शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच लघुकथा

शनिबार, २३ वैशाख २०८०, १६ : १५
शनिबार, २३ वैशाख २०८०

१. ठूलो माछा 

एकमहिना अघि ।

“यो निकम्मा सरकार हो । ठूला माछा समात्दैन । खालि भुरालाई समातेर ठूलालाई जोगाउँछ ।” विपक्षी पार्टीका सांसदले सदनमा भ्रष्टलाई कारवाही गर्ने विषयमा दरो भाषण दिए ।

हुन पनि अख्तियार अनुसन्धान आयोगका सिपाहीहरु ठाउँ ठाउँका खरदार, सुब्बा, सिपाही र असई समातिराखेका थिए । कुनै ५ हजार घुस लिएको आरोपमा कुनैले २० हजार, कुनैले ५० हजार घुस लिएको घटनामा ।

साँच्चै करोड करोड खाने, पचाउनेहरु चोखै थिए । न उनीहरु गिरफ्तारीमा पर्छन् । न कारवाही हुन्छ ।

एक महिनापछि ।

“यो सरकार निकम्मा पक्षपाती सरकार हो । हाम्रो पार्टीका निर्दोष उपाध्यक्षलाई यसले भ्रष्ट्राचारी करार गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनलाई मुद्दा लाउन पाइँदैन ! पाइँदैन !”

विपक्षी अन्य सांसद चर्को स्वरमा सदनमा नारा उरालिरहेछन् । पूर्व उपप्रधानमन्त्री तथा आवास मन्त्रीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारी विक्री बट्टा गरेको आरोपमा नौ करोडको बिगो राखी अख्तियारले मुद्दा दायर गरेको छ । यसैमा सरकारको तीव्र विरोध भैराखेको छ ।

टिभी हेर्दै गरेको रामेको बाबु अलमलमा छ । हिजो यही सांसद ठूलो माछा सरकारले नसमातेकोमा विरोध गथ्र्याे । आज ठूलो माछा समात्दा पुनः विरोध गर्छ । उसले मनमनै लख काट्यो– सायद ठूलो माछा अर्को पार्टीको भए, यो मान्छेले अवस्यै समर्थन गथ्र्याे होला !

२. गिद्धबाबा

तीन घण्टादेखि तम्मासको नारावाजी चलिरहेको छ । जिल्ला प्रहरी कार्यालयको गेटै अगाडि दुई थरिको बीचमा जुहारी भैरहेको छ । दाँयातिर सिद्धबाबाका भक्तभक्तिनी छन् भने बाँयातर्फ बलात्कारको शिकार भएकी महिलाका पक्षधर मानिसहरु छन् ।

दायाँ पक्ष भन्छ– “सिद्धबाबा निर्दोष छन् ! निर्दोष छन् !!”

बायाँ पक्ष भन्छ– “सिद्धबाबा गिद्ध हो ! ढोँगी बाबा चाहिँदैन !! चाहिँदैन !!”

दायाँ पक्ष भन्छ– “गिद्ध साधु नथुन ! सिद्धलाई रिहाइ गर !! रिहाइ गर !!”

बायाँ पक्ष भन्छ– “गिद्धलाई फाँसी दे ! पाखण्डीलाई कारवाही गर !! कारवाही गर !!”

दायाँ पक्ष भन्छ– “सिद्ध बाबा राम हुन् ! धर्मको रक्षा गर !! बाबालाई मुक्त गर !!”

बायाँ पक्ष भन्छ– “गिद्ध सिद्ध हराम हो ! बलात्कारीलाई कारवाही गर ! पीडितलाई न्याय दे !”

एक भक्तिनीलाई मध्यरातमा आफ्नै कोठामा दिक्षा दिन बोलाएर जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ बाबालाई । बाबा विरामीको नाटक गरी अस्पताल भर्ना हुन खोजिरहेछन् ।

अधिकारकर्मी र पीडित पक्षधरहरु बलात्कारको शिकार भएकी महिलालाई न्याय दिलाउन ज्यान दिएर डटेका छन् । यता सिद्धका भक्तहरुपनि सिद्धलाई जोगाउन लिट्टी कसेर सडकमा उत्रिएका छन् ।

न्यायालयको ढोका अगाडि, प्रहरी कार्यालयको ढोका अगाडि दिनै दोहोरो नाराबाजी गुन्जायमान छ । 

उता हस्पिटलमा भएको सिद्ध हस्पिटलबाट कसो कसो तानावाना बुनेर जोगमुनि नाकाबाट भारततिर भागेको हल्ला आउँछ । 

नारा घन्काइरहेका अधिकारकर्मी आक्रोशमा आगो फाल्छन् भने भक्त भक्तिनीहरु भने सिद्धको तान्त्रिक चमत्कारदेखि गद्गद् छन् ।

३. काल्चेको बड्डे 

पल्लो टोलका काजी बाले आज भब्य रुपमा आफ्नो नाति रोशनको बर्थ डे मनाएपछि वल्लो टोलको अँइटु सदाको छोरो काल्चेले अघिदेखि नै कल गरिरहेको छ । 

काजी बाको नाति रोशन र अँइटु सदाको छोरा काल्चे एकै दमालीका साथी हुन् । तिनीहरु अहिले छ वर्ष पुगेर सात लागेका मात्र छन् । उनीहरुसँगै खेल्छन् । सँगै बजार बजार दगुर्छन् । पहिले सँगसँगै स्कुलको बालकक्षामा पनि गएका हुन् । 

अहिले चैँ काजीले रोशनलाई बोर्डिङ स्कुलमा भर्ना गरिदिएका छन् । अइँटुको छोरो काल्चे भने सरकारी स्कुलमै हल्लिरहेको छ ।

हिजो काजीको घरमा नातिको जन्म दिवसको उपलक्ष्यमा ठूलो घोर्ले खसी लड्यो । टोलै थर्काएर माइक घन्काइयो । खान आउने मान्छे कति हुन् कति । रोशनलाई टीका लगाइदिएर पैसा, कपडा उपहार दिने मान्छे कति हुन् कति । 

तामझामको यो सारा दृश्य नजिकै बसेर काल्चेले हेरिरह्यो । समवयी उमेरको बालसखा रोशनको वर्थ डेले काल्चेको भित्री हृदयमा आँधीहुरी ल्याइदियो ।

झमक्क साँझ परेपछि आफ्नो झुपडीमा फर्केको काल्चेले आफ्नो बाबा अँइटुलाई भन्यो– “बाबु !! बाबु !! मेरो बड्डे कहिले मनाइदिने ?” 

अँइटु सदाले कुनै जवाफ दिएन । पुनः काल्चेले जोड दियो– “बाबु !! बाबु !! मेरो बड्डेमा पनि गाउँ नै थर्किने गरी माइक बजाउनुपर्छ है । खसी काटेर सबैलाई भोज दिनुपर्छ है बाबु !”

अँइटुले काल्चेको मुखमा एकोहोरो हेरीमात्र रह्यो । समर्थनमा कुनै आवाज निकाल्न सकेन । काल्चे पुनः थप्यो–“...अनि त मेरो बड्डेमा पनि लुगा, खेलौना, पैसा कत्ति हो कति ?” यति भनेर खुशीले उफ्रिन थाल्यो । 

ऊ आफ्नै सुरमा मस्त छ । छोराको निर्दोष मुहारमा नाचेको बालसुलभ रहर देखेर अनि त्यो रहर पुरा नहुने यथार्थ सम्झेर उसले आँखाबाट दुई थोपा आँसु चुहायो ।

अनयास आफ्नो बाबुको आँखामा आँसु गुड्केको देखेपछि काल्चे बोल्यो– “बाबु !! बाबु !! तपाई किन रुनु भएको ? मेरो बड्डे सम्झेर खुशी लाग्दैन ?”

अँइटुले अगेनुको आगो ठोस्तै जवाफ दियो–“दाउरा धेरै धुवायो । धुँवाले आँसु झरेको बाबु ! रोएको होइन...!” 

काल्चे उफ्रिँदा उफ्रिँदै एकैछिनमा थोत्रो बोरामा पुर्लुक्क निदायो ।

४. स्वप्नभंग

शिवराम कट्टर शिवभक्त व्यक्ति हो । उसले भगवान शिवको लकेट, माला र औँठी पहिरेको छ । उसको मुखबाट शिवोऽम !! शिवोेऽम् !! र ॐ नम शिवाय !! जस्ता मन्त्र निस्की राख्छन् । उसलाई चिन्ने जान्नेहरुले शिवोम् बाजे नामकरण गरेका छन् ।

शिवरामको भित्री मनमा एक कार चढ्ने सपना छ । चिठ्ठाबाट या पौरख अपुताली जे जसरी होस्, जीवनमा एकचोटि आफ्नै कारमा शयर गर्ने आकाँक्षाबाट ग्रसित छ । 

एकाविहानै शिव मन्दिरमा गएर जल चढाउँछु । पाँच मिनेट शिवको मूर्ति अगाडि हात जोडेर कार चढाइदेऊ प्रभु ! भन्दै पुकारा गर्छ ।

एकदिन राति अकस्मात सपनामा बूढो गोरुमाथि सवार शिवजी ऊ सामु प्रकट हुन्छन् र रौद्र–मुद्रामा भन्छन्–“मूर्ख बालक !! तँलाई कार चढाउने मेरो हैसियत भए म यो बूढो नन्दीमा चढिराख्थेँ । आफैँ कारमा सवार भैहाल्थे नि । म आफू गोरुमाथि चढेको छु । तँ मनुवालाई म कसरी कार चढाऊँ ?”

उसले भोलेबाबासित विन्ती ग¥यो– “के गरुँ त प्रभु !! म अनाथमाथि हजुरले कृपा नगरे कसले गर्ला ?”

भोलेबाबाले करुणाका नजर उठाउँदै उसलाई भने– “बालक ! धनको देवता त मेरो छोरो लम्बोदर गणेश हो । उसको शरणमा जा । उसले तै तेरो कामना पुरा गरिदिई हाल्छ कि ?” 

सपनाबाट ब्यूँझ्यो ऊ । धर्तीमा छ्याङ्ग उज्यालो छाइसकेको थियो । तयारी भएर मन्दिरतिर कुद्यो ।

उसले सपना सम्झ्यो । अव शिवमन्दिर गएर काम नबन्ने रहेछ । आजबाट गणेश मन्दिर जान्छु । सरासर गणेशको थानमा पुग्यो । जसरी शिवको प्रतिमासामु आफ्नो मनोकामना सुनाउँथ्यो, त्यसै गरी सुनायो ।

धेरै दिनपछि सपनामा गणेश प्रकट भए । यामानको भुँडी भएका गणेश मुसोमाथि सवार भएर ऊ सामु आए । विचारा मुसोले लम्वोदर गणेशलाई सकी नसकी बोकिरहेको थियो । 

ऊ नजिक आएर बञ्चरो उज्याउँदै छोपे– “तेरीमा उल्लू भक्त ! तँलाई थाहा छैन । म कति निरीह छु । म त नाथे मुसोमाथि सवार छु । तँलाई कताबाट कार ल्याएर टक्र्याउनु । कार भेटे त आफैँ पो चढ्थेँ ।”

यति भनेर बञ्चरोले हाँनूला झैँ गरे । उसको सातो पुत्लो उड्यो । ब्यूँझिदा मुटु ढुकढुक भैराखेको थियो । शरीर पसिनाले लथपथ भिजेको थियो ।

५. सेल्फी–मोह

उसको हातमा अत्याधुनिक मोवाइल छ यतिखेर । यो फोन हाता परेपछि सेल्फी खिच्ने मोहले ग्रस्त छ ऊ । कसैले फेसबुक एकाउन्ट खोलिदियो र फेसबुक चलाउन जान्यो । त्यसपछि त उसलाई सेल्फी खिच्न र फोटो पोष्ट गर्न भ्याइ नभ्याइ छ ।

बूढीसित सेल्फी खिच्यो । सालासित सेल्फी खिच्यो । सालीसित सेल्फी खिच्यो । गाउँको वृद्धसित सेल्फी खिच्यो । नौजवान तन्नेरीसित खिच्यो । नौलो साथी कोही भेट्यो कि सेल्फी हानी हाल्छ । अस्ति माथी मेलामा कलाकार माग्ने बूढो र जितु नेपाल आएका थिए, उनीहरुसित पनि सेल्फी खिच्यो । कुन्नी कुन कार्यक्रममा प्रदेश सभासद आएका थिए । उनीसित पनि सेल्फी खिच्यो ।

अहिले त जनावर पशुपंक्षीसित पनि सेल्फी खिच्न थालेको छ । घरमा पालेको कुकुरसित सेल्फी खिच्यो । ढाडे विरालोसित खिच्यो । माले गोरुसित सेल्फी खिच्यो । 

झुप्पे भैँसीसित सेल्फी खिच्यो । गणेश मन्दिर जाँदा गणेशको मूर्तिलाई अँगालो मारेर सेल्फी खिच्यो । कतै बिहे बटुलोमा पुगेको छ भने बेहुला बेहुलीसित टाँसिएर सेल्फी खिच्छ । पुराणमा जाँदा पण्डितसित जोडिएर सेल्फी खिच्छ । 

   हुँदा हुँदा हिजो त छिमेकीको मृत्युमा लाशसित सेल्फी खिचिरहेको थियो । चितामा चढाउँदै गरेको लाशसित सेल्फी खिचेको देखेर मान्छेहरुले  ताज्जुप माने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप