शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ४४ अस्पतालमा उपचार गराउँदा ८० प्रतिशत छुट (सूचीसहित)

शुक्रबार, २४ चैत २०७९, १९ : ४४
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता भएको हो ।

यससँगै ती अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत (८‍० प्रतिशत छुट) मात्र बुझाए पुग्नेछ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।

उनका अनुसार नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका ९, मधेस प्रदेशका ९, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका २ र लुम्बिनी प्रदेशका ४ वटा गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचय पत्र देखाएर सुविधा दिन सक्नेछन् ।

फागुन १ यता देशभरका विभिन्न १५ वटा स्थानमा अनलाइन (लाइभ) सम्झौता भएका ४४ अस्पतालबाट मात्र औषधि उपचारबापतको सुविधा भुक्तानी हुने कोषले जनाएको छ । त्यसबाहेकका स्थानहरुमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने हुन्छ । आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मक रुपमा बढाउँदै लैजाने प्रतिबद्धता कोषले जनाएको छ ।

सम्झौता भएका ४४ अस्पतालको सूची

१. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल– बिर्तामोड, झापा

२. बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– बिर्तामोड, झापा

३. पशुपति मोडेल हस्पिटल– इटहरी, सुनसरी

४. हाम्रो अस्पताल– विराटनगर, मोरङ

५. विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– टंकिसिनुवारी, विराटनगर

६. नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल– विराटनगर, मोरङ

७. मोरङ सहकारी अस्पताल– सोमबारे हाट, विराटनगर, मोरङ

८. ओखलढुंगा सामुदायिक अस्पताल– ओखलढुंगा

९. रामलाल गोल्छा आँखा अस्पताल– विराटनगर, मोरङ

१०. नेसनल मेडिकल कलेज– वीरगन्ज, पर्सा

११. वीरगन्ज हेल्थ केयर अस्पताल– वीरगन्ज, पर्सा

१२. गण्डक अस्पताल– वीरगन्ज, पर्सा

१३. स्पर्स अस्पताल– वीरगन्ज, पर्सा

१४. किरण आँखा अस्पताल– वीरगन्ज, पर्सा

१५. नमुना सामुदायिक अस्पताल– हरिवन, सर्लाही

१६. जानकी हेल्थ केयर– जनकपुर, धनुषा

१७. छिन्नमस्ता अस्पताल– राजविराज, सप्तरी

१८. शुभ स्वस्तिक अस्पताल– बर्दिबास, महोत्तरी

१९. वीर अस्पताल– काठमाडौं

२०. त्रिवि शिक्षण अस्पताल– महाराजगन्ज, काठमाडौं

२१. मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल– स्वयम्भू, काठमाडौं

२२. हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल– चाबहिल, काठमाडौं

२३. काठमाडौं मेडिकल कलेज (केएमसी)– सिनामंगल, काठमाडौं

२४. ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पताल– जोरपाटी, काठमाडौं

२५. तिलगंगा आँखा अस्पताल– तिलगंगा, काठमाडौं

२६. दृष्टि आई केयर– कलंकी, काठमाडौं

२७. एभरेस्ट अस्पताल– नयाँ बानेश्वर, काठमाडौं

२८. होप अस्पताल– सिनामंगल, काठमाडौं

२९. शंकरापुर अस्पताल– गोकर्णेश्वर, काठमाडौं

३०. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल– सोह्रखुट्टे, काठमाडौं

३१. फ्रन्टलाइन हस्पिटल– पुरानो बानेश्वर, काठमाडौं

३२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)– ललितपुर

३३. शिर मेमोरियल अस्पताल– बनेपा, काभ्रे

३४. कलेज अफ मेडिकल साइन्सेस– भरतपुर, चितवन

३५. चितवन मेडिकल कलेज टिचिङ हस्पिटल– भरतपुर, चितवन

३६. मकवानपुर सहकारी अस्पताल– हेटौंडा, मकवानपुर

३७. चुरेहिल अस्पताल– हेटौंडा, मकवानपुर

३८. काठमाडौं क्यान्सर सेन्टर– ताथली, भक्तपुर

३९. चरक मेमोरियल अस्पताल– पोखरा, कास्की

४०. ग्यालेक्सी अस्पताल– पोखरा, कास्की

४१. लर्डबुद्ध एजुकेसनल एकडेमी (नेपालगन्ज मेडिकल कलेज)– कोहलपुर, बाँके

४२. लर्डबुद्ध एजुकेसनल एकेडेमी (नेपालगन्ज मेडिकल कलेज)– नेपालगन्ज, बाँके

४३. युनिभर्सल कलेज अफ मेडिकल साइन्स– भैरहवा, रुपन्देही

४४. गौतमबुद्ध मुटु अस्पताल– बुटवल, रुपन्देही

सामाजिक सुरक्षा कोषबाट कस्ता–कस्ता सुविधा पाइन्छन् ?

– औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना (१ प्रतिशत)

१. योगदानकर्ता वा निजको पति या पत्नीको हरेक आर्थिक वर्ष १ लाख रुपैयाँसम्मको उपचार खर्च ।

२. तीन महिनासम्मको शिशुको उपचार खर्च ।

३. १० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च ।

४. योगदानकर्ता वा योगदानकर्ताकी पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक (हाल रु. १५,०००) बराबरको शिशु स्याहार खर्च ।

५. महिला योगदानकर्ता भए आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदाबापतको रकम ।

६. योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा डाक्टरको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदाबापतको रकम ।

– दुर्घटना तथा अशक्तता सुरक्षा योजना (१.४ प्रतिशत)

१. कामको सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च ।

२. अन्य दुर्घटनाको हकमा वार्षिक सात लाख रुपैयाँसम्मको उपचार खर्च ।

३. कामको सिलसिलामा हुने दुर्घटनाको कारण योगदानकर्ता अशक्त भएमा

(अ) स्थायी पूर्ण असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था)

(आ) अस्थायी पूर्ण असक्षमता भए काममा नफर्किउन्जेलसम्मका लागि पारिश्रमिकको मासिक ६० प्रतिशत ।

(इ) स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शतप्रतिशत मानेर आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था)

– आश्रित परिवार सुरक्षा योजना (०.२७ प्रतिशत)

१. योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको सम्पूर्ण रकम प्रतिफलसहित फिर्ता पाउने ।

२. मृतक योगदानकर्ताका बालबच्चा (२ जनासम्म)ले पारिश्रमिकको ४० प्रतिशत रकम १८ वर्ष उमेर नपुग्दासम्म मासिक रुपमा पाउने । अध्ययन निरन्तर भए २१ वर्षको हुँदासम्म पाउने तर शारीरिक वा मानसिक रुपमा असक्षम सन्ततिको हकमा उमेर हद लागू नहुने ।

३. योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था)

४. अविवाहित योगदानकर्ताको हकमा निजको आश्रित बाबु या आमाले सो सुविधा पाउने ।

५. योगदानकर्ताको अन्तिम संस्कार खर्चबापत एकमुष्ठ रु. २५ हजार आश्रित परिवारले पाउने ।

– वृद्ध अवस्था सुरक्षा योजना

१. निवृत्तिभरण योजना (२० प्रतिशत)

(अ) योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि यस योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी आउने रकम मासिक रुपमा आजीवन निवृत्तिभरण । (मुद्रास्फीति समायोजनको व्यवस्था)

(आ) निवृत्तिभरण लिन सुरु गरेको १८० महिना नपुग्दै मृत्यु भएमा निजको पति वा पत्नीले ५० प्रतिशत रकम आजीवन निवृत्तभरणबापत पाउने ।

२. अवकाश सुविधा योजना (८.३३ प्रतिशत अनिवार्य र स्वैच्छिक)

(अ) अन्य अवकाश कोषमा भएको रकम हस्तान्तरण भई आएमा यसै योजनामा जम्मा हुने ।

(आ) योगदानकर्ताले स्वैच्छिक रुपमा जम्मा गर्न चाहेमा रकम जम्मा गर्न सक्ने ।

(इ) सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणाभन्दा बढी रकम निवृत्तिभरण सुविधा योजनामा जम्मा हुने भएमा बढी भएजति रकम अवकाश सुविधा योजनामा जम्मा गर्न सकिने ।

(ई) रोजगारीको अन्त्य हुँदा वा अवकाश हुँदा यस योजनामा जम्मा भएको रकम प्रतिफलसहित भुक्तानी पाउने ।

(उ) योगदानकर्ता यस योजनाको रकमबाट जम्मा गरेको ३६ महिना पूरा भएपछि अधिकतम ८० प्रतिशतसम्म सापटी सुविधा पाउने ।

कर छुट सुविधा

१. करयोग्य आयको एक तिहाइ वा ५ लाखमध्ये जुन कम हुन्छ, त्यो रकम सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा जम्मा गरेमा आयकर प्रयोजनका लागि घटाउन पाउने ।

२. कोषमा योगदान गर्ने योगदानकर्तालाई सामाजिक सुरक्षा कर छुट हुने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप