बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र संवाद

जब गणेशमानले अशोकलाई धाप मार्दै भने– दीपक थापाजी !

शनिबार, २५ चैत २०७९, ०६ : २१
शनिबार, २५ चैत २०७९

कलाकार अशोक शर्मा साथी विष्णुगोपाल श्रेष्ठमार्फत गणेशमान सिंहलाई भेट्न गएका थिए । देख्नेबित्तिकै गणेशमानले ‘दीपक थापाजी’ भन्दै अशोकलाई धाप मारे । अशोकले आफ्नो वास्तविक परिचय दिनैपर्‍यो– मेरो नाम अशोक शर्मा हजुर । मैले ट्रक ड्राइभर नामको फिल्म बनाएको छु, त्यसको उद्घाटनमा यहाँ आइदिनुपर्‍यो ।’

गणेशमानले तुरुन्तै भने– म अवश्य आउँछु । 

अशोकले ऋण काढेर ‘ट्रक ड्राइभर’ बनाएका थिए । तर हल पाएनन् । जोरपाटीस्थित कम गुणस्तरको ‘आराधना’ हलले भने अशोकको आग्रह नकारेन । हिन्दी फिल्मको दबदबा रहेका बेला आफ्नो फिल्म एउटा हलमा लगाएर कहिले ऋण तिर्ने ? अशोक तनावमा थिए । 

देशकै ठूलो नेताले फिल्मको उद्घाटन गरिदिने भएपछि उनलाई केही राहत त मिल्यो, फिल्म चल्ला वा नचल्ला भन्ने चिन्ताले घेरिरहेकै थियो । 

प्रदर्शनको दिन, गणेशमानलाई लिएर उनी हलतिर जाँदै थिए, आराधना हल जोरपाटीको मेन सडकदेखि अलि भित्र थियो, उनीहरू पुग्दा मेन सडकदेखि मान्छेको भीड देखियो । अशोकलाई लाग्यो– अरु नै काम वा घटना विशेषमा आएका मानिस होलान् । जब हलको नजिक आए, मानिसहरू हलसम्मै थिए । उनीहरू सबै फिल्म हेर्न आएका रहेछन् । धेरै दर्शकको माझमा फिल्मको उद्घाटन गर्ने अशोकको सपना पूरा भयो । 

अशोक भन्छन्, ‘उद्घाटनमा बोल्ने क्रममा म ग्वाँ–ग्वाँ रोएँ, दर्शकको माया देखेर हर्षले मैले आफूलाई थाम्नै सकिनँ, म त भावविभोर भएँछु । ट्रक ड्राइभर महिना दिनसम्म त्यो हलमा हाउसफुल चल्यो । कारण, यसका गीतहरू रेडियो नेपालबाट हिट भइसकेका थिए । दर्शकहरू यस फिल्मको प्रतीक्षामा रहेछन् । फिल्म चल्दैछ भन्ने खबर पाएर दर्शक आए ।’

छैटौँ ‘नेपाल इन्टरनेसलन फिल्म फेस्टिभल’ (निफ)ले ४ चैतमा राखेको ‘हेर्दा हेर्दै कहाँ पुग्यौ’ (इभोलुसन अफ नेपाली अडियन्स) विषयक छलफलमा अशोकले भनेका थिए– अब म फिल्म बनाउँदा गीतको अडियो मात्रै सार्वजनिक गर्छु ।’

‘ट्रक ड्राइभर’ फिल्मका ‘चिठी आएन’, ‘सम्झना–बिर्सना सलल ल’ लगायत गीत रेडियो नेपालबाटै लोकप्रिय भएको उनले अझै बिर्सन सकेका छैनन् ।  

काठमाडौँमा ‘दीपक थापा’ 

नेपाल टेलिभिजन खुलेपछि टेलिफिल्म र सिरियल बन्ने क्रम सुरु भयो । २०४३ सालमा कृष्ण मल्लले निर्देशन गरेको ‘चक्रव्यूह’ नामक टेलिसिरियलको दोस्रो भागदेखि अशोक शर्मा टेलिभिजन स्क्रिनमा देखिन थालेका हुन्, दीपक थापाको भूमिकामा ।

यो सिरियलको पहिलो भाग छायांकन हुँदादेखि नै अशोक छायांकन स्थलमा पुगेका थिए । त्यतिबेलासम्म उनलाई कसैले चिन्दैनथ्यो । तेस्रो भाग छायांकनका बेला अशोक एकाएक सेलेब्रिटी भए, सयौँले उनलाई घेर्न थाले । आफूलाई दर्शकले किन घेरिरहेछन् भन्ने उनैलाई थाहा थिएन । ‘मसँग टेलिभिजन थिएन, टेलिभिजनमा आफू आएको मैले थाहै पाइनँ तर टेलिभिजनमा हेरेर दर्शकले मलाई चिनिसकेका रहेछन्,’ अशोक भन्छन्, ‘म आफैँ छक्क परेको थिएँ । एउटै एपिसोडबाट म चर्चित भएको रहेछु । सुटिङ हेर्न आउनेहरूले मलाई दीपक थापा भनेर बोलाउँथे । सुटिङ युनिट नै छक्क परेका थियौँ ।’ 

कृष्ण मल्लका अनुसार, दीपक थापाको नकारात्मक चरित्रले त्यतिबेला एक किसिमको तहल्का नै मच्चाएको थियो । मल्ल भन्छन्, ‘एकपटक फिल्मी जगतमा सुनील थापाले निभाएको राते–काइँलाको चरित्र दर्शकमा जति हिट थियो, उति नै अशोकले निभाएको दीपक थापाको चरित्र त्यतिबेला स्थापित थियो ।’

२०४५ सालमा, भूकम्पपीडितका लागि सहयोग रकम जुटाउन कलाकारको ठूलो र्‍याली काठमाडौंमा तीन दिनसम्म निकालियो । ‘भुवन केसी, शिव श्रेष्ठ, अशोक शर्मा, मलगायत कलाकार र्‍यालीमा थियौँ, तर जनताले दीपक थापाको नाम लिएका थिए,’ मल्ल भन्छन्, ‘जबकि फिल्म खेलेर हिरो हुनेमा भुवन केसी, शिव श्रेष्ठ थिए । मै पनि हिरो थिएँ ।’

यो सिरियलले अशोकको दिनसँगै नामै फेरिदियो । उतिबेला अशोकसँग सवारीसाधन थिएन, काम विशेषले यताउता हिँड्दा बच्चाहरू उनलाई देखेर भाग्थे र घरभित्र छिरेर चिथ्याउँथे– दीपक थापा गुन्डा । टोलटोलका युवाले उनलाई देख्ने बित्तिकै चिच्याउँथे– गुन्डा, दीपक थापा । 

वास्तवमा दीपकको चरित्र कस्तो थियो त ? अशोक भन्छन्, ‘कथा अनुसार, एउटा बोसको अर्डरमा काम गर्ने दीपक थापाले मान्छे खुबै कुट्थ्यो । राष्ट्रिय पञ्चायतमा दीपक थापाको विषयमा बहस भएछ– नेपाल टेलिभिजनले यस्तो नेगेटिभ चरित्रलाई प्रमोट गर्नु हुँदैन भनेर । कतिसम्म हल्ला भयो भने, दीपक बोहोरा र कमल थापा दुवैलाई दीपक थापाको चरित्रले समेटेको छ ।’

कलाकारले निभाएको चरित्रमा जनतालाई प्रभावित गर्ने कति शक्ति हुन्छ भन्ने यो एउटा उदाहरण हो । त्यतिबेला सहरको एउटा वर्गको मनमा सिरियलको नकारात्मक चरित्रले प्रभाव पार्नुको पछाडिको मनोविज्ञान भने अर्को विश्लेषणको पाटो छँदै छ ।

लगाव

इलामको मंगलबारेबाट अशोकका बुवाआमा बसाइँ सरेर भारतको जलपाइगुडी जिल्लाको नगरकटामा गएका थिए । त्यहाँको चिया बगानमा उनकी आमाले चियाको पत्ती टिप्थिन् भने उनका बुवा चौकीदार थिए ।

लखनऊ पुगेपछि टिकट चेक गर्नेले हामीलाई समायो,’ अशोक भन्छन्, ‘जेल हाल्दिन्छु भन्ने धम्की दिएर उनीहरूले त्यहीँबाट हामीलाई नेपाल फर्काए ।’ 

झापाको भद्रपुरमा पनि उनीहरूको घर थियो, त्यसैले उनको परिवार कहिले यता, कहिले उता गरिरहन्थ्यो । नगरकटामा जन्मेका अशोक आठ वर्षको उमेर (२०२६ साल)देखि झापा आए, भद्रपुर हाइस्कुलबाट उनको पढाइ अघि बढ्यो, पढाइसँगै फिल्ममा पनि उनलाई एक प्रकारको लत लागेको थियो । त्यतिबेला भद्रपुरस्थित हाइभिजन हलमा लाग्ने कुनै पनि फिल्म उनले छुटाउँदैनथे । त्यसले नपुगेर फिल्म हेर्नकै लागि उनी साथीहरूसित सिलिगुडीसम्म पुग्थे । 

सिमानापारि गलगलियाबाट साढे ३ बजे ट्रेन पक्रन सकिन्थ्यो । शुक्रबार एक पिरियड छाडेर उनीहरू रेल चढ्थे र रातको ९ बजेको सो हेर्न पुग्थे र राति १–२ बजेको रेल पक्रेर उनीहरू घर फर्कन्थे, घर फर्कंदा बिहान ३–४ बज्थ्यो । 

फिल्म हेर्दाहेर्दै उनीहरूलाई हिरो बन्ने लहडले छोप्यो । ८–९ कक्षामा पढ्दा, उनीसहित तीनजना बम्बई जानका लागि घरबाट भागे । बम्बईमा हिरो हुन पाइन्छ भन्ने उनीहरूलाई थाहा थियो । उनका साथी ध्रुव श्रेष्ठ हेमा मालिनीका फ्यान थिए, हेमा मालिनीकहाँ काम गर्ने उनको इच्छा थियो । अर्का साथी प्रदीप खड्कालाई गाउन र नाच्न आउँथ्यो । यसमाथि घडी बनाउन पनि जान्ने प्रदीपले बम्बईमा अवश्य केही न केही काम पाइहाल्छन् भन्ने तिनैजनाको विश्वास थियो । ‘बम्बईमा दुई–चार दिन बस्न–खानका लागि भनेर दुई–चार सय जोहो गरेर हामी हिँडेका थियौँ, ट्रेनमा टिकट नकाटी । लखनऊ पुगेपछि टिकट चेक गर्नेले हामीलाई समायो,’ अशोक भन्छन्, ‘जेल हाल्दिन्छु भन्ने धम्की दिएर उनीहरूले त्यहीँबाट हामीलाई नेपाल फर्काए ।’ 

उतिबेला फिल्मको तिर्खा नाटकबाट पनि मेट्न सकिन्थ्यो । अशोकको ध्यान नाटकतिर जान थाल्यो । पञ्चायतकालमा राजाको जन्मोत्सव भव्य रूपमा मनाइन्थ्यो, खासगरी स्कुल–स्कुलमा विभिन्न सांस्कृतिक कार्यक्रम हुन्थे । राजाको भ्रमणका बेला स्वागतका लागि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिन्थे, जसमा नाटक पनि पर्थे । त्यस्तो बेला भद्रपुरमा लय संग्रौलाहरू नाटक प्रहसन लगायतका क्रियाकलापमा सक्रिय थिए । अभिनयमा रुचि भएका अशोक उनीहरूको पछि लागेर हिँड्थे । 

२०३३ सालमा, स्कुलको वार्षिकोत्सवमा शिक्षक बद्रीनारायण शर्माले ‘रोटी’ नामक नाटक लेखेर निर्देशन गरे । यही नाटकबाट अशोकले औपचारिक रुपमा रंगमञ्चमा पाइला राखेका हुन् । अशोक भन्छन्, ‘रुचि भएकाले मात्रै लयदाइहरूको पछि लागेर हिँडेको थिएँ, त्यतिबेला मञ्च बनाउन शारीरिक श्रम गर्न पाए पनि खुसी लाग्थ्यो ।’

२०३६ सालमा एसएलसी पास गरी उनी उच्च शिक्षाका लागि दार्जिलिङ गए । त्यहाँको गभर्मेन्ट कलेजमा साइन्स पढ्दै थिए, सबै विषय अंग्रेजीमा पढ्नुपर्दा उनले पार लाउन सकेनन् । त्यसपछि काठमाडौं आएर आरआर क्याम्पसमा भर्ना भए । अढाई वर्ष दार्जिलिङ बस्दा उनले केही नाटकमा र प्रताप सुब्बाको ‘मसाल’ फिल्ममा खेल्ने अवसर पाएका थिए ।  

०४५ सालमा उनको विवाह भयो, कोटेश्वरकी किरण शर्मासँग । भोटेबहाल बस्दा चिनजान भएका एक व्यक्ति (जसलाई उनले अंकल भन्थे)ले उनको विवाहको कुरा चलाएका थिए ।

काठमाडौं आएको सुरुका दुई वर्ष अशोकको बस्ने–खाने टुंगो भएन । सुरुमा उनी जिनजानका मान्छेकहाँ बसेका थिए । त्यतिबेला काठमाडौंमा नाट्य गतिविधि निकै भइरहन्थे । पूर्वतिरबाटै आएका रमेश बुढाथोकी, सुनील पोखरेल, बद्री अधिकारी, लय संग्रौला, राजेन्द्र शलभ आदि नाटकमा सक्रिय थिए, नाटकमा रुचि भएकाले यो सर्कलमा उनी सहजै भिजे । अब भने नाटकमा सानोतिनो रोल गर्ने चक्करमा उनका दिन बित्न थाले । नाट्यकर्मीसँग चिनजान बढेपछि उनी कहिले कसकोमा, कहिले कसकोमा गरी दुई वर्षजति बिनाकोठा बिताए । ‘पछाडि बोक्ने झोलामा आफ्ना किताब, कपडा र दाँत माझ्ने ब्रस हुन्थ्यो,’ उनी आफ्ना पुराना दिन सम्झन्छन्, ‘जहाँ बस्यो, त्यहीँ लुगा धोयो, नुहायो । यसो गर्दै दुई वर्ष बितेछ, त्यसपछि मात्रै कोठा लिएर भोटेबहालमा बस्न थालेँ ।’

उधारोमा ‘ट्रक ड्राइभर’

०४५ सालमा उनको विवाह भयो, कोटेश्वरकी किरण शर्मासँग । भोटेबहाल बस्दा चिनजान भएका एक व्यक्ति (जसलाई उनले अंकल भन्थे)ले उनको विवाहको कुरा चलाएका थिए ।

पेसा कलाकारिता नै थियो– फिल्म, टेलिफिल्म र सिरियलमा अवसर पाइरहन्थे, तर एउटा फिल्म खेलेर २५ सयदेखि तीन हजार पाउँथे, एक एपिसोड सिरियलको डेढ सय । यसले गुजारा नचल्ने भएपछि उनले फिल्म बनाउने संकल्प गरे । त्यतिबेला सहरमा उनको नाम थियो, तर उनीसँग दाम थिएन । 

truck driver nepali movieटेलिसिरियलमा चर्चा कमाउन थालेदेखि भैरहवाका वीरेन्द्र क्षेत्री उनका साथी हुन पुगेका थिए । वीरेन्द्रले पाँच लाख रुपैयाँ सापटी दिने भए । एकाएक पाँच लाख ऋण पाएपछि फिल्म बनाउने आँट उनीमा बढ्दै गयो । नेपालमा काम गर्दै आएका भारतीय निर्देशक राजकुमार शर्मासँग अशोकले आग्रह गरे– म फिल्म बनाउँछु, उधारोमा निर्देशन गरिदिनुपर्‍यो । 

शर्माले निर्देशन गरेको तिलहरी र परिवार फिल्ममा अशोक खेलिसकेका थिए । यही चिनजानले उनले उधारोमा निर्देशक पाए । अर्कोतिर, शम्भुजित बास्कोटाले संगीत मात्रै गरिदिएनन्, फिल्मको कथा पनि दिए । त्यतिबेला फिल्मको गीत बम्बईमा रेकर्ड गर्नुपथ्र्यो । बम्बईमा उदितनारायण र दीपालाई उही आग्रह गरे, गीत रेकर्डिङ भयो । 

कलाकारहरू शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, करिश्मा मानन्धर, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य आदिलाई पनि पछि पैसा दिने सर्तमा मनाए । गीत रेकर्ड गर्दा, सुटिङमा आवश्यक सामान किन्दा पाँच लाख सकियो । फिल्म सुटिङ गर्न आवश्यक दैनिक खर्चका लागि पनि पैसा भएन । त्यतिबेला वितरकले फिल्मको सुटिङ सकिएपछि मात्रै पैसा दिन्थे । तैपनि उनले फिल्म डिस्ट्रिब्युटर लीला शाक्यसँग पैसाको कुरा गरे । शाक्यले अशोकलाई दुई–चार लाख गर्दै १२ लाखसम्म दिए । अशोक भन्छन्, ‘म चर्चित भएकै कारण यो ऋण पाएको थिएँ ।’

‘ट्रक ड्राइभर’ले राम्रै नाफा कमायो । ऋण लिएका र उधारोमा काम गराएकाहरूलाई अशोकले खोजीखोजी घर–घरमै गएर तिरे । तर मदनकृष्ण, हरिवंश र किरण केसीले पैसा लिन मानेनन् ।

उनकी श्रीमती किरण शर्माले पनि आफ्ना गहना राखेर ऋण लिइन् । सुटिङको दिन किरण बिहानै ३ बजे उठेर कालीमाटी तरकारी लिन जान्थिन्, सस्तोका लागि । २०५० भदौ २५ गते प्रथम छायांकन सुभारम्भ भएको यस फिल्मको निर्मातामा किरणको नाम राखिएको छ ।

हाइभिजन हलबाट क्रान्ति

प्राविधिक टोलीलाई मात्रै पैसा दिएर काम लगाई सुटिङ त सकियो । तर प्रदर्शन गर्न अर्को महाभारत आइलाग्यो । त्यतिबेला काठमाडौंमा नेपाली फिल्म लगाउने हल कम थिए– विश्वज्योति, कुमारी, जयनेपाल, पाटनको अशोक, भक्तपुरको नवदुर्गामा नेपाली फिल्म चलाइन्थ्यो । ‘यी हलवालाको त्यतिबेला दादागिरी नै चल्थ्यो । यिनीहरूले हिन्दी फिल्म चलाउँथे,’ अशोक भन्छन्, ‘यिनीहरूले शाही नेपाली चलचित्र संस्थानबाट बनेको फिल्म तुरुन्त प्रदर्शन गर्थे । तर, निजी क्षेत्रमा फिल्मलाई वास्तै गर्दैनथे । त्यतिबेला फिल्म लाउनु भनेको ठूलो युद्ध जित्नुजस्तै हुन्थ्यो । मेरो फिल्मले दुई–चार वर्षपछि मात्रै पालो पाउने हलवालाहरूले बताए ।’

त्यतिबेला काठमाडौं उपत्यकामा पाँचवटा हाइभिजन हल (भिडियोवाला) थिए । अशोकले सोचे– हाइभिजन हलमै भए पनि चलाउँछु । त्यसका लागि सेलोलाइट प्रविधिबाट भिएचएस प्रविधिमा कन्भर्ट गर्नुपथ्र्यो । पहिलो प्रयासबाट गुणस्तरीय कन्र्भट भएन । 

जोरपाटीस्थित ‘आराधना’ हल त्यति गुणस्तरीय थिएन । तैपनि अशोकले त्यस हलका सञ्चालककहाँ गएर हात जोडे । एउटै हलबाट ट्रक ड्राइभरको प्रदर्शन सुरु भयो । फिल्म हिट हुन थालेपछि हाइभिजनहरूले पनि माग गरे । अशोकले पुनः यस फिल्मलाई भिएचएस प्रविधिमा कन्भर्ट गर्ने कोसिस गरे, यसपालि केही गुणस्तरमा कन्भर्ट भयो । ‘हाइभिजन हलमा पनि फिल्म मारामार चल्यो । त्यहीँदेखि नेपाली फिल्म हाइभिजन हलहरूमा चल्ने प्रथा सुरु भयो र सेलो लाइट प्रविधिमा फिल्म देखाउने हलवालाहरू ठेगानमा आए, नेपाली फिल्म चलाउन थाले । नभए, यी ठूला हलवालाहरूले नेपाली फिल्मलाई बाल मतलब गर्दैनथे ।’

सन् २००७ देखि डिसिएन (डिजिटल सिनेमा नेपाल, जसले अनलाइनमार्फत डिजिटल फम्र्याटमा नेपाली फिल्मको डिस्ट्रिब्युसन गर्छ) कम्पनी चलाएका अशोक २०८० सालदेखि फिल्म बनाउने योजनामा छन् । 

‘ट्रक ड्राइभर’ले राम्रै नाफा कमायो । ऋण लिएका र उधारोमा काम गराएकाहरूलाई अशोकले खोजीखोजी घर–घरमै गएर तिरे । तर मदनकृष्ण, हरिवंश र किरण केसीले पैसा लिन मानेनन् । यस सन्बन्धमा हरिवंश आचार्यले मोबाइल फोनमार्फत भने, ‘एक त साथीभाइको फिल्म पनि भयो, अर्को कुरा नेपाली फिल्मको विकासका लागि पनि मैले सहयोग गरेको हुँ ।’

थुप्रै सिरियल र फिल्ममा काम गर्दा अशोकले फिल्म कसरी बन्छ भन्ने ख्याल गर्दै आएका थिए । ‘ट्रक ड्राइभर’को निर्माणका बेला उनले निर्देशन कसरी गर्ने भनी नजिकबाट नियाले । 

२०५१ मा आएर उनले ‘सीता’ फिल्म निर्देशन गर्ने आँट गरे, ‘ट्रक ड्राइभर’ले कमाएको पैसा छँदै थियो । यसपछि उनले आफ्नो निर्देशनमा लगातार फिल्म दिए– गरिब, निरमाया, अल्लारे, मिस्टर रामकृस्ने, यो मायाको सागर, जय भोले र रातोटीका । चलचित्र ‘मितिनी’ र ‘अन्दाज’मा निर्माता रहे । अहिलेसम्म उनले टेलिफिल्म र सिरियल गरी ३५ वटा जति र सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

सन् २००७ देखि डिसिएन (डिजिटल सिनेमा नेपाल, जसले अनलाइनमार्फत डिजिटल फम्र्याटमा नेपाली फिल्मको डिस्ट्रिब्युसन गर्छ) कम्पनी चलाएका अशोक २०८० सालदेखि फिल्म बनाउने योजनामा छन् । 

‘दर्शक गम्भीर फिल्ममा टाउको दुखाउन चाहन्नन्’ 

अशोकका अनुसार, अहिले नेपाली फिल्म उद्योग डेन्जर जोनमा छ । पहिले नेपाली फिल्म चल्थे, लगानी उठाउँथे । अहिले बनेकामध्ये ९५ प्रतिशत फिल्मले लगानी उठाउन सक्दैनन् । सीमित निर्देशकका फिल्म मात्रै चलेको अवस्था छ । ‘अहिले अधिकांश फिल्ममा कथा छैन । कथा, पटकथा, संवाद भन्ने टाइटल फिल्ममा आउँछ, तर कथा हुँदैन,’ उनी भन्छन्, ‘अर्कोतिर, दर्शकमा पनि विविधता छ । झोला, ऐना झ्यालको पुतली, कठपुतली हेर्ने एकथरी दर्शक छन् तर सीमित छन् । चलेका भनेका फिल्म, जस्तो ः छक्कापन्जा, कबड्डी–कबड्डी, जात्रैजात्रा आदिका दर्शक एकै हुन् । एउटै किसिमका फिल्म चलेर इन्डस्ट्री टिक्दैन । त्यसैले फरक जनरामा बनेका फिल्ममा दर्शक बढाउन हामीले सक्नुपर्छ ।’ 

अशोकको अनुभव भन्छ– अहिले हामीकहाँ स्टार पावर नै छैन ? जस्तो ः पहिले शिव श्रेष्ठको फिल्म भनेपछि मान्छे हलमा ह्वाह्र्वार्ती आउँथे । भुवन केसी खेलेको फिल्ममा पनि दर्शक आउँथे, त्यसपछि राजेश हमालको पालो आयो । यस्तै, करिश्मा मानन्धर, विपना थापा, रेखा थापाको स्टार पावर थियो । नायकमा त्यसपछि निखिल उप्रेती, दिलीप रायमाझी, विराज भट्ट आदि आए । तर अहिले फलानो भनेर दर्शक फिल्म हेर्न जाँदैनन् । अचेल दर्शकले कन्टेन्ट राम्रो खोज्छन् ।

उसो भए, कस्तो कन्टेन्ट राम्रो हो त ? अशोकको विचारमा, अहिले दर्शकले सकेसम्म मनोरञ्जन खोजिरहेका छन् । ‘गहन विषयवस्तु प्रस्तुत गर्दा अलिकति मनोरञ्जन मिसाइयो भने दर्शकले हेर्छन् तर गहन विषयवस्तु गहन नै ढंगले प्रस्तुत गरिएको छ भने आजका दर्शक त्यसमा टाउको दुखाउने पक्षमा छैनन्,’ उनी भन्छन्, ‘आज दर्शक हलमा गएर रमाउन चाहन्छ, गम्भीर हुन चाहँदैन । रमाइलोमा गहन विषयवस्तु भयो भने दर्शकले भन्छ– ए ! यसमा कथा पनि राम्रो रहेछ है । फिल्ममा गहिराइ खोज्ने केही दर्शक पनि छन् ।’

उसो भए, फिल्मको दायित्व हुन्छ कि हुँदैन ? उनको बुझाइमा, फिल्म समाजको ऐना हो । फिल्मले समाजलाई परिवर्तन गर्ने र समाजका विकृति हटाउने उद्देश्य राख्नुपर्छ । यस्तै ऐतिहासिक दस्तावेजको रूपमा पनि फिल्म बनाउन सकिन्छ । ‘तर हामीकहाँ सरकारको उदासिनताकै कारण यस प्रकारका काम हुन सकिरहेको छैन । ऐतिहासिक फिल्म बनाउँदा खर्च बढी लाग्ने तर लगानी उठाउने सम्भावना कम रहन्छ,’ उनी भन्छन्, ‘त्यसो हुँदा यस्ता फिल्ममा सरकारको सहयोग हुन्छ भने हामी श्रम दिन तयार छौँ, हामीलाई पैसा पनि चाहिँदैन तर आफ्नै लगानीमा यस्ता फिल्म बनाएर जोखिम मोल्न सकिँदैन ।’

अन्तमा हामीले अशोकलाई सोध्यौँ– एउटा निर्देशकमा कथा भन्नका लागि कस्तो क्षमता हुनुपर्छ ? ‘खासगरी स्क्रिन प्लेमा निर्देशकको ठूलो भूमिका रहन्छ । कथा, पटकथा र संवाद जसले लेखोस्, यी तीन पूर्ण हुनु नै फिल्म ९० प्रतिशत राम्रो बन्नु हो । तर, फिल्मको पात्र र उसको परिवेश निर्देशकको सोच अनुरूप नै प्रस्तुत भइरहेको हुन्छ,’ उनी भन्छन्, ‘निर्देशकमा कथा भन्ने खुबी भएन भने, एउटा राम्रो कथामा उसले नराम्रो फिल्म बनाउन सक्छ । निर्देशकको क्षमताले भ्यायो भने, सानो कथामा राम्रो फिल्म बन्न सक्छ ।’ 

उनकी छोरी कृति शर्मा र छोरा अंकित शर्मा दुवैले फिल्म पढेका छन् । छोरीले उनको फिल्म रातो टीकामा सह–निर्देशन गरेकी थिइन् भने छोरा यस फिल्ममा खेलेका थिए । 

जस्तोसुकै प्रविधि आए पनि ‘थियटर कल्चर’ (हलमा फिल्म चल्ने संस्कृति) नहट्ने अशोकको विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप