सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न मन्त्री शर्माको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको समृद्धिको आधार सूचना प्रविधि बन्न सक्ने उल्लेख गर्दै संसारभर रहेका गैरआवासीय नेपालीहरूलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गरेकी छन् ।
अमेरिकास्थित नेपाली दूतावास र विश्व बैंकले आयोजना गरेको ‘कनेक्टिङ नेपाल विथ ग्लोबल डिजिटल इकोनोमी’ विषयक कार्यक्रमलाई आइतबार राति भर्चुअल सम्बोधन गर्दै मन्त्री शर्माले नेपालको विकास प्रक्रियामा सूचना प्रविधिको क्षेत्रमा विशेषज्ञता हासिल गरेका विज्ञहरू तथा व्यवसायीहरुको सहयोगबाट देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन, रोजगारी सिर्जना गर्न यस क्षेत्रमा बजारको मागअनुसार अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय जनशक्ति विकास र आपूर्ति आवश्यक उल्लेख गर्दै नेपालमा यसको लागि अनुकूल वातावरण तयार गर्न सरकार क्रियाशील रहेकाले लगानी तथा सहयोगका लागि आग्रह गरेकी हुन् ।
खास गरी विदेशमा आर्जन गरेको ज्ञान, सिप, सक्षमता र पुँजीको परिचालन गरी अन्य देशहरूले विकासमा फड्को मारिसकेको स्मरण गर्दै उनले नेपालमा भने विद्यमान स्रोत साधनलाई यथोचित परिचालन गर्न नसक्दा पछाडि परिरहेको बताइन् । विश्व अर्थतन्त्रमा नेपालको विद्यमान अवस्थालाई पुनः परिभाषित गर्नका लागि नवप्रवर्तन, अनुसन्धान र विकासमा लगानी गर्न उनले सूचना प्रविधि विज्ञहरू र व्यवसायीहरूलाई आग्रह गरिन् । ‘हामीले सूचना प्रविधि क्षेत्रलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन देशको व्यावसायिक वातावरणमा थप सुधार गर्नुपर्छ । यसका लागि सूचना प्रविधि, दूरसञ्चार, साइबर सुरक्षा र व्यक्तिगत डाटा सुरक्षासँग सम्बन्धित कानुनको संशोधन आवश्यक हुन्छ’ उनले भनिन्, ‘यसका लागि संस्थागत क्षमतामा सुधार र सार्वजनिक र निजी क्षेत्रबीचको संवाद समेत आवश्यक हुन्छ ।’
सरकारले आईटी कम्पनीहरूको लागि नेपाललाई विश्व स्तरको गन्तव्यस्थलको रूपमा चिनाउन यहाँहरूले सूचना प्रविधिको क्षेत्रमा प्रयोगमा आइरहेका नवीनतम विश्वव्यापी असल अभ्यासहरू र सोचलाई नेपालमा कसरी लागु गर्न सकिन्छ र त्यसको लागि विद्यमान कानुन तथा संस्थागत व्यवस्थालाई कसरी पुर्नपरिभाषित गर्न सकिन्छ भन्ने विषयमा यथार्थपरक र लागू गर्न सकिने सुझावको अपेक्षा गरेको पनि मन्त्री शर्माले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण