बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
पुष्पलाल स्मृति दिवस

केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !

बिहीबार, ०७ साउन २०८३, १८ : ५१
बिहीबार, ०७ साउन २०८३

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसभित्रको पद र शक्तिको लडाइँले लोकतन्त्र बलियो नहुने बताएका छन् ।
  • ओलीले एमालेमा कुनै विवाद नरहेको दाबी गर्दै कांग्रेसलगायत अन्य दलभित्र आन्तरिक एकता बलियो बनाएर लोकतन्त्र अपहरण गर्ने शक्तिविरुद्ध लड्न जोड दिएका छन् ।
  • उनले नेपाली कांग्रेसले आफ्नो अस्तित्व कायम राख्दै लोकतन्त्रका लागि लड्ने सामर्थ्य पुनः प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसभित्र भइरहेको पद र शक्तिको लडाइँले लोकतन्त्र बलियो नहुने बताएका छन् । साथै, उनले एमाले एकताबद्ध रहेको दाबी गर्दै कांग्रेसलगायत अन्य सबै दलभित्र पनि आन्तरिक एकता बलियो बनाएर लोकतन्त्र अपहरण गर्ने शक्तिविरुद्ध लड्न सक्नुपर्नेमा जोड दिएका छन् । 

एमालेका केन्द्रीय पदाधिकारीमध्ये बहुमत नेताहरू पार्टी पुनर्गठन र रूपान्तरणको पक्षमा उभिएर नेतृत्व छाड्न अध्यक्ष ओलीलाई दबाब दिइरहेका बेला ओलीले भने एमालेमा कुनै विवाद नरहेको दाबी गर्दै बरु कांग्रेसभित्रको विवादबारे चिन्ता व्यक्त गरे ।

नेपाली कांग्रेसमा संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा पक्षले अलग अलग गतिविधि गर्दै आएका छन् । सभापति थापाले पार्टी एकताका लागि पहल नगरे देउवा पक्षले साउन अन्तिममा राष्ट्रिय भेला बोलाएर अलग्गै पार्टी घोषणा गर्ने तयारी गरिसकेको सार्वजनिक गरिसकेको छ । ‘नेकपा एमालेमा कुनै समस्या छैन, पार्टी एकताबद्ध छ,’ ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले राजधानी प्रदेश समितिले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘अहिलेको समयमा सबै पार्टीहरूमा आन्तरिक एकता बलियो हुनु जरूरी छ ।’ 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सम्बोधनका क्रममा लोकतन्त्र अपहरित भएकाले त्यसको पुनःस्थापनाका लागि संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरूबिच सहकार्य जरुरी रहेको उल्लेख गर्दै कांग्रेसको आन्तरिक विवादप्रति चिन्ता प्रकट गरे । 

‘अहिले नेपाली कांग्रेसभित्र बेला न कुबेला विभिन्न कुराहरू उठ्ने गरेका छन् । तर नेपाली कांग्रेसले कांग्रेसकै रूपमा आफ्नो अस्तित्व कायम राखोस्, कांग्रेस एकताबद्ध होस् र लोकतन्त्रका लागि लड्ने सामर्थ्य पुनः प्राप्त गरोस् भन्ने हामी सबैको शुभकामना छ,’ ओलीको भनाइ थियो । 

सबै प्रगतिशील, लोकतान्त्रिक र देशभक्त शक्तिहरू मिलेर जनताको हितमा लोकतन्त्र फिर्ता ल्याउन दृढताका साथ सडक र सदनमार्फत अघि बढ्न आवश्यक रहेको पनि ओलीले बताए । उनले भने, ‘मैले सबै पार्टी एकै ठाउँमा मिलेर एउटै पार्टी बनाऔँ भनेको होइन । पार्टी आआफ्नो भए पनि हुन्छ, तर काममा चाहिँ सहकार्य गरौँ, समान उद्देश्यका लागि समान काममा जुटौँ । मेरो आग्रह सबैमा यही हो ।’ 

के भने ओलीले ?

नेपालमा २००७ सालमा को थियो ? कांग्रेस र कम्युनिस्ट होइनन् ? ३२ सालमा को थियो ? ४६ सालमा को थियो ? ६२/६३ सालमा को थियो ? जेल बस्ने बेलामा को थियो ? बलिदान दिने बेलामा को थियो ? कम्युनिस्ट र कांग्रेस होइनन् ? अहिले आएर दुईवटाले खाए भनिएको छ, दुईवटाले बलिदान दिए, दुईवटाले संघर्ष गरे, दुईवटाले रगत बगाएर लोकतन्त्र ल्याए । 

तर अहिले पुराना पार्टी र नयाँ पार्टी भनेर एउटा भाष्य खडा गर्न खोजिएको छ । म सोध्न चाहन्छु– अमेरिकामा कुन कुन पार्टी छन् ? त्यहाँ वर्षौँदेखि डेमोक्रेटिक र रिपब्लिकन पार्टी छैनन् ? त्यहाँ नयाँ पार्टी चाहियो भनेर कसैले भनेको छ ? पार्टीहरू पुराना हुँदैनन्, उनीहरूले आफूलाई समयअनुसार अपडेट गर्नुपर्छ । 

नेपालको राजनीतिमा मुख्य दुईवटा ध्रुव छन् । एउटा लोकतान्त्रिक धार जसको नेतृत्व कांग्रेसले गर्छ र अर्को प्रगतिशील वामपन्थी धार जसको नेतृत्व एमालेले गर्छ । यी दुई पार्टीका बिचमा कहिलेकाहीँ प्रतिस्पर्धा होला, जुँगाको लडाइँ होला, तर लोकतन्त्रका लागि यी दुई शक्तिको सहकार्य र अस्तित्व अनिवार्य छ । नेपाली कांग्रेसलाई पनि मेरो शुभकामना छ, लोकतन्त्रका लागि लड्ने सामर्थ्य पुनः प्राप्त होस् । हामी सबै लोकतान्त्रिक शक्तिहरू, वामपन्थी लोकतान्त्रिक शक्तिहरू एकजुट भएर संविधानको रक्षा र लोकतन्त्रको पुनर्वहालीका लागि लाग्नुपर्छ । 

कांग्रेसले पनि आफ्नो भूमिका बुझोस् । अहिलेको सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ । कांग्रेसका नेताहरूलाई पक्राउ गर्ने, एमालेका नेताहरूलाई दुःख दिने काम भइरहेको छ । पञ्चायत कालमा पनि नभएको जस्तो व्यवहार अहिले भइरहेको छ । यस्तो अधिनायकवादी शैलीका विरुद्ध कांग्रेस र एमाले सचेत हुनुपर्छ । 

नारायणकाजीले भनेः आत्मालोचना गरौँ

कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठले विगतमा एमाले र माओवादीबिच भएको एकता टिक्न नसकेकोमा आफू आत्मालोचना गर्न तयार रहेको भन्दै अन्य नेताहरूलाई पनि आत्मालोचना गर्न आग्रह गरे । राष्ट्र, संविधान र सङ्घीयता जोगाउन कम्युनिस्टहरूबिच सहकार्य हुँदै एकता गर्न जरुरी रहेकोमा जोड दिँदै श्रेष्ठले संविधान निर्माणमा भूमिका खेलेका प्रमुख राजनीतिक दलहरूले संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणप्रति आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए । 

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले वर्तमान प्रधानमन्त्री बालेन्द्र साहले संसद्‍मा ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । उक्त अभिव्यक्ति झूट, गैरजिम्मेवार, आपत्तिजनक तथा राष्ट्रघाती रहेको टिप्पणी गर्दै उनले त्यस्तो अभिव्यक्ति दिँदा पनि प्रधानमन्त्रीले हालसम्म आत्मालोचना नगरेको र सत्तारूढ दलकै नेताहरूले त्यसलाई समर्थन गर्नु चिन्ताको विषय भएको बताए । प्रधानमन्त्री र सत्तारूढ सांसदहरूका यस किसिमका गतिविधिले समाजलाई विभाजित गर्दै राज्यलाई फाँसीवादउन्मुख दिशातर्फ र राष्ट्रघाततर्फ लैजान बल पुग्ने श्रेष्ठको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप