शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवसँग फेरि मागियो स्पष्टीकरण

बिहीबार, २८ वैशाख २०८०, १४ : १६
बिहीबार, २८ वैशाख २०८०

विराटनगर । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई स्पष्टीकरण पेस गर्न अर्को पत्र पठाएको छ । 

वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै मन्त्रालयले वैशाख १७ गते पनि उनीसँग स्पष्टीकरण मागेको थियो ।

उक्त स्पष्टीकरणको जवाफसमेत चित्त बुझ्दो नभएकाले कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार आज अर्को पत्र पठाएको हो । मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले हस्ताक्षर गरेको पत्रमा ‘फ्लेक्स ब्यानरजस्तो महत्त्वपूर्ण कुरामा कोशी प्रदेश उल्लेख नभएपछि प्रतियोगितासम्बद्ध पत्राचार, चेक, प्रमाणपत्र लगायतमा कोशी प्रदेश लेखिने कार्यले मात्रै नियतवश भएको कार्यको बचाउ हुन सक्दैन’ भनिएको छ ।

यस विषयमा मन्त्रीलाई पनि यथासमयमा जानकारी नदिएको, साथै कोशी प्रदेश लेखिएको मुख्य ब्यानरको बीच भागमा कोशी प्रदेश लेखिएको अर्को व्यानर तयार गरी फोटो लिने कार्य भएकाले बचाउको लागि मात्र प्रमाण सिर्जना गरिएको कुरा प्रस्ट भएको पत्रमा उल्लेख छ ।

‘तपाईँलाई यसै विषयका सम्बन्धमा मिति २०८०/०१/१७ गते सोधिएको स्पष्टीकरणको जवाफसमेत चित्त बुझ्दो नभएकाले प्रदेश खेलकुद ऐन २०७६ को दफा ४ को उपदफा (४) बमोजिम तपाईँले इमानदारितापूर्वक आफ्नो कर्तव्य पालना गरेको नदेखिएकोले सोका आधारमा तपाईँलाई आफ्नो पदबाट किन नहटाउने ? कारणसहित ३ (तीन) दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन यस मन्त्रालयको मिति २०८०/०१/२७ गतेको निर्णय (माननीय मन्त्रीस्तरीय) अनुसार अनुरोध छ,’ स्पष्टीकरण पत्रमा उल्लेख छ ।

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप