आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

दाङमा तीन वर्षमा ६२४ जनाद्वारा आत्महत्या

बुधबार, १३ वैशाख २०८०, १४ : ३०
बुधबार, १३ वैशाख २०८०

दाङ । घटना १– दाङको घोराही उपमहानगरपालिका–५ निवासी १० वर्षीया सम्झना बुढाले आत्महत्या गरिन् । उनले गत चैत ४ गते आफ्नै घरको छानोको बाँसको बलोमा डुुपट्टा (पछ्यौरा)को पासो लगाई आत्महत्या गरेकी थिइन् । त्यति सानै उमेरमा उनले किन आत्महत्या गरिन्, त्यसको कारण के हो ? अझै खुल्न सकेको छैन । यो घटना अझै अनुसन्धानका क्रममा छ । 

घटना २– दाङकै बङ्गलाचुली गाउँपालिका–४, रुमालेकी १४ वर्षीया मञ्जु नेपालीले पनि आत्महत्या गरिन् । २०७९ चैत २७ गते साँझ करिब ६ बजे आफ्नै घरको कोठामा डुुपट्टा घाँटीमा बाँधेर उनले आत्महत्या गरिन् । के कारणले उनले आत्महत्या गरिन्, अझै पत्ता लाग्न सकेको छैन । यो घटना पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

घटना ३– दाङकै घोराही उपमहानगरपालिका, बर्गदुुवा निवासी ६८ वर्षीय प्रेमबहादुर नेपालीले पनि यही वैशाख ४ गते आत्महत्या गरे । घरनजिकै रहेको भलाई सेती सामुदायिक वनमा उनका आफन्तहरूले शव फेला पारे । प्लास्टिककोे डोरीको पासो लगाई रूखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो । प्रहरीको प्रतिवेदनमा उनले पनि आत्महत्या गरेको खुले पनि किन आत्महत्या गरे भन्ने विषय अझै खुल्न सकेको छैन । 

यी प्रतिनिधिमूलक घटना मात्रै हुन् । पछिल्लो समय दाङमा बालबालिकादेखि वृद्धवृद्धासम्मले आत्महत्या गर्ने क्रम बढेको छ । गत तीन वर्षको तथ्याङ्कले पनि सो जानकारी दिन्छ । यो तीन वर्षको अवधिमा दाङमा मात्रै ६२४ जनाले आत्महत्या गरी ज्यान गुमाइसकेका छन् । एउटै जिल्लामा यतिको सङ्ख्यामा आत्महत्या हुनु निकै चिन्ताको विषय बनेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुुसार पछिल्लो तीन वर्षमध्ये आर्थिक वर्ष २०७७/७८ मा १४४ पुरुष र १०१ महिला गरी २४५ जनाले आत्महत्या गरे । 

यस्तै आर्थिक वर्ष २०७८/७९ मा ७७ पुरुष र १४६ महिला गरी २२३ जनाले आत्महत्या गरेका छन् । 

त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा ७० महिला र ८६ पुरुष गरी १५६ जनाले आत्महत्या गरेका छन् । 

यो तीन वर्षको अवधिमा ६२४ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । जसमा ३१७ महिला र ३०७ जना पुरुष रहेका छन् । 

यसरी दिनानुदिन आत्महत्या बढ्नुमा गरिबी, अशिक्षा, सामाजिक चेतना अभावलाई प्रमुख रूपमा लिइएको छ । त्यसैगरी पारिवारिक कलह, मानसिक तनावका कारण पनि धेरैले आत्महत्या गरेको बताइन्छ । तर आत्महत्या रोकथामका लागि कुनै प्रयास भएको पाइँदैन । यसर्थ आत्महत्या रोक्न सामाजिक उपचारको पाटो भने निकै कमजोर देखिएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता राजन गौतम भन्छन्, ‘आत्महत्याका घटना रोकथामका लागि प्रभावकारी सामाजिक सचेतना अभिवृद्धि हुन सकेको छैन ।’ यही कारण आत्महत्याका घटना वृद्धि हुँदै गएको उनको ठहर छ । सामाजिक अपराधका रूपमा मौलाउँदै गइरहेको आत्महत्यालाई निरुत्साहित गर्ने कार्यक्रम चाँडोभन्दा चाँडो ल्याउनुपर्ने उनको भनाइ छ । 

किन बढिरहेको छ आत्महत्या ?

हरेक दिन आत्महत्या दर बढ्दै जानु आम मानिसको चिन्ताको विषय बनेको छ । आत्महत्याका कारण पारिवारिक विखण्डन हुने, बालबच्चादेखि परिवारका अन्य सदस्यहरू कुलत, दुर्व्यसनीमा फस्ने र उक्त कुलत तथा दुुव्र्यसनीले सामाजिक अपराध निम्त्याउनेसम्मका घटना देखा पर्न थालेका छन् । गौतमले भने– ‘आत्महत्याका कारण बालबच्चादेखि श्रीमान् होस् या श्रीमती कुलतमा फस्ने गरेका छन् । जसले अर्को सामाजिक अपराध निम्त्याउने गरेको छ ।’ जसका कारण आत्महत्या रोकथाम र यससम्बन्धी सामाजिक सचेतनाको विकास गर्न अति आवश्यक छ । 

किन गर्छन् आत्महत्या ? 

सामान्यता: गरिबी, अशिक्षा, पारिवारिक कलह, मानसिक तनाव र रोग, आत्मग्लानि, प्रेम सम्बन्ध, असफलता, निराशा र एक्लोपनका कारण नै आत्महत्या गरेको पाइन्छ । कतिपय घटनामा भने यी कारणहरू पनि देखा पर्दैनन् । 

पछिल्लो समय दाङमा बढ्दै गइरहेको आत्महत्याको कारण के हो ? पत्ता  लगाउन निकै कठिन बनेको छ । व्यक्तिलाई आइपरेका हरेक समस्याको समाधानको उपाय नहुँदा र व्यक्तिमा सकारात्मक सोचको विकास हुन नसक्दा आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर वलीले बताए । आत्महत्या आफैँमा एक अपराध हो तर आत्महत्याले अर्को अपराधको जन्म दिइरहेको उनको भनाइ छ । उनले भने– ‘आत्महत्याको मुख्य कारण सामाजिक चेतनाको अभाव नै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप