आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बालनिबन्ध : सङ्गतिको चमत्कार

बुधबार, २० वैशाख २०८०, १२ : ३२
बुधबार, २० वैशाख २०८०

सङ्गतिमा ठुलो तागत छ । संसार बनाएको पनि यसैले हो, चलाएको पनि यसैले हो । सङ्गति नमिल्दासम्म हरेक चीज छरिएर रहेको हुन्छ । केही पनि बन्दैन, केही पनि हुँदैन । ऊ छरिएको थियो छरिएकै अवस्थामा रहन्छ तर जब सङ्गति मिल्छ तब उसले मूर्तरूप पाउँछ र आश्चर्यजनक परिणाम निस्कने गर्छ । उदाहरणका लागि संसारका गतिविधिलाई नै लिन सक्नुहुन्छ ।  

संसार आफैँमा नृत्यमय छ । हरेक चीज नृत्य गरिरहेका हुन्छन् । रुख, बिरुवा, हावा, पानी माटो, पशु, पक्षी, कीट पतङ, पृथ्वी, सूर्य, चन्द्र, तारा, ग्रह, नक्षत्र सबै रातदिन नृत्य गरिरहेका छन् । बालकको रुवाइमा नृत्य छ, युवाको सुरिलो स्वरमा नृत्य छ, वृद्धको धोत्रो स्वर धरमराउँदो ओठमा नृत्य छ । बोलीमा नृत्य छ । गालीमा नृत्य छ, तालीमा नृत्य छ । हिँडाइमा नृत्य छ, खुवाइमा नृत्य छ, हेराइमा नृत्य छ, बोलाइमा नृत्य छ, लवाइमा नृत्य छ, सुताइमा नृत्य छ, उठाइमा नृत्य छ । 

कहाँ छैन नृत्य ? सर्वत्र छ । संसार आफैँ त्यस्तो रङ्गमञ्च हो, जहाँ हमेसा नृत्य भइरहेको हुन्छ तर सङ्गति मिल्दासम्म ती सबै सुन्दर लागिरहेका हुन्छन् । सङ्गति बिग्रनासाथ खोक्रो, निरस र बोझिलो बन्न पुग्छन् । 

मानौँ तपाईँ कुशल नर्तक वा नर्तकी हुनुहुन्छ । नाच्नका लागि रङ्गमञ्चमा उत्रनुभएको छ । पहिले सङ्गीत सुरु भो, गीत पनि सुरु भो । बिस्तारै तिनकै ताल र सुरमा तपाईँका गोडा, चल्न लागे, हात चल्न लागे, हात र गोडाका औँला चले, नितम्ब चले, वक्षस्थल चले, अङ्ग प्रत्यङ्ग चल्न थाले । चल्दाचल्दै कुन सड्को तपाईँ समाधिमा पुग्नुभयो पत्तै पाउनुभएन । यद्यपि तपाईँको शरीर रङ्गमञ्चमै थियो तर तपाईँ भने नृत्यमा यति बढी लीन हुनुहुन्छ कि अगाडि पछाडि कसैलाई देख्नुहुन्न । 

दर्शक श्रोताको अवस्था पनि त्यस्तै हो । उनीहरूका ध्यान तपाईँका अङ्गप्रत्यङ्ग बाहेक कतै गएको हुँदैन । आफैँलाई समेत बिर्सेर तपाईँ र तपाईँका क्रियाकलापमा समर्पित भइरहेका हुन्छन् । जब तपाईँमा समाधि चढ्यो तब दर्शक श्रोतामा पनि समाधि चढ्यो । समय कति चाँडो सकियो पत्तै भएन तर जसको नृत्यमा ताल र सुर मिलेको छैन उसको नृत्य भने एकै छिन पनि हेर्न सक्नुहुन्न । एकै छिन हेर्नासाथ कि हाइ आउला, कि अल्छी । सके उठेर हिँडी नै दिनुहोला ।  त्यस्तो किन ? किनकि त्यहाँ सङ्गति मिलेको थिएन, सुर र ताल मिलेको थिएन ।  

बोलीवचनको अवस्था पनि त्यस्तै हो । मानिलिनुस तपाईँका अगाडि कुनै कुशल वक्ता छन्, भाषण गर्दैछन्, कथा भन्दै छन् । जसको बोलीमा सङ्गति मिलेको हुन्छ उसले बोलेको सुनौँसुनौँ लाग्छ । सुन्दासुन्दै प्रसङ्ग अनुसार कहिले रुनुहुन्छ, कहिले हाँस्न थाल्नुहुन्छ । रौँ ठाडा हुन थाल्छन्, शरीरमा एक किसिमको मीठो तरङ्ग पैदा हुन सक्छ तर जसको बोलीमा सङ्गति मिलेको छैन उसको बोलीले न तपाईँलाई तान्न सक्छ न तानिएकालाई अड्याउन सक्छ । एकै छिन सुन्ने बित्तिकै यति बढी पट्यार लाग्छ कि आज कुन दशा बिग्रेर आइएछ भन्न थाल्नुहुन्छ ।  

लेखाइको अवस्था पनि त्यस्तै हो तर यसभन्दा अघि अक्षरबारे प्रस्ट हुनुपर्ने देखिन्छ । लेख–निबन्ध, कथा, कविता, उपन्यास सबै अक्षरका खेल हुन् । एउटै अक्षर लेखकको भावना अनुसार अनेक स्वरूपमा परिणत हुने हुन् । हो, रूपमा अक्षर एउटै हो तर सारमा होइन । व्यक्त नभएसम्म एउटै हुन्छ । जब व्यक्त हुन्छ तब कर्ताको भावना अनुसार अनेक भइरहेको हुन्छ । 

प्रकृतिमा एउटा धुन छ, जसलाई अनाहत नाद भनिन्छ । यसको रूप, रङ्ग, स्वरूप, आकृति केही छैन । न आदि छ, न अन्त्य । जसरी बजायो त्यसैगरी बज्ने, जसरी तान्यो त्यसैगरी तानिने र जसरी देखाउन खोज्यो त्यसैगरी देखिने यसको विशेषता हो । 

यसैभित्र तमाम भाषा छन्, संस्कार छन्, संस्कृति छन्, अक्षर छन् । अक्षरको अर्थ अविनाशी हो, अविनाशी भनेको कहिल्यै ननासिने तत्व हो । विश्वका तमाम अक्षर, जसलाई हामी लिपि भन्छौँ यसैभित्र अटेका छन् । सुरुमा यो धुन मात्र थियो, विशुद्ध धुन अनाहत नादको धुन । यसलाई मानिसले आकृति दिएका थिएनन्, दिन जानेकै थिएनन् । बिस्तारै आकृति दिन थाले । आ–आफ्नो भाषा अनुसार आकृति वा स्वरूपमा ढाल्दै गए । यही धुन सङ्गीतको आकाशमा सात स्वर बनेर उदाए । अक्षरको दुनियाँमा कतै २६, कतै ३६, कतै ४०।४२ कतै सय र कतै हजारौँसम्म हुन पुगे । 

कर्ताको इच्छाको कुरा हो, जसरी ताने पनि हुन्छ, जसरी खिचे पनि हुन्छ तर ऊ आफैँ भने एउटै छ, अविनाशी छ र अनाहत नादको अवस्थामा छ । 

आहत नहुँदासम्म यसको स्वरूप एउटै हुन्छ तर आहत हुनासाथ भाँडोको स्वरूप, आकृति र अवस्थाले जसरी माग्छ त्यस्तै किसिमको सुर र ताल  र आकृतिमा प्रकट भइदिन्छ । संसारमा जति पनि पुस्तक, पत्रपत्रिका, धर्मग्रन्थहरू छन् सबै अक्षरकै खेल हुन् । प्रकट नहुँदासम्म धुनको स्वरूप एउटै हुन्छ । प्रकट हुनासाथ जसले जस्तो चाहेको हो उसैको इष्ट बनेर प्रस्तुत हुन पुगिरहेका हुन्छन् तर जहाँ यिनको सङ्गति मिलेको हुन्छ त्यहाँका शब्द मिलेर बसेका हुन्छन्, अक्षर मिलेका बसेका हुन्छन्, कथा लेख निबन्ध राम्रा लाग्छन्, पढ्दा रोमाञ्च हुन्छ, आँसु आउँछ, हाँसो उठ्छ जहाँ सङ्गति मिलेको छैन त्यहाँको अवस्था त्यस्तै हुन्छ । 

संसारको स्रोत अनाहद नाद हो । त्यसैबाट उसको उत्पत्ति हुन्छ । धर्मग्रन्थ, काव्य, महाकाव्य बनेका छन्, सारा दर्शन शास्त्रका ठेली यसैबाट निसृत हुन्छन् । बोलाइमा यही छ, हँसाइमा यही छ, रुवाइमा यही छ, हिँडाइमा यही छ, बसाइमा यही छ, सुताइमा यही छ, घुरामा यही छ, खुवाइमा यही छ । सर्वत्र अनाहत नाद छ, सर्वत्र अक्षर नै नाचिरहेको हुन्छ तर जबसम्म तिनमा सङ्गति मिल्दैन तबसम्म न कविता बन्छ, न काव्य बन्छ, न कथा बन्छ, न नाटक नै बन्छ । समग्र संसार त्यसैको वरिपरि घुमेर पनि कुनै अर्थ निस्कन्न तर जब सङ्गति मिल्छ तब यति गहन हुन्छ कि सबै त्यसैको पछि लाग्न थाल्छन् । न मिल्दासम्म समस्या, मिल्नासाथ समाधान, कस्तो चमत्कार । यही हो प्रकृतिको गुण, अनि यही हो सङ्गतिको चमत्कार ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप