आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपनिर्वाचनको नतिजाले राजेन्द्र लिङ्देनलाई ‘प्रेसर’

सरकारमा जाँदा गल्ती भएको निष्कर्ष, कार्यकर्ताको निशानामा नेतृत्व
बुधबार, १३ वैशाख २०८०, १४ : ५२
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । आइतबार सम्पन्न उपनिर्वाचनमा राप्रपाका तीन उम्मेदवारले जम्मा ७१२ मत पाए । बारा–२ मा ११९, चितवन–२ मा ३७५ र तनहुँ १ मा २१८ मत पाउँदा राप्रपाका उम्मेदवारको जमानत जफत त भयो नै उपनिर्वाचनको परिणामले पार्टीमा असन्तुष्टि चुलिन पुगेको छ ।

संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डालाई सशक्त बनाउँदै पार्टी बनाउने उद्देश्यका साथ राजेन्द्र लिङ्देन गत महाधिवेशनबाट पार्टीको नेतृत्वमा आएका थिए । लिङ्देन नेतृत्वमा आएसँगै पार्टी बन्ने आशा गरिए पनि पछिल्लो निर्वाचनको नतिजाले सो आशा निराशामा परिणत भएको पार्टीका कतिपय नेता कार्यकर्ताको भनाइ छ ।

नतिजालाई नै लिएर पार्टीका जिम्मेवार नेताहरूले नै नेतृत्वमाथि प्रश्न गर्न थालेका छन् । उनीहरूले पार्टी नेतृत्वले एजेन्डालाई प्रभावकारी ढङ्गले अघि नबढाएको तथा आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा सत्ताको खेलमा लागेको मुख्य आरोप लगाएका छन् । जसका कारण पार्टीमा जनताको आकर्षण बढ्न नसकेको उनीहरूको भनाइ छ ।

पार्टीमा पर्याप्त छलफल नगर्ने र नेताहरूको जिम्मेवारी समेत स्पष्ट नगर्दा समेत राप्रपालाई आशातीत गति दिन नसकेको उनीहरूको भनाइ छ । नेतृत्वको यस्तै कमजोरीले जनतामा आशा जगाउन नसकेको र त्यसको असर उपनिर्वाचनसम्म आइपुग्दा प्रस्ट देखिएको उनीहरूले बताएका छन् ।

rajendra lingden

राप्रपाका केन्द्रीय सदस्य निरञ्जन थापाले पार्टी सरकारमा गएपछि भएको निर्वाचनले अनेक प्रश्न र सवाल खडा गरेको बताए । नेतृत्वले पार्टीलाई सही मार्ग निर्देशन दिन नसकेको दाबी गर्दै उनले यही अवस्था भइरहे पार्टी दुर्घटनामा जान सक्नेतर्फ सचेत गराए । ‘पार्टी एजेन्डामा प्रतिबद्ध भएर अघि बढ्नुपर्नेमा त्यसो हुन सकेको छैन’, उनले भने, ‘हामी सरकारमा बस्नुभन्दा ४० दिनमा माइतीघरमा दुई वटा कार्यक्रम गरेको भए जनताको आकर्षण बढ्न सक्थ्यो । तर, ४० दिन हामी सरकारमा बस्दा त कुनै उपलब्धि हुन सकेन । न जनता सन्तुष्ट हुनु भयो न कार्यकर्ता नै ।’ यसको नतिजा चुनावले देखाइसकेकाले अब बस्ने पार्टीको बैठकमा पार्टीलाई सही गति दिनका लागि आफूहरूले दबाब दिने बताए ।

उनले पार्टीको नीति संघीयताको खारेजी भए पनि सोही नीतिविरुद्ध राप्रपा सहभागी भएकाले जनता नै आश्वस्त हुन नसकेको अवस्था समेत रहेको बताए । ‘हामीले जनतालाई नै अलमल्याउने काम गरेको छौँ भने जनतालाई कसरी विश्वासमा दिलाउँछौँ भन्ने मुख्य कुरा हो’, उनले भने ।

नयाँ नेतृत्व परिवर्तन भएपछि मङ्सिर ४ को निर्वाचनबाट पार्टीले संसद्मा पाँचौँ स्थान बनाउन सफल भएको साँचो भए पनि पार्टीलाई थप गति दिन गम्भीर समीक्षाको जरुरी रहेको उनको भनाइ छ । अझ रास्वपाको उदयपछि राप्रपालाई चुनौती थपिएकाले सोहीअनुसार रणनीति बनाएर पार्टी अघि बढ्न ढिलाइ गर्ने नहुनेमा उनले जोड दिए ।

थापाजस्तै राप्रपाका पदाधिकारीदेखि विभिन्न नेता कार्यकर्ताले पार्टीको कमजोर नतिजालाई लिएर प्रश्न उठाइरहेका छन् । जसका कारण अध्यक्ष राजेन्द्र लिङ्देनसामु चुनौती थपिएको छ ।

ss

राप्रपाका प्रवक्ता सगुनसुन्दर लावती वैशाख १० को उपनिर्वाचनले अनेक सन्देश दिएको बताउँछन् । ‘उपनिर्वाचनले हिजो ठुलो, पुरानो र परिवर्तनको संवाहक भन्ने दलहरूको भूमिका र उपस्थितिमा प्रश्न चिह्न उठेको छ । हिजो हामीले जनताले विकल्प खोजेका छन् भनेका थियौँ, जुन अहिले पनि देखिएको छ’, उनले भने । राप्रपाको सवालमा वैशाख १० मा सम्पन्न भएको उपनिर्वाचनलाई नै आधारमा बनाएर सबै विश्लेषण भने गरिन नहुने उनको भनाइ छ । ‘जहाँ उपनिर्वाचन भयो त्यो क्षेत्र उच्चतम बिन्दु वा सम्भावना भएको क्षेत्र होइन । तर, हिजोभन्दा सुधार हुनुपर्नेमा खस्केको भने हो’, उनले, ‘त्यसमा प्रभावकारी परिचालन भएन कि ? समग्र विषयमा पार्टीमा समीक्षा होला नै ।’

तर, उपनिर्वाचनको नतिजाले जनता विकल्पको खोजीमा रहेको प्रस्ट देखाएकाले पार्टीले सोही अनुसार रणनीति बनाएर अघि बढ्नुपर्ने उनको जोड छ । ‘राप्रपाले काम गर्दा जनतामा भिज्ने हो भने पार्टी सशक्त भएर जाने सम्भावनाका ढोकाहरू खुलै छन्’, उनले भने ।

उनले पार्टीमा उठेका कतिपय विषयहरूलाई मिहिन रूपमा विश्लेषण गर्दै केन्द्रीय समितिले नयाँ बाटो तय गर्नुपर्नेमा जोड दिए । ‘सबै कुरा नराम्रो भएको होइन । तर, सबै कुरा ठीक नै भएको पनि होइन । त्यसकारण यही उपनिर्वाचनको सन्दर्भ, सरकारमा सहभागी भएको सन्दर्भ, मङ्सिर ४ को नतिजा, पार्टीको आन्तरिक परिचालन, जिम्मेवारीको अवस्थालाई विश्लेषण गरेर त्यसबाट पाठ सिकेर अगाडि जाँदा पार्टीको अझै पनि सम्भावना छ ।’

राप्रपाका महामन्त्री भन्छन्– सरकारमा जाँदा गल्ती भयो

राप्रपाका महामन्त्री डा धवलशमशेर राणा पार्टी सरकारमा जानु गल्ती भएको बताउँछन् । ‘जनताले हामी सरकारमा गएको मन पराएनन्, त्यो पनि प्रचण्डको नेतृत्वमा, त्यो यथार्थ हो’, उनले भने, ‘हामीतिरबाट कमीकमजोरी भएका छन्, त्यसमा दुई मत छैन । तर अब हामी सुधारेर अगाडि जान्छौँ ।’

उपनिर्वाचनलाई पार्टीले सबकको रूपमा लिनुपर्ने उल्लेख गर्दै राणाले अब पार्टीलाई सुधार गरेर अघि बढ्ने योजना रहेको बताए । ‘अब पार्टीलाई पूर्ण नवीकरण गरेर अघि बढ्ने हाम्रो योजना छ । यो निर्वाचनले पनि हाम्रो आँखा खोलेको छ’, उनले भने, ‘कहिलेकाहीँ नतिजामा तलमाथि हुन्छ ।’ उनले अहिलेको लहरको बेलामा उम्मेदवार चयनलगायतमा कमजोरी भएको स्वीकारे । ‘उम्मेदवार नै सोचेर गर्नुपर्ने थियो । यसमा अलिकति मिस क्याल्क्युलेशन भएकै हो’, उनले भने, ‘यसो भन्दैमा पार्टी अप्ठ्यारोमा त पर्‍यो तर हामी अगाडि बढ्ने नै हो ।’

उपनिर्वाचनलाई लिएर पार्टीभित्रबाट नेतृत्वमाथि प्रश्न उठाउन थालियो नि भन्ने प्रश्नमा उनले भने, ‘त्यसमा त मैले के भनौँ तर यो उपनिर्वाचनले हाम्रो आँखा खुलायो ।’ उनले अब पार्टी जनतालाई जोड्ने गरी आन्दोलनको तयारीमा लाग्ने बताए ।

राप्रपाका प्रचार विभाग प्रमुख भन्छन्– राप्रपाले बनाएको ग्राउन्डमा रविहरू जन्मिए

राप्रपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठ उपनिर्वाचनको परिणामले संसदीय गणितमा कुनै तात्त्विक फरक नपर्ने भएकाले पार्टीले प्राथमिकता नै नदिएको बताउँछन् । ‘पार्टीको उम्मेदवारलाई अन्डरइस्टमेट त गर्नु भएन तर हामीले जसरी उपनिर्वाचनको अभियानलाई प्रचारात्मक बनाउनुपथ्र्यो हामीले त्यसो गरेनौँ’, उनले भने, ‘सामान्य ढङ्गले आफ्नो उपस्थिति जनाउने काम मात्रै भयो ।’

घण्टीको प्रभावका बीच चितवन र तनहुँमा पार्टीको भोट कम आएको स्वीकार्दै उनले कांग्रेस र एमालेजस्ता दलले समेत आफ्नो भोट जोगाउन नसकेको अवस्थामा राप्रपामा पनि त्यही नियति देखिएको बताए । उनले अब भने पार्टीले साङ्गठनिक योजना बनाएरै योजना बढ्ने र आगामी वैशाख ३० गते बस्ने केन्द्रीय समिति बैठकले ठोस निर्णय गरेर अघि बढ्ने बताए ।

 

उनले राप्रपा सफा र सकारात्मक उद्देश्यका साथ सरकारमा सहभागी भएको जिकिर गर्दै त्यही कुरालाई जोडेर प्रचार गरिएको प्रति आपत्ति जनाए । ‘हामी सफा नियत र सकारात्मक उद्देश्यका साथ सरकारमा गएका थियौँ । तर, हामीले आम जनता र पार्टीका साथीहरूलाई पनि प्रस्ट पार्न सकेनौँ’, उनले भने, ‘जुनसुकै सरकारमा पनि हामफाल्ने पक्षमा पार्टी छैन । हामी सरकारमा सहभागी भएको एउटा उद्देश्य प्राप्तिका लागि नै हो । विशेष गरी विदेशी प्रभावमुक्त गठबन्धनका लागि हामी सरकारमा गएको हो । तर, गठबन्धन टिकेन र प्रचण्डले बाटो नै मोडेपछि हामी पनि सरकारबाट फिर्ता भएका हौँ ।’

mohan shrestha

उनले सरकारमा सहभागिता विगतको प्रवृत्तिको निरन्तरता नभएर नयाँ प्रयोग भएको पनि बताए । तर, यसबारे जनता र पार्टीका कार्यकर्तालाई बुझाउन नसक्नु कमजोरी भएको तर्क गरे । त्यसको प्रभाव उपनिर्वाचनमा आंशिक रूपमा भने परेको उनको भनाइ छ ।

तर, नेतृत्व परिवर्तनको अभ्यास आफ्नो पार्टीले गरेपछि त्यसको लहर बाहिरसम्म पुगेको उनले बताए । ‘राप्रपाको महाधिवेशनले दिएको सन्देशकै आधारमा स्थानीय चुनावमा हर्क र बालेनहरुको उदय भयो । आम निर्वाचनसम्म आइपुग्दा रवि लामिछानेहरूको उदय भयो । त्यो राप्रपा महाधिवेशनले नै बनाइदिएको ग्राउन्ड हो । उपनिर्वाचनसम्म आइपुग्दा त्यो चिजले अझै निरन्तरता पाइरहेको छ’, उनले भने।

पार्टीले नयाँ नेतृत्व पाएपछि मात्रै राप्रपा बनाउने अवसर मिलेको उल्लेख गर्दै श्रेष्ठले यहीबीचमा निर्वाचनबाट राप्रपा पाँचौँ शक्तिका रूपमा स्थापित बनेको बताए । अझै पार्टी बनाउन चुनौती रहेको उल्लेख गर्दै श्रेष्ठले संगठनलाई पुनर्संरचना गरेर अगाडि बढ्ने र त्यसका लागि ग्राउन्ड प्रशस्त रहेको बताए । ‘एजेन्डा क्लियर छ । सैद्धान्तिक वैचारिक पक्ष सबल छ । हाम्रो एजेन्डा, नेतृत्वको सुशासनप्रतिको दृष्टिकोण क्लियर छ । त्यसकारण हामी देशभरका साङ्गठनिक संरचनालाई पुनर्ताजगी गरेर गरेर योजना बनाउँदै अघि बढ्छौँ’, उनले भने ।

पार्टीमा स्वाभाविक रूपमा सन्तुष्टि–असन्तुष्टिहरू हुने भन्दै श्रेष्ठले त्यसबारे छलफल गरेर अघि बढिने पनि बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप