मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

अन्तर्राष्ट्रिय उडानविहीन बन्यो गौतमबुद्ध विमानस्थल

सोमबार, ०१ जेठ २०८०, ०७ : ०५
सोमबार, ०१ जेठ २०८०

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले अन्तर्राष्ट्रिय उडानविहीन भएको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नाममा सेवा दिँदै आएको एक मात्र वायुसेवा कम्पनी जजिरा एयरलाइन्सले उडान रोकेपछि विमानस्थल आन्तरिक उडानमा सीमित भएको हो ।

गत पुसमा तीन महिना विमानस्थलको कारण देखाउँदै उडान रोकेको जजिराले व्यावसायिक कारण देखाउँदै फेरि उडान रोकेको छ । विदेशी एयरलाइन्सले मात्र नभएर स्वदेशकै हिमालय एयरलाइन्सले पनि दुई महिना चलाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेको थियो ।

गत वर्षको जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको यो विमानस्थलले अहिलेसम्म अपेक्षाकृत गति लिन सकेको छैन । अन्तर्राष्ट्रिय उडानको नाममा कुवेत–भैरहवा उडान गरिरहेको एकमात्र विमान सेवा कम्पनी जजिरा एयरलाइन्सले एक महिनादेखि उडान रोकेपछि यो विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन भएको छ ।

rrrrrrrrrr

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जजिरा एयरलाइन्ससँग कुराकानी भइरहेको रातोपाटीलाई बताए । विमानस्थल उद्घाटनपछि जजिरा एयरलाइन्सले नै यहाँ व्यावसायिक उडान सुरु गरेको थियो ।

गत पुस ६ देखि फागुन २५ सम्म जजिराले उडान रोकेको थियो । यो विमानस्थलमा नयाँ विमान कम्पनीले उडानका लागि चासो नदेखाउनु र चलिरहेका विमान कम्पनीले समेत विभिन्न कारण उडान बन्द गरेपछि अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था संकटतर्फ धकेलिएको हो । नाटा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले अन्तर्राष्ट्रिय उडान बढ्दै जानुपर्नेमा भएका उडान पनि रोकिनु राम्रो सङ्केत नभएको रातोपाटीलाई बताए ।

उनले भने, ‘विमानस्थल निर्माण भएको १ वर्ष नपुग्दै अन्य विमान कम्पनीहरूको उडान थप्नु पर्नेमा भएका उडान पनि रोक्नु राम्रो सङ्केत होइन ।’

विमानस्थलले गति नलिएका कारण स्थानीय पर्यटन व्यवसायी पनि चिन्तित भएका छन् । अन्तर्राष्ट्रिय उडानले गति लिएमा पर्यटकको चहलपहल बढ्ने आशा गरेका व्यवसायीहरू पछिल्लो एक वर्षको अवस्था देखेर निराश भएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल भने जजिराले रातमा उडान गर्दा विमानस्थलमा ‘ओभर टाइम’ दिएर ड्युटी लगाउनुपर्ने कारण सञ्चालन खर्च बढेकाले बिहानको समयमा सार्न अनुरोध गरेपछि त्यसकै व्यवस्थापनका लागि उडान रोकेको बताउँछन् ।

उनले जजिराले फेरि उडान सुरु गर्छु भनेको जानकारी दिए । जजिराले यसअघि हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्दै आएको थियो ।

अन्तर्राष्ट्रिय उडान रोकिँदा विमानस्थललाई लक्षित गरेर होटेललगायत पर्यटन क्षेत्रमा लगानी गरेकाहरू मारमा परेका छन् भने अर्बौँ लगानीमा बनेको विमानस्थलले अन्तर्राष्ट्रिय उडान भित्र्याउन नसक्दा दैनिक लाखौँ रूपमा  नोक्सान व्यहोर्नु परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३ देखि ४ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने भए पनि अहिले पूर्ण रूपमा  अन्तर्राष्ट्रिय उठान ठप्प भएको छ ।

विमानस्थलमा प्रवक्ता दीपक बज्राचार्यले  अन्य विमान कम्पनीले पनि उडानमा चासो देखाइरहेका कारण केही समयमा विमानस्थलले गति लिने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप