा धेरै नेताले उम्मेदवार बन्न अनिच्छा प्रकट गरेपछि उम्मेदवार पाउन कठिन भएको एक नेताले जानकारी दिए ।  ‘बुधवार बसेको जिल्लाका अगुवा नेतासहित केन्द्रीय कमिटी र प्रदेश कमिटीका नेताहरु बीचको बैठकमा धेरै छलफल गरियो । तर छलफलमा कोही पनि नेताहरू उम्मेदवार बन्न इच्छुक देखिनुभएन’, एमाले चितवनका एक नेताले रातोपाटीसँग भने, ‘अर्को बैठक बसेर उम्मेदवार टुङ्ग्याउने कुरा भएको छ ।’

एमाले नेता कृष्णभक्त पोखरेलले शुक्रवार बस्ने जिल्ला कमिटी बैठकले चितवन २ का लागि उम्मेदवार सिफारिस गर्ने बताए । ‘शुक्रवार ११ बजे जिल्ला कमिटीको बैठक बस्दैछ । बैठकले निर्णय गरेर उम्मेदवार तय गर्छ’, पोखरेलले रातोपाटीसँग भने, ‘हिजोको बैठकमा सामान्य छलफल मात्र भयो ।’

उनले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, पूर्व मेयर गोपी श्रेष्ठ र तिलचन्द्र भट्टराईमध्ये एक जना उम्मेदवार बन्न सक्ने बताए । अध्यक्ष न्यौपानेले सर्वसम्मत उम्मेदवार छनोटको तयारी भइरहेको भन्दै अहिलेसम्म टुङ्गो लागि नसकेको बताए । ‘हामी सर्वसम्मत उम्मेदवार छनोट गर्ने तयारीमा छौ’, न्यौपानेले भने, ‘कुनै समस्या छैन ।’ उनले कतिपय नेताहरूले आफैलाई चुनाव लड्न आग्रह गरेको पनि बताए ।

‘धेरै साथीहरू जिल्ला अध्यक्ष नै उम्मेदवार भए जित्न सहज हुने भनिरहनुभएको छ । तर सकभर म अरूलाई नै अवसर दिउँ भन्ने पक्षमा छु’, न्यौपानेले भने, ‘होइन पार्टीले मेरै माग गर्‍यो भने पछि हट्ने कुरा भएन ।’ एमाले जिल्ला तहका नेताहरूका अनुसार नेताहरू पोखरेल र देवी ज्ञवालीले यसअघि नै चुनाव नलड्ने बताइसकेकाले बाँकी चार नाममा छलफल भइरहेको छ ।

वैशाख १० गते चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन हुँदैछ । त्यसका लागि चैत २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । मङ्सिरमा भएको निर्वाचनमा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भए पनि नागरिकता प्रकरणमा उनको पद गुमेको थियो । नागरिकता सच्याएसँगै लामिछाने उपनिर्वाचनमा पुनः उम्मेदवार बन्दैछन् भने सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार हुने छन् । कांग्रेसको बिहीबारको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने औपचारिक निर्णय नै गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप