सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पवित्र समाज सेवा नेपालको सहयोगार्थ बेलायतमा च्यारिटी शो

सोमबार, २० चैत २०७९, २१ : ३९
सोमबार, २० चैत २०७९

लण्डन । नेप्लिज ब्रिटिस कम्युनिटी यूकेले आइतबार नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर लण्डनमा एक च्यारिटी डिनर नाइट गरेको छ ।  पवित्र समाज सेवा नेपालको सहयोगार्थ च्यारिटी कार्यक्रम गरिएको सो कार्यक्रममा सयौँको सङ्ख्यामा बेलायतवासी नेपालीहरूको सहभागिता रहेको थियो ।  

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका लोकप्रिय कलाकारहरू एलिना चौहान, सुमन कार्की र अञ्जली अधिकारीले जोडदार प्रस्तुति  दिए ।  पछिल्लो समयकी लोकप्रिय गायिका  चौहानले उनलाई संगीतिक क्षेत्रमा पहिचान दिलाउन सफल कभर गीत ‘मेरो सिरानी होस् तिम्रो काख’ बोलको गीतका साथमा  बेलायतवासी गीतकार नृपेश उप्रेतीको ‘तिम्रै माया लाग्छ’ बोलको गीतलगायत पछिल्लो समय भाइरल बनेको गीत ‘धोकेबाज हौ तिमी’ जस्ता विभिन्न गीत प्रस्तुत गरेकी थिइन् । उनका गीतहरूले उपस्थित दर्शकहरूलाई  मज्जाले नचाएको थियो ।

चर्चित मोडल तथा डान्सर अञ्जली अधिकारीले ‘गलबन्दी च्यातियो‘, ‘पान खायो माया’ ले जस्ता विभिन्न चर्चित गीतमा नृत्य गरेर दर्शकहरूलाई मनोरञ्जन दिलाएकी थिइन् ।  पछिल्लो समय नेपाली म्युजिक भिडियोमा उनको निकै ठुलो प्रभुत्व जम्दै आएको छ । ‘बोल माया’ बोलको गीतमा प्रस्तुत उनको अभिनयले उनलाई थप सफलताको शिखरमा पुर्‍याउन सफल भयो ।  

त्यस्तै हास्यव्यङ्ग्य क्षेत्रमा ख्याति कमाउँदै गरेका सुमन कार्कीले पनि नेपालको राजनैतिक व्यङ्ग्य प्रस्तुत गर्दै प्रमुख नेताहरूको प्यारोडी गीत प्रस्तुत गरेका थिए । उनले पत्रकार ऋषि धमलाको शैलीमा व्यङ्ग्य प्रस्तुत गर्दै धमलाका कमीकमजोरीबारे पनि व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए । मोटोपन, बेलायती जीवनशैली र बालबालिकाको प्रविधि लतबारे समेत उनले व्यङ्ग्यात्मक प्रस्तुति दिए  ।

कार्यक्रममा एनबीसी यूकेले नेपाल र बेलायतमा विगतमा गरेका विभिन्न गतिविधिबारे एक वृत्तचित्र प्रस्तुत गरिएको थियो । सन् २०१० मा स्थापित नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेले चितवनको चेपाङ बालबालिकाहरूका लागि पढ्ने र बस्नको लागि भवन निर्माण,लन्डनमा सफल कविता कन्सर्टमार्फत द्वन्द्वपीडित बालबालिकाहरूका लागि सर्लाहीमा बस्नका निमित्त भवन निर्माणमा सहयोग, दाङमा दृष्टिविहीन विद्यार्थीहरूका लागि पाठ्यपुस्तकका साथै खाने र बस्ने व्यवस्थापनमा सहयोग, पवित्र समाज सेवा नेपालमा आश्रित बालबालिकाहरूका लागि विशेष सहयोगका साथै मानवीय सेवा अन्तर्गत फिलिपिन्स, इन्डोनेसिया तथा युक्रेनमा आर्थिक सहयोग उपलब्ध गराएको वृत्तचित्र मा उल्लेख थियो।

कार्यक्रममा राजदूत आचार्य तथा संयोजक राजेन्द्र ओझाले कालाकारहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए ।  यसका साथै स्थानीय कलाकारहरूले पनि ‘घिन्ताङ घिन्ताङ मादल मात्रै कति बजाम’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । अन्तमा डिजे हेम विष्टले विभिन्न डान्सिङ नम्बर गीतहरू प्रस्तुत गर्दै थप मनोरञ्जन दिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप