मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
एसईई परीक्षा सुरु, देशभरबाट चार लाख ८४ हजार परीक्षार्थी सहभागी (तस्बिरहरु)
परीक्षा

एसईई परीक्षा सुरु, देशभरबाट चार लाख ८४ हजार परीक्षार्थी सहभागी (तस्बिरहरु)

शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको आजको परीक्षा ११ बजे सकिनेछ । 

यसअघि राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न गरेको थियो । परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन ७८ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार यो वर्ष परीक्षा दिनका लागि ४ लाख ८४ हजार २२७ जनाले फाराम भरेका छन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र तोकिएको उनको भनाई छ । 

प्रदेश र जिल्ला स्तरमा समितिहरू गठन गरिएका छन् । प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्नेछन् । 

त्यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलगायत रहने गरी जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ । उक्त समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्न पत्र प्रहरी निकायसम्म पुर्याउने, उत्तर पुस्तिका परीक्षा केन्द्रसम्म पुर्‍याउने र आवश्यक समन्वय गर्ने लगायतका काम गरेका छन् ।  

परीक्षा नियन्त्रक श्रेष्ठले परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाउने बताए । परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइनेछ । यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर, परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको उनको भनाई छ । 

विद्यार्थीलाई कुनै डर त्रास नलिई ढुक्क भएर परीक्षा दिन उनले आग्रह गरे । परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुनै गलत गतिविधि भएका प्रचलित कानुन अनुसार कारबाही हुने उनको भनाई छ । 

see3

यस वर्षको परीक्षामा ५० लाख सेट प्रश्न पत्र छपाइ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्न पत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो । विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्न पत्र छपाइ भएको बोर्डले जनाएको छ ।  

यो वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसइई परीक्षामा सहभागी भएको उनको भनाई छ । त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तर पुस्तिका जापान पठाएको थियो । प्रश्न पत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने छ ।   

आजदेखि सुरु भएको परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया