शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

६ वर्षमा एक खर्ब ७० अर्ब रुपैयाँको खाद्यान्न आयात

बुधबार, २२ चैत २०७९, १३ : १५
बुधबार, २२ चैत २०७९

काठमाडौँ  । कृषि प्रधान देश भनिए पनि पछिल्लो समय नेपाल विदेशी खाद्यान्नमा निर्भर हुनु परेको छ । छिमेकी मुलुक भारत, चीनदेखि युरोपियन तथा अमेरिकन मुलुकहरूबाट समेत नेपालमा खाद्यान्न आयात हुने गरेको छ । पछिल्ला वर्षमा मुलुकभित्र खाद्य वस्तुको माग बढ्दै गएको तर त्यही अनुपानमा उत्पादन बढ्न नसक्दा आयातमा निर्भर हुनु परेको हो ।

केन्द्रीय भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो ६ वर्ष ८ महिनाको अवधिमा नेपालमा एक खर्ब ७० अर्ब ४८ करोड २२ लाख २४ हजार रुपैयाँको मकै, गहुँ, कोदो, धान र जौ आयात भएको छ । आयात भएका खाद्यान्नमध्ये सबैभन्दा बढी मकै ९० अर्ब २६ करोड ३७ लाख १२ हजार रुपैयाँको आयात भएको छ ।

त्यसैगरी कोदो २२ करोड ९९ लाख २९ हजार रुपैयाँ बराबरको आयात हुँदा गहुँ ३७ अर्ब ५७ करोड २९ लाख ९४ हजार, जौ सात करोड १६ लाख ७८ हजार र धान ४२ अर्ब ३४ करोड ४० लाख ११ हजार रुपैयाँको आयात भएको देखिन्छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा खाद्यान्न बाली अन्तर्गत धान, मकै, गहुँ, कोदो, फापर र जौको खेती कुल ३४ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा गरिएकोमा उत्पादन १ करोड ११ लाख मेट्रिक टन भएको थियो । यी बालीको उत्पादकत्व ३.२१ मेट्रिक टन प्रतिहेक्टर थियो ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/०७८ मा उत्पादन १.६९ प्रतिशतले बढेको थियो । यी खाद्यान्न बालीमध्ये धानबालीको उत्पादन र उत्पादकत्व पहिलो स्थानमा पर्दछ । धानको उत्पादन ५६ लाख २१ हजार मेट्रिक टन छ । यसैगरी मकै दोस्रो र गहुँ तेस्रो स्थानमा पर्दछन् ।

क्षेत्रफल र उत्पादनको हिसाबले फापरबाली छैटौँ स्थानमा छ । उत्पादनको हिस्सामा धान बालीले मात्र आर्थिक वर्ष २०७७/७८ मा ५०.५६ प्रतिशत ओगटेको छ भने मकै बालीले २६.९६ प्रतिशत र गहुँ बालीले १९.१३ प्रतिशत ओगटेको छ ।

मन्त्रालयका अनुसार वार्षिक प्रतिव्यक्ति करिब १३७ केजी खाद्यान्न उपभोग हुने गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलका अनुसार चालु आर्थिक वर्षमा मौसम औसत रहेको र विशेषगरी तराईका जिल्लामा रासायनिक मलको उपलब्धता रहेकाले धानको उत्पादनमा वृद्धि भएको छ ।

६ वर्ष अघिको तुलनामा अहिले नेपालमा अन्न बालीको उपभोक्ता संख्या वृद्धि भएकाले आयातमा वृद्धि देखिएको उनको भनाइ छ । स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँच भएकाले मुख्य बालीको उत्पादनमा समेत वृद्धि भएको उनले बताए । उनले भने, ‘आयातमात्र नहेरौं, उत्पादन पनि वृद्धि भएको छ ।’

मकै  

विशेषगरी मकै अर्जेन्टिना, ब्राजिल, चीन, भारत, क्यानडा, इन्डोनेसिया, साउथ अफ्रिका, टर्की र अमेरिकाबाट आयात हुन्छ । मकै पोल्ट्री फर्मका लागि बढी प्रयोग हुने गर्छ । दानासँगै मकैको पिठो, कर्न फ्लेक्स, मकैको पाउडरलगायत अन्य पदार्थ अझै ठूलो परिमाणमा आयात हुने गरेको छ । नेपालमा वार्षिक रुपमा २० अर्ब रुपैयाँभन्दा बढीको मकै आयात हुने गरेको छ ।

आर्थिक वर्ष २०६८/०६९ मा ८ लाख ७१ हजार तीन सय ८७ हेक्टर क्षेत्रफलमा २१ लाख ७९ हजार चार सय १४ मेट्रिक टन मकै उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ९ लाख ७९ हजार सात सय ७६ हेक्टर क्षेत्रफलमा २९ लाख ९७ हजार सात सय ३३ मेट्रिक टन उत्पादन भएको थियो । १० वर्षको अन्तरालमा ३.०६ प्रतिशतले मकैको उत्पादन बढेको छ । उत्पादन बढेता पनि नेपालमा आयात पनि बढ्दै गएको देखिन्छ ।

makai-1

कोदो

नेपालमा कोदोको बिउ चीनबाट मात्र आयात हुने गरेको छ । नेपालमा वार्षिक ६ करोडभन्दा बढीको कोदोको बिउ आयात हुने गरेको छ । ६ वर्षको अवधिमा ३.८६ प्रतिशतले कोदो आयात वृद्धि भएको देखिन्छ । विषेशगरी नेपालको मध्यपहाडी क्षेत्रमा कोदो खेती हुने गर्दछ ।

आर्थिक वर्ष २०६८/६९ मा दुई लाख ७८ हजार ३० हेक्टर क्षेत्रफलमा ३ लाख १५ हजार ६७ मेट्रिक टन कोदो उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा दुई लाख ६५ हजार ४ सय १ हेक्टर क्षेत्रफलमा तीन लाख २६ हजार चार सय ४३ मेट्रिक टन कोदो उत्पादन भएको छ । १० वर्षको अन्तरालमा १.२३ प्रतिशतले कोदोको उत्पादनमा वृद्धि भएको छ ।

  kodo-2

गहुँ

नेपालमा जापान, अस्ट्रेलिया, अमेरिका, भारत लगायतका मुलुकबाट गहुँ आयात हुने गरेको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका अनुसार सन् २०१७ देखि हालसम्म गहुँका ५४ वटा उन्नत जात विकास भएको छ । तीमध्ये ४१ वटा जातको गहुँ खेती गरिँदै आएको छ । बाँकी १३ वटा जात कम उत्पादन दिने, पात डढुवा रोग बढी लाग्ने भएकाले खेती गर्न छाडिएको छ ।

सरकारले गहुँ उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गहुँ खेतीका लागि तीन वटा जोन र एउटा सुपरजोन कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत तीन हजार १२१ हेक्टरमा गहुँ खेती हुन्छ, जसबाट १४ हजार १३१ मेट्रिक टन गहुँ उत्पादन हुन्छ । 

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवाका अनुसार नेपालमा वार्षिक २१ लाख मेट्रिक टन गहुँ उत्पादन हुन्छ । यसले आन्तरिक मागलाई धान्न सकेको छैन । नेपालमा वार्षिक २५ लाख मेट्रिक टन गहुँको माग छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, नेपालमा गहुँ उत्पादकत्व दुई हजार ९९१ किलो प्रति हेक्टर छ । नेपालमा वार्षिक सात लाख ११ हजार हेक्टरमा गहुँखेती हुन्छ । आर्थिक वर्ष २०६८/०६९ मा ७ लाख ६५ हजार ३ सय १७ हेक्टर क्षेत्रफलमा १८ लाख ४६ जहार १ सय ४२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७/०७८ सम्म आइपुग्दा ७ लाख ११ हजार ६७ हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार २ ७६ मेट्रिकटन गहुँ उत्पादन भएको थियो । १० वर्षको अन्तरालमा २.९९ प्रतिशतले उत्पादनमा वृद्धि भए पनि आयातमा समेत १०५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

सरकारी स्तरबाट मलखाद, सिँचाई, बिउको सहज उपलब्धता भए गहुँखेती बढाई उत्पादनसमेत बढाउन सकिने राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवाका प्रविधिक संयोजक खेमराज पन्तले बताए । पूर्वी तराईका जिल्लाहरूमा गहुँखेती व्यापक सम्भावना भएकाले सरकारले कार्यक्रम लानुपर्ने उनको भनाइ छ । ‘किसानलाई प्रोत्साहन दिएर औसतमा गहुँखेती हुने क्षेत्र सात लाख ११ हजार हेक्टरबाट आठ लाख हेक्टर पु¥याउन सकिन्छ,’ उनले भने, ‘यसो गरे सजिलै आत्मनिर्भर भई आयात विस्थापन गर्न सकिन्छ ।’

gahu-3

जौ

चीन, भारत, दक्षिण कोरिया, अस्टे«लिया, जर्मनी, अमेरिकाबाट जौ आयात हुने गरेको छ । नेपालमा एच.बी.एल. ५६, सी.आइ.१०४४८, माल्ट, केच, बोनस जातको जौ खेती हुँदै आएको छ । पछिल्लो समय जौको जुसको माग बढ्दै गएको छ । जैविक रूपमा उत्पादन गरिएको जौको जमराबाट उत्पादन हुने जुसले विभिन्न रोगसँग लड्ने क्षमता राख्ने हुँदा माग बढ्दै गएको देखिन्छ । विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ७५ लाख ९५ हजार रुपैयाँको जौ आयात भएकोमा गत आर्थिक वर्षसम्म आइपुग्दा १८९ प्रतिशतले वृद्धि भएर दुई करोड २० लाख १४ हजारको जौ आयात भएको देखिन्छ । ६ वर्षको अवधिमा १८ प्रतिशतले जौ आयातमा वृद्धि भएको देखिन्छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६८/०६९ मा २७ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमा ३४ हजार ८ सय ३० मा मेट्रिक टन जौ उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७/०७८ सम्म आइपुग्दा २१ हजार ८ सय ६२ हेक्टर क्षेत्रफलमा २९ हजार ४ सय ३२ मेट्रिकटन जौ उत्पादन भएको थियो । १० वर्षको अन्तरालमा १८ प्रतिशतले जौ उत्पादनमा कमी आएको देखिन्छ ।

jau

धान

भारत, चीन, फिलिपिन्स, थाइल्याण्ड लगायत देशबाट नेपालमा धान आयात हुने गरेको छ ।  मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा समग्र मुलुकको चैते र वर्षे धान गरी १४ लाख ४७ हजार ७ सय ८९ हेक्टर क्षेत्रफलमा ५४ लाख ८६ हजार ४ सय ७२ मेट्रिकटन उत्पादन भएको थियो । धान उत्पादकत्व ३.७९ मेट्रिक टन प्रतिहेक्टर रहेको प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा समग्र धान उत्पादन क्षेत्रफलमा २ प्रतिशतले कमी आएको देखिए पनि समग्र उत्पादनमा ६.९४ प्रतिशतले र समग्र उत्पादकत्वमा ९.१२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।dhan

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप