शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा प्रहरी चौकीमा आत्मघाती आक्रमण, १२ प्रहरीको मृत्यु

मङ्गलबार, १२ वैशाख २०८०, ०९ : ५९
मङ्गलबार, १२ वैशाख २०८०

पाकिस्तानको स्वात जिल्लाको कबाल सहरमा रहेको काउन्टर टेररिज्म डिपार्टमेन्टको प्रहरी चौकीमा सोमबार राति आत्मघाती हमला भयो । प्रहरी चौकीमा दुई वटा विस्फोट हुँदा आगलागी भयो । यस आक्रमणमा १२ प्रहरीको मृत्यु भएको छ । जबकि ४० जना घाइते छन् ।

घाइतेलाई उचित उपचार उपलब्ध गराउन नजिकका सबै अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । आक्रमणपछि खैबर पख्तुनख्वामा उच्च सतर्कता अपनाइएको छ । विस्फोटबाट प्रहरी चौकीको छत भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा दबिएको घटनास्थलमा उपस्थित मानिसहरूले बताएका छन् ।

विस्फोटमा तीन वटा भवन ध्वस्त 

जिल्ला प्रहरी अधिकारी स्वात शफिउल्लाहले यसलाई आतङ्कवादी हमला भनेका छन् ।  विस्फोटका कारण तीन वटा भवन भत्किएको उनले बताए । विस्फोट लगत्तै प्रहरी चौकीमा आगलागी भयो । जसमा प्रहरीको जलेर मृत्यु भएको छ । पाकिस्तानी सेनाले केही दिनदेखि उक्त क्षेत्रमा आतङ्कवादी विरुद्ध कारबाही गरिरहेको छ ।

यद्यपि अर्का अधिकारी डिआइजी खालिद सोहेलले प्रहरी चौकीमा आत्मघाती हमला नभएको बताए । उनका अनुसार विस्फोट स्टेसनको स्टोर रुममा राखिएको हतियार र बारुदयुक्त स्थानमा भयो । यस्तो कसैको लापरवाहीका कारण भएको हुनसक्ने उनलाई शङ्का छ ।

डनको रिपोर्ट अनुसार एक प्रहरी अधिकारी इमदादले प्रारम्भिक जानकारीले प्रहरी चौकी क्याम्पसमा राति ८ः२० मा विस्फोट भएको बताएका छन् । क्याम्पसमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सिटिडी) को कार्यालय र एक मस्जिद पनि छ ।

pakistanगृहमन्त्री राणाले आक्रमणको प्रतिवेदन मागे

स्वातको काउन्टर टेररिज्म प्रहरी चौकीमा भएको आक्रमणपछि प्रधानमन्त्री शाहबाज सरिफलगायत देशका शीर्ष नेताहरूले शोक व्यक्त गरेका छन् । गृहमन्त्री राणा सनाउल्लाहले देशको सुरक्षामा आफ्नो ज्यान गुमाउने प्रहरी अधिकारीको योगदानलाई सदैव सम्झने बताए । उनले समग्रमा प्रतिवेदन माग गरेका छन् ।

यस्तै, पाकिस्तानी वेबसाइट ‘डन’ को अनुसार, सन् २०२३ को पहिलो ३ महिनामा खैबर पख्तुनख्वामा आतङ्कवादी हमलामा १२५ प्रहरीको मृत्यु भएको छ । जबकि २१२ जना गम्भीर घाइते भएका छन् । आर्थिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको मुलुकमा ९० दिनमा २५ वटा आक्रमण भइसकेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप