बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली शरणार्थी प्रकरण

सक्कली शरणार्थी तड्पिरहँदा नक्कली शरणार्थी बन्ने र बनाउनेको होड

नक्कली शरणार्थी बनाउन उद्यत राज्य संयन्त्रले सक्कलीको दर्तै गरिदिएन
शुक्रबार, २२ वैशाख २०८०, १३ : ५०
शुक्रबार, २२ वैशाख २०८०

विराटनगर । झापाको बेलडाँडी र मोरङको शनिश्चरेमा बसेका भुटानी शरणार्थीको संख्या अहिले पनि साढे ६ हजारको हाराहारीमा छ । त्यसमध्ये ४२९ जनाले शरणार्थीको रुपमा दर्ता गरिपाउँ भनेर निवेदन दिएको वर्षौं भइसक्यो । उनीहरुलाई दर्ता गर्न नेपाल सरकारले चासो दिएको छैन । तर, नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन भने सिङ्गो गृहप्रशासन र राजनीतिक नेतृत्व लागेको कुराले देशमा नयाँ तरङ्ग पैदा गरिरहेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली धन्दाको पर्दाफास भएसँगै यस प्रकरणमा प्रहरीले आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको छ । अनुसन्धानका क्रममा पूर्व उपप्रधानमन्त्रीदेखि गृहसचिवहरुसम्मको संलग्नताले देशमा मानव तस्करीको जालो कहाँसम्म छ भन्ने छर्लङ्ग पारेको छ ।

भुटानी शरणार्थीहरु भन्छन्, ‘शरणार्थी जीवन भनेको संसारको सबैभन्दा तल्लो दर्जाको नागरिक हो, अबको सात जुनी शरणार्थी हुनु नपरोस् ।’ तर, कतिपय नेपाली नागरिक धनसम्पत्ति कमाउने प्रलोभनमा परी शरणार्थी बन्ने र बनाउने धन्दामा लागेको कुरा सार्वजनिक हुँदा वास्तविक शरणार्थी भने दुःख व्यक्त गर्छन् ।

‘अहिले आएको कुरा हामीले पनि पत्रपत्रिकामा सुनेका छौं । यो दुःखद् छ,’ झापा बेलडाँगी शिविरका उपसचिव टेकबहादुर राई भन्छन्, ‘अबको सात जुनीसम्म पनि शरणार्थी भएर जन्मिनु नपरोस् ।’

2 akla dipak giri aafno ghar ma (1)

शरणार्थीहरु स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गरिरहेका छन् । कतिपयले अमेरिका जाने ‘अफर’ त्यागेर पनि बसेका छन् । तर, यहाँका नेपालीहरु शरणार्थी बनेरै भए पनि अमेरिका जाने हतारमा छन् । जसका लागि लाखौं रकम राज्य संयन्त्रलाई अवैध तरिकाले दिएर, प्रलोभन दिएर कागजपत्र बनाउने ध्याउन्नमा छन् । ‘हाम्रो समस्याको समाधान भएको छैन । तर, स्वदेशी नागरिकलाई नै शरणार्थी बनाउँछ भने त्यो हामी जान्दैनौं,’ मोरङको शनिश्चरे शरणार्थी शिविरका सचिव चम्पासिंह राई भन्छन्, ‘अहिले पनि मोरङ र झापामा गरेर हामी साढे ६ हजार छौं । परिवारबाट छुटेको र पहिलो फोटो खिचेर नलिएका व्यक्तिहरु गरेर अझै ४२९ जना मानिस शरणार्थीको दर्ता प्रक्रियामै छन् ।’

उनीहरु अहिले पनि शिविरभित्रै बसिरहेको राईले बताए । दर्ता प्रक्रियामै रहँदा रहँदै कतिपय शरणार्थीले मृत्युवरण गरिसकेको उनी सुनाउँछन् । ‘कतिपय मानिसहरु शरणार्थीको लगबुकमा रेकर्ड राखिपाउँ भनेर कुर्दाकुर्दै मरिसके,’ उनले भने ।

Champasing Rai (1)

कतिपय शरणार्थीको दर्ता प्रक्रियामै रहेको र दर्ता हुने आशा रहिरहँदा नेपालीलाई नै शरणार्थी बनाउने कुराले पो आफूहरुको प्रक्रिया रोकिएको हो कि जस्तो लागेको उनले बताए । ‘हामी सक्कली भुटानी शरणार्थी तड्पिरहेका छौं,’ उनले भने, ‘रेकर्डमा रहेको र दर्ता नभएका भुटानीहरुलाई पनि दर्ता गरोस् । तर, राज्य नै लागेर नेपाली नागरिकलाई शरणार्थी बनाएको कुरा आएको छ । त्यस विषयमा त हामी के भन्न सक्छौं र ।’

विदेश जाने प्रक्रियामा रहेका भुटानीलाई नेपाल सरकारले छिटोभन्दा छिटो प्रक्रिया पूरा गरेर जाने व्यवस्था मिलाइदिनुपर्ने उनी बताउँछन् । कतिपयको चाहना नेपालमै बस्ने पनि छ । ‘नेपाल सरकारले ३० औं ३२ औं वर्षदेखि राखिराखेको छ । अब अरु राष्ट्रले राखेजस्तै गरिदिनु प¥यो । बाहिर जानेका लागि त्यही हिसाबले पहल गरिदिनु प¥यो । नेपालमै बस्न चाहनेका लागि पनि त्यही हिसाबले व्यवस्थापन गरोस् भन्ने कुरा राख्न चाहन्छु,’ उनले भने ।

3 saranarthi sibir (1)

अहिले पनि शरणार्थी शिविरमा अमेरिका जाने, स्वदेश फर्किने र नेपालमै बस्नेहरु फरकफरक लबिङमा छन् । ‘हामीले तीन पक्षको विचार बोकेका छौं । एउटा पक्ष स्वदेशमै फर्किन पाउनु पर्छ भन्ने छ । अर्को पक्ष भनेको नेपालमा भाषा, धर्म संस्कृति मिलेको छ, यत्रो समय यहाँ बसिसक्यौँ, अब यही बसौं भन्ने छ । अर्को भनेको सबै आफन्त अमेरिकाले लगिसक्यो, अब हामी पनि जानुपर्छ भन्नेहरु छन्,’ झापा बेलडाँगी शिविरका टेकबहादुर भन्छन् ।

आफूहरुसँग भुटानबाट आएदेखिको डकुमेन्ट रहेकाले अहिले नक्कली डकुमेन्ट बनाएको विषयले आफूहरुलाई कुनै असर गर्छजस्तो नलागेको उनले बताए । उनले भने, ‘तर, संसारमा मानिसहरु सबैभन्दा तल्लो स्तरको भनेको शरणार्थी हो । आउने सात जुनी शरणार्थी हुनु नपरोस् ।’

उनले आफ्नो इच्छा पनि भुटानमै फर्किन पाउँ भन्ने रहेको सुनाए । ‘म एउटा भुटानी नागरिक भएकाले स्वदेश नै फर्किन पाउँ भन्ने इच्छा छ । सरकार र संसदले त्यो पहल गरिदिन्छ कि भन्ने आशा छ,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप