आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
चलचित्र

वैशाखमा सात, जेठमा चार : नेपाली फिल्म रिलिजमा किन मारामार ?

जेठको दोस्रो सातादेखि रिलिजका लागि फिल्म नै छैन
बिहीबार, २८ वैशाख २०८०, ०९ : १५
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । व्यवसायको हिसाबले लामो फड्को मार्न नसके पनि नेपाली फिल्म निर्माण र रिलिज भने पछिल्लो समय उत्साहजनक छ ।

अहिले महिनामै ४ देखि ८ वटासम्म फिल्म रिलिज हुने गर्छ । यो वैशाखमा पनि ‘बिहे पास’, ‘बुलाकी’, ‘जारी’, ‘नाईं नभन्नू ल ६’, ‘कैदीको पत्र’, ‘प्रसाद २’, ‘आई एम ट्वान्टी वान’ गरेर ६ फिल्म रिलिज भइसके । आगामी शुक्रबार (वैशाख २९ मा) ‘हल्कारा’ रिलिज हुँदैछ ।

यसरी वैशाखमा ७ फिल्म रिलिज भएपनि आउँदो जेठमा भने अहिलेसम्मको रिलिज क्यालेन्डरअनुसार ४ फिल्म मात्र आउने देखिएको छ । ती फिल्म हुन् ‘डाकिनी’, ‘ए साथी सुन’, ‘टुल्की’ र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ ।

यी ४ फिल्म जेठको प्रत्येक साता एक एक गरी प्रदर्शनमा आउन लागेको भने होइन । चारमध्ये ‘डाकिनी’ र ‘ए साथी सुन’ जेठको पहिलो साता भिड्दैछन् भने ‘टुल्की’ र ‘हुक्का ः एन एब्सर्ड ड्रिम’ दोस्रो साता एक अर्काेसँग भिड्दैछन् । 

तेस्रो र चौथो साता भने अहिलेसम्म कुनै फिल्म छैन । फिल्म ‘गणपति’ पनि केही अगाडिसम्म जेठ ५ मा आउने भनिएको थियो । अहिले भने फिल्म सरेको छ । तर निर्माण युनिट जेठमा नै फिल्म रिलिज गर्ने कसरतमा भने छ ।

कस्ता छन् फिल्म ?

नेपाली फिल्मका दर्शक हरेक समय स्टारले भरिएका, निर्माण समयदेखि नै चर्चा र अर्ग्यानिक कथाले बनेका फिल्म हेर्न रुचाउँछन् । गत वर्षका हिट फिल्म ‘कबड्डी ४’, ‘ए मेरो हजुर ४’, ‘झिङ्गे दाउ’, ‘२ नम्बरी’, ‘प्रेम गीत ३’, ‘महापुरुष’, ‘के घर के डेरा’, ‘फूलबारी’ र ‘छक्का पन्जा ४’ र यो वर्ष वैशाखमा प्रदर्शनमा आएको ‘जारी’ को व्यवसायले पनि त्यो देखाउँछ ।

जेठमा रिलिज हुने ४ फिल्म ‘डाकिनी’, ‘ए साथी सुन’, ‘टुल्की’ र ‘हुक्का ः एन एब्सर्ड ड्रिम’ सबै नयाँ कथामा बनेका छन् । उत्कृष्ट छ, छैन त्यो भने रिलिजपछि भन्न सकिन्छ । फिल्ममा स्टार कलाकार भने छैनन् ।

फिल्म ‘ए साथी सुन’ लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको फिल्म हो । रमेश बानियाँ, अभिनेत्री वर्षा शिवाकोटी, आर्यन खड्का, सुशील पोखरेल, जयनन्द लामा लगायतको अभिनय रहेको फिल्म इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा बिना कार्की र सन्तोषकुमार राईले बनाएका हुन् ।

त्यस्तै, फिल्म ‘डाकिनी’ बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवीका प्रशस्तै मिथक र दन्त्यकथा छन्, त्यस मध्येकै कथामा निर्माण भएको फिल्म हो । विश्वका प्रख्यात फेस्टिभलको चक्र पुरा गरेपछि नेपालमा रिलिज हुन लागेको यो फिल्मको अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको छ ।

यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेल छन् ।

भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन् । दुवैले अभिनय गरेको यो पहिलो फिल्म हो । कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारको समेत फिल्ममा अभिनय देख्न सकिन्छ ।

यस्तै फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’ सामाजिक विषयमा निर्माण भएको फिल्म हो । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । यसमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारको अभिनय छ ।

रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् ।

‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित फिल्म हो । द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता शेखर लामा हुन् । ‘टुल्की’ डोल्पामा छायाङ्कन गरिएको छ ।

देव थापाको निर्देशन रहेको फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय छ ।

फिल्म अभाव

चलचित्र निर्माता संघ, चलचित्र संघ र चलचित्र विकास बोर्डले फिल्मको लगानी सुरक्षित गर्न नेपाली फिल्म सिंगल रिलिजका लागि अनेक प्रयत्न गर्दै आएका छन् । तर त्यो प्रयास सफल हुन सकिरहेको छैन ।

त्यसैले, अधिकांश समय नेपाली फिल्म एक अर्काेसँग भिड्दै प्रदर्शनरत छन् । यसले कुनै मितिमा दुई वा सो भन्दा बढी फिल्म रिलिज हुने र कुनै मितिमा फिल्मको अभाव देखिने गरेको छ ।

अगामी जेठमा पनि पहिलो र दोस्रो साता दुई दुई फिल्म एक साथ भिड्दै छन् भने त्यसपछि फिल्मको अभाव देखिएको छ । जेठको पहिलो साता ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शनमा आउँदैछ । दोस्रो साता ‘टुल्की’ र ‘हुक्का ः एन एब्सर्ड ड्रिम’ भिड्दैछन् । तेस्रो र चौथो साता भने फिल्मको अभाव देखिएको छ ।

जेठको दुई साता फिल्म अभाव देखिनु राम्रो मितिमा फिल्म भिड्नु रहेको निर्माता तथा वितरक करण श्रेष्ठ बताउँछन् । ‘नेपाली फिल्मको दुर्भाग्य भनौँ कुनै मितिमा ३÷४ वटा हुन्छ, कुनै मितिमा खाली’, श्रेष्ठले भने ‘निर्माताहरूको अहम्तामा फिल्म जुधाउँदा यस्तो हुने गरेको हो ।’ जेठमा कुनै मितिमा फिल्म नहुनु व्यवसायको हिसाबले उपयुक्त महिना नमानिनु समेत भएको श्रेष्ठको भनाई छ ।

त्यस्तै वितरक तथा निर्माता रोहित कट्टेल पनि जेठका दुई साता फिल्म अभाव देखिनु रिलिजका लागि उपयुक्त समय नमान्नु भएको बताए । ‘जेठ रिलिजका लागि राम्रो समय मानिन्न । फिल्म पनि थोरै बनेको छ’ उनले भने ।

‘गणपति’ कहिले त ?

हुन त फिल्म ‘गणपति’ पनि जेठ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । निर्माण युनिटले यसको प्रचारप्रसार समेत थालेको थियो । तर अहिले आएर यो फिल्मको रिलिज सरेको छ ।

फिल्म निर्धारित मितिबाट सरेपछि जेठकै कुनै मितिमा रिलिज हुन सक्ने अभिनेता मुकुन भुषालले बताए । 

‘गणपति’ सबिन अधिकारीले निर्देशन गरेका हुन् । कोही व्यक्ति कुनैबेला समाजको भगवान् बन्ने र उही व्यक्तिलाई हाम्रै समाजले कसरी नारकीय व्यवहार गर्छ भन्ने विषयवस्तुमा बनेको फिल्म हो यो । यसमा मुकुन भुषाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय छ ।

फिल्मका निर्माता लक्ष्मण थापा हुन् । फिल्ममा आस्थाको रूपमा रहेका भगवान् र भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिस बीचको फरक देखाइएको बताए । फिल्म एबिगम्यान फिल्मस्को ब्यानरमा बनेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप