शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
कोशी प्रदेश नामकरण विवाद

भोलिदेखि निर्णायक गर्ने भनिएको आन्दोलनबाट पछि हटे पहिचानवादी

आइतबार, १० वैशाख २०८०, २० : ५८
आइतबार, १० वैशाख २०८०

विराटनगर । प्रदेश १ को पुनः नामकरणको माग गर्दै आन्दोलनरत पहिचानवादीले भोलिदेखि गर्ने भनेको निर्णायक आन्दोलन स्थगित गरेका छन् । संघर्ष समितिको आज साँझ बसेको बैठकले आन्दोलनको कार्यक्रम थप प्रभावकारी र रणनीति परिवर्तन गर्नुपर्ने कारण देखाउँदै केही समय स्थगित गर्ने निर्णय गरेको हो ।

‘मिति २०८० वैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलनको कार्यक्रम थप प्रभावकारी र रणनीति परिवर्तन गर्नुपर्ने भएकोले केही समय पोष्ट पोन्ड (सार्ने) र पूर्व निर्धारित प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, कोशी नाममा हस्ताक्षर दिने ८२ जना प्रदेशसभा सदस्यहरुलाई कालो झण्डा प्रदर्शन गर्ने सरकारी कार्यालयहरुमा कोशीको बोर्ड, छाप र लेटरप्याड हटाउने, मेटाउने अभियान निरन्तरता दिने,’ बैठकको दोस्रो एजेण्डामा निर्णय गरिएको छ, ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गर्न बाँकी रहेका जिल्ला, पालिका, वडा देखि टोलटोलसम्म गठन गर्ने, कोशी नाम खारेजीका विषयमा प्रशिक्षण र जनता जागरणका लागि केन्द्रीय नेताहरु गाउँगाउँ जाने, कोशी नाम विरुद्धको विरोध कार्यक्रम जिल्ला, पालिका, गाउँगाउँमा गर्ने निर्णय गरियो ।’ 

बैठकले वैशाख ११ गतेदेखि २१ गतेसम्म वडा संयुक्त संघर्ष समिति गठन गरिसक्ने र कोशी नाम खारेजी अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

गत फागुन १७ गते प्रदेशको नाम कोशी नामकरण गरेसँगै पहिचानवादीहरु आन्दोलित छन् । उनीहरुले कतिपय पालिकाका बोर्ड हटाइदिएका छन् भने प्रदेश अन्तर्गतका कार्यालयहरुले पनि अझै कोशी लेखेको बोर्ड राख्न सकेका छैनन् ।

पहिचानवादीहरूले विराटनगरमा चैत ५ गते वृहत् प्रदर्शन गरेका थिए । त्यही आन्दोलनमा सहभागी बेलबारीका पदम लिम्बू लाजेहाङ प्रहरीसँगको झडपमा परी घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो । त्यही चोटका कारण चैत ८ गते एक्कासी बिरामी भएपछि अस्पताल भर्ना भएका उनको चैत १० गते मृत्यु भएको थियो । त्यसपछि पहिचानको आन्दोलन गर्नेहरु झनै आक्रोशित बनिरहेका छन् । आन्दोलनकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढेको गाडी तोडफोड गर्ने प्रयाससमेत गरे ।

यस्तै चैत १४ र १५ गतेका लागि विराटनगरको होटल बिगमा तय भएको कार्यक्रममा पहिचानवादीले घेराउ गरेका थिए । त्यसक्रममा पनि झडप भयो र दर्जनबढी प्रहरी र आन्दोलनकारी घाइते भए । त्यसबेला पनि दर्जनौं अश्रुग्याँस, पानीको फोहोरा र हवाइ फायर भएको थियो । त्यसपछि फाट्ट फुट्ट आन्दोलन गर्दै आएका पहिचानवादीले लिम्बूको शवयात्राका क्रममा ठूलो माससहित उतारेर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

सोही मुताविक वैशाख ९ गते उनीहरुले धरान, इटहरी, विराटनगरमा शवयात्रा गरे । त्यसक्रममा भएको झडपमा पनि १० जनाभन्दा धेरै घाइते भएका छन् भने प्रहरीले ८१ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । सरकारले चैत २४ गते पदम लिम्बूलाई सहिद घोषणा गरेको छ । चैत १० गते मृत्युवरण गरेका उनको शव एक महिनापछि वैशाख ९ मा अन्त्येष्टि गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप