शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
बेथिति

क्यानडा र अस्ट्रेलियामा ‘वर्किङ भिसा’मा पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय

शनिबार, १८ चैत २०७९, ०६ : ३०
शनिबार, १८ चैत २०७९

काठमाडौं । महाराजगञ्ज चक्रपथमा रहेको जुजु जब सोलुसनले सामाजिक सञ्जालमा एक विज्ञापन गरेको देखिन्छ । अस्ट्रेलियामा ‘वर्क परमिट’ खुलेको भन्दै किचेन हेल्पर, क्लिनर, कन्ट्रक्सन हेल्पर, स्किल्ड वर्कर, नर्स र फार्मर वर्करका लागि विज्ञापन गरिएको छ । जसमा तलब मासिक १ लाख ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म हुने भनिएको छ ।

२२ वर्षभन्दा माथिको उमेर समूहकाले आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ । यसका लागि ७५ दिनको प्रक्रिया लाग्ने भनिएको छ । एडभान्स रकम अग्रिम रूपमा दिनुपर्ने भनिएको छ ।

उक्त विज्ञापन देखेपछि हामीले जुजु सोलुसनका सञ्चालकलाई सम्पर्क गर्यौं । सञ्चालक सन्देश न्यौपानेले अहिलेका लागि भिसा प्याक भइसकेको र अब अप्रिल १५ पछि सम्पर्क गर्न भने ।

यसका लागि लाग्ने खर्चबारे प्रश्न गर्दा २० देखि २२ लाख रूपैयाँ लाग्ने जवाफ उनले दिए । अस्ट्रेलियामा वर्किङ भिसामा जानका लागि ५ देखि ६ महिना लाग्ने गरेको उनको भनाइ छ ।

ausअहिले आफ्नो कम्पनीले ५ जनाको आवेदन संकलन गरेको उनले बताए । तर, उनले २० जनाभन्दा बढीको आवेदन फाराम संकलन गरेका छन् ।

यसअघि आफ्नो कम्पनीले क्यानडा, यूरोप लगायतका विभिन्न देशमा पठाउने गरेको उनको भनाइ छ । क्यानडामा आफ्नो कम्पनीबाट एक वर्षको अवधिमा ११ जनालाई पठाइसकेको उनले दाबी गरे ।

खासमा उनको सप्लायर्स कम्पनी हो । भारतको पञ्जाबमा उनको बुबाको मेनपावर कम्पनी छ । उनले नेपालबाट आवेदन फारम संकलन गर्ने र बुबालाई पठाउने गरेको बताए ।

बुबाले उताबाट अनलाइनमार्फत अस्ट्रेलियामा वर्किङ भिसाका लागि प्रोसेस गर्ने गरेका हुन् ।

कानुन व्यवसायीको सहायतामा गरिने यो कामका लागि उनले प्रति व्यक्ति २५ लाख रूपैयाँसम्म लिने गरेका छन् । बुबाको मेनपावरबाट कन्फरमेशन लेटर आएपछि मात्रै नेपालबाट अन्य प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।      

‘यता डकुमेन्टमात्र कलेक्सन गर्ने हो । अरू प्रक्रिया सबै उतै हुन्छ । उतैबाट एप्लाई हुन्छ,’ उनले भने । नेपालबाट कहिलेदेखि वर्किङ भिसामा मान्छे जान थालेको भन्ने प्रश्नमा उनले नेपालबाट नभएर सबै प्रक्रिया पञ्जाबमा रहेको आफ्नो बुबाको मेनपावरबाट गरिने बताए ।

नयाँ बानेश्वरमा रहेको करिअर सोलुसन नेपालले आफ्नो स्लोगन ‘तपाई हाम्रो साथ उज्ज्वल भविष्यको सुरूवात’ राखेको छ । कन्सल्टेन्सीको रूपमा स्थापना भएको करिअरले वर्किङ भिसामार्फत कामदार विदेश पठाउने भन्दै व्यापक रूपमा विज्ञापन गर्दै आएको छ ।

उसको वेवसाइटमा पोल्याण्डका लागि कामदार आवश्यकतादेखि क्यानडाको फलफुल फार्ममा कामदार माग गरेको सम्मका विज्ञापन देखिन्छ । डेनमार्क, न्युजिल्याण्डसम्म कामदार मागको विषयलाई करिअर सोलुसनले वेवसाइटमा विज्ञापनका रुपमा राखेको देख्न सकिन्छ । उसले आफ्नो फेसबुक पेजमा समेत त्यस्तै खालका विज्ञापन राखेको छ ।

क्यानडामा वर्किङ भिसा, डेनमार्क र फिनल्याण्डमा सिजनल वर्किङ भिसा अन्तर्गत फ्याक्ट्री वर्कर, फार्मर, ड्राइभर, गार्मेट, सेल्समेन, हाउसकिपिङ, क्लिनर, केयरगिभर, कुक, वेइटर, हस्पिटल नर्स, सेक्युरिटी गार्ड लगायतका कामका लागि आवेदन माग गरिएको छ ।

canadaकरिअर सोलुसनका म्यानेजिङ डाइरेक्टर सचिन पौडेलले क्यानडाले १५ लाख विदेशी कामदारलाई भित्र्याउने योजना अघि सारेको बताए । सोही आधारमा नेपालबाट पनि पहिलो पटक आवेदन दिन लागिएको उनको भनाइ छ ।

कन्सल्टेन्सी भनेर खोलिएको संस्थाले कामदार पठाउन मिल्छ भन्ने प्रश्नमा उनले आफ्नो तर्फबाट गर्न सकिने सहयोग गर्दै आएको बताए । क्यानडा वर्किङ भिसामा जानका लागि १२ लाख रूपैयाँ खर्च लाग्ने उनको भनाइ छ । त्यसका लागि सुरूको प्रक्रिया अगाडि बढाउन ५० हजार जति खर्च लाग्ने र त्यो पहिला नै बुझाउनुपर्ने उनले बताए ।

‘स्पोन्सर लेटर बनाउँदासम्म धेरै डकुमेन्टहरू बनाउनुपर्छ । त्यसका लागि सबै पैसा क्यास तिर्नुपर्छ । र बाँकी पैसा भिसा लागेपछि मात्रै लिन्छौं,’ उनले भने ।

के वर्किङ भिसामा सहजै जान पाइन्छ अस्ट्रेलिया र क्यानडा ?

वर्किङ भिसामा अस्ट्रेलिया, क्यानाडा जानै नमिल्ने भन्नेचाहिँ होइन । तर, अन्य देशमा गए जसरी मेनपावरबाट जान मिल्दैन । त्यसका लागि व्यक्तिगत श्रम स्वीकृति लिएरमात्र जान पाइन्छ । 

वैदेशिक रोजगार कार्यालय ताहाचलका निर्देशक बसन्त बोहराका अनुसार उतैबाट स्पोन्सर लिएर व्यक्तिगत श्रम स्वीकृतिका आधारमा मात्र जान पाउने बताए । संस्थागत मार्फत अहिले अमेरिका, क्यानडा, अस्टे«लिया लगायतका देशमा वर्किङ भिसामा जान पाइँदैन ।

‘ती देशहरूमा संस्थागत रूपमा काम हुँदैन । व्यक्तिगत रूपमा कहिलेकाहीँ गएको देखिन्छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म हेर्दा १० जना जति ती देशमा गएको देखिन्छ,’ निर्देशक बोहराले भने ।

नेपालबाट संस्थागत रूपमा श्रम स्वीकृति लिएर विभिन्न १११ देशमामात्र जान पाइन्छ । त्यस्तै व्यक्तिगत श्रम स्वीकृति लिएर विश्वका १७८ देशमा जान पाइन्छ । तीमध्ये तीन वटा देशमा जान प्रतिबन्ध छ । सरकारले इराक, अफगानिस्तान र लिबियामा कामदार जान रोक लगाएको छ ।

विभिन्न धनी राष्ट्रसँग नेपालको श्रम सम्झौता गरिएको छैन । जसले गर्दा मेनपावर कम्पनीमार्फत ती देशमा जान पाइँदैन ।

अस्ट्रेलियामा वर्किङ भिसामा जानै नपाउने भन्ने होइन । त्यसका लागि टेम्प्रोअरी स्किल सर्टेज भिसा अर्थात ‘सबक्लास ४८२’ भन्ने भिसा हुन्छ । त्यस्तो भिसा लिन केही मापदण्ड तोकिएको हुन्छ । जुन फिल्डमा एप्लाई गर्ने हो, त्यसमा अत्यधिक दक्षता चाहिन्छ ।

मेलबर्नस्थित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसका रजिष्ट्रर्ड माईग्रेसन एजेन्ट सरोज शर्माले यी बाहेक अहिले सामाजिक सञ्जालमा प्रचार गरिए जसरी वर्किङ भिसामा आउन नसकिने बताए ।

त्यस्तै आफ्नो क्षेत्रमा २ वर्षको अनुभवका साथै अस्ट्रेलियामा कुनै विजनेश हुनुपर्ने, जसले तपाईलाई स्पोन्सर गर्छ । यति भएपछि मात्र वर्किङ भिसा पाइन्छ । त्यो पनि व्यक्तिगत रूपमा आफैले पहल गर्ने हो ।

अस्ट्रेलियाले संसारभरबाट कामदार लैजाने गरेको छ । बाहिरका कामदार बोलाउन उसले केही मापदण्ड तय गरेको हुन्छ । कुन कुन कामका लागि विदेशी कामदार ल्याउन पाउने भनेर समेत तोकिएको हुन्छ ।

त्यसमध्ये कोही सक्षम भएको खण्डमा मात्र अस्ट्रेलियाले वर्किङ भिसा दिने गरेको छ । नेपालीहरू वर्किङ भिसामा अस्ट्रेलिया एकदमै न्यून संख्यामा जाने गरेको निर्देशक बोहराको भनाइ छ ।

नेपालीहरू अस्ट्रेलियामा विशेषगरी कुक, सेफ, नर्स, क्लिनर, मोटर मेकानिक, इन्जिनियर लगायतका कामका लागि जाने गरेको देखिन्छ । त्यसका लागि योग्यता र अनुभव दुवै हुनुपर्छ । 

मेलबर्नस्थित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसका रजिष्ट्रर्ड माईग्रेसन एजेन्ट सरोज शर्माले यी बाहेक अहिले सामाजिक सञ्जालमा प्रचार गरिए जसरी वर्किङ भिसामा आउन नसकिने बताए ।

अस्ट्रेलिया वर्किङ भिसामा जान सबैभन्दा महत्वपूर्ण भनेको स्पोन्सर हो । अस्ट्रेलियाबाट कुनै कम्पनी वा व्यक्तिले स्पोन्सर गरेर बोलाएको खण्डमा मात्र वर्किङ भिसामा जान पाइन्छ । र यो पनि सहजै पाइँदैन । तर, पछिल्लो समय सामाजिक सञ्जालमा निकै संस्तो प्रचार गरेर ठग्ने काम गरिएको छ ।

सामाजिक सञ्जाल विशेषगरी टिकटकमा एकदमै भड्किलो पारामा विज्ञापन गरेर सबैको ध्यान केन्द्रित गर्ने गरेको देखिन्छ । उनीहरूले पहिलो पटक वर्किङ भिसामा खुलेको र जति सक्दो चाँडो आवेदन दिन आग्रह गरेका हुन्छन् ।

त्यही विज्ञापनको आधारमा कन्सल्टेन्सीदेखि मेनपावर कम्पनीमा युवाहरूको भिड लाग्ने गरेको देखिन्छ ।

केही दिन अगाडि यसरी क्यानडा र अस्ट्रेलियामा वर्किङ भिसामा कामदार पठाउने भन्दै सामाजिक सञ्जालमा विज्ञापन गरिएको थियो । उक्त विज्ञापनमा दिएको नम्बर र लोकेशनमा वैदेशिक रोजगार विभागको टोली पुग्यो । तर, त्यहाँ कसैलाई पनि फेला पार्न सकेन । त्यसपछि विभागको टोली रित्तो हात फर्कियो ।

career solutaionविभागका महानिर्देशक उमाकान्त आचार्यले यस्ता विषय विभागको नोटिसमा रहेको बताए । ‘हामीले पनि यसरी गरेका विज्ञापन धेरै भेटेका छौं । गैर कानुनी रूपमा गरिएका विज्ञापनमाथि कारवाही गर्र्छौं । यसमा हामी सचेत छौं,’ उनले भने ।

यस्ता विज्ञापनको पछि नलाग्न सबैलाई सुझाव दिँदै उनले कतै यस्ता खालका विज्ञापन देखेको खण्डमा विभाग अथवा प्रहरीलाई जानकारी दिन आग्रह गरे ।

हुँदै नभएको विषयमा अनावश्यक प्रचार प्रसार गरेर ठगी गर्ने गिरोह सक्रिय रहेको देखिन्छ । उनीहरूले भिसा प्रोसेसका लागि भन्दै सुरूमै लाखौं रूपैयाँ उठाउने गरेका छन् । र अलि अलि प्रक्रिया अगाडि बढाइदिने र भिसा मिलेको खण्डमा थप पैसा लिने, नभएको खण्डमा त्यही पैसा खाने गरेको देखिन्छ ।

यस विषयमा विभागमा गुनासो समेत आउने गरेको महानिर्देशक आचार्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप