बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा

बिहीबार, ०७ साउन २०८३, १६ : ०६
बिहीबार, ०७ साउन २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस कार्यक्रमस्थल बाहिर प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले रिहा गरेको छ।
  • विद्यार्थीहरूले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन गरेका थिए।
  • स्ववियुले कार्यक्रमस्थलमा विद्यार्थीलाई प्रवेशमा रोक लगाइएको र पक्राउ गरिएको घटनाको विरोध गरेको छ।

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय(त्रिवि)को ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर नियन्त्रणमा लिइएका २३ जना विद्यार्थीलाई प्रहरीले छोडेको छ ।

बिहीबार उनीहरूलाई मुचुल्का बनाएर छोडिएको हो । सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन गर्ने क्रममा २३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो। 

पक्राउ पर्नेहरूमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु उपसभापति सनम वली, त्रिवि स्ववियु सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिङ ऐरी, प्रकाश सन्जेल लगायत रहेका थिए । 

यसैबिच त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालयको वार्षिक दिवसको अवसरमा आयोजित कार्यक्रमस्थलमा प्रवेश गर्न रोक लगाउँदै आफ्ना पदाधिकारी तथा विद्यार्थीहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

स्ववियु अध्यक्ष दिपक राज जोशीले आफ्नै विश्वविद्यालयको कार्यक्रममा विद्यार्थी प्रतिनिधिलाई प्रवेश गर्न नदिनु लोकतान्त्रिक मूल्य–मान्यता, अभिव्यक्ति स्वतन्त्रता र विद्यार्थी सहभागितामाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताए । 

विज्ञप्तिमार्फत उच्च शिक्षाका लागि त्रि.वि.लाई पर्याप्त बजेट विनियोजन नगरिएको, विश्वविद्यालयको नीति तथा कार्यक्रम समयमै नआएकाले यथाशीघ्र त्रि.वि. सभा (सिनेट) बैठक आह्वान गर्नुपर्ने र मेरिटोक्रेसी पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने माग राखिएको छ । 

साथै, विश्वविद्यालयको स्वायत्तता सुदृढ गर्न प्रधानमन्त्री कुलपति हुने व्यवस्थाको अन्त्य हुनुपर्ने विषयसमेत उठाइएको छ । समस्याहरूलाई संवाद र भेटघाटमार्फत समाधान गर्नुको सट्टा दमन र निषेधको बाटो रोजिएको भन्दै स्ववियुले आपत्ति जनाएको छ ।

यसैबिच नेपाली कम्युनिस्ट पार्टी(नेकपा) निकट (अखिल क्रान्तिकारी)ले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्धारा दमन गरिएको भन्दै घटनाको विरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप