शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेथितिको पराकाष्ठा : ०७१ सालमा ठेक्का लागेको पुल अझै तयार भएन

लुम्बिनी आउजाउ गर्ने पर्यटकलाई सास्ती
शुक्रबार, २४ चैत २०७९, १२ : २०
शुक्रबार, २४ चैत २०७९

बुटवल । भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत वनगाईस्थित बेथरी पुल निर्माणका लागि २०७१ सालमा ठेक्का लागे पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । बुद्धको जन्मस्थल लुम्बिनी प्रवेश नाकामा पुल निर्माण सम्पन्न नहुँदा पर्यटक तथा स्थानीयवासीले दैनिक रुपमा समस्या व्योहोर्नु परेको छ ।

०७३ सालमा निर्माण सम्पन्न गर्ने गरी पप्पु बागमती जेभी कन्स्ट्रक्सनले ०७१ असार २५ गते सम्झौता गरेको थियो । तर समयमै निर्माण सम्पन्न गर्न पटकपटक ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि बेवास्ता गरेकाले गत वर्ष उक्त ठेक्का तोडेर नयाँ ठेकेदार कम्पनी रमण रियल होम ईन्फोटेक जेभी ललितपुरलाई जिम्मा दिइएको हो ।

bridge  (2)

पुरानो ठेकेदारले गर्न नसकेको बाँकी काम गर्न करिब १० करोड रुपैयाँमा ठेक्का दिए पनि नयाँ ठेकेदारले समेत निर्माण सम्पन्न गर्न तदारुकता देखाएको छैन । लुम्बिनी सडक फोर लेनको भए पनि उक्त पुल साँघुरो भएका कारण सवारी साधनको जाम लाग्ने गरेको छ । पुल निर्माण नहुँदा प्रहरीलाई गाडी पास गराउन सास्ती हुने गरेको छ ।

तिनाउ खोला र डण्डा नदीमा पुल निर्माणको काम गर्ने ठेक्का रमण रियल होम ईन्फोटेक जेभीले पाएको हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले रातोपाटीलाई बताए ।

bridge  (1)

उनले राष्ट्रिय महत्त्वको पुल भएकाले छिटो सम्पन्न गर्न आफूहरूले निर्माण कम्पनीलाई आग्रह गरिरहेको जानकारी दिए । उनले भने, ‘यो वर्षभित्र तिनाउ पुल निर्माण सम्पन्न गर्ने, त्यसपछि अर्को पुलको काम गर्ने प्रतिबद्धता ठेकेदारले जनाएका छन् ।’

अहिले तिनाउ पुलको जग बसाल्ने र केही रड खसाल्ने काम भएको छ ।

bridge  (3)

भैरहवाबाट लुम्बिनी जाने सडक विस्तारसँगै पुल पनि निर्माण गर्नुपर्ने हो तर पुलको निर्माणको काम अघि बढ्न नसक्दा सडक विस्तारको प्रतिफलसमेत अनुभूति नभएको लुम्बिनीका होटेल व्यवसायी अक्रम खाँले बताए ।

सडक निर्माण भएपछि आफूहरुले पुल पनि छिटो बनाउन पटकपटक आग्रह गरेको तर सुनुवाइ नभएको उनको भनाइ छ ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईका अनुसार लुम्बिनी आउने पर्यटकहरु एकतर्फी पुलका कारण जाम हुने, दिक्क लाग्ने गरेको गुनासो गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप