आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

बुधबार, ०३ जेठ २०८०, १७ : ४०
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । हरेक वर्ष मे १७ मा विश्वव्यापी रूपमा यौनिक तथा लैङ्गिक विविधता भएको समुदायले मनाउने यो दिवस आज विविध कार्यक्रम गरी मनाइएको हो । 

सन् १९९० मे १७ मा विश्व स्वास्थ्य सङ्गठनले समलैंगिकतालाई मानसिक रोगको सुचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको थियो । उक्त दिनको स्मरण गर्दै विश्वव्यापी रूपमा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिनको रूपमा मनाउने गरिन्छ ।  यस दिनलाई संसारभर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै हर्षोल्लासका साथ मनाउने गर्दै आएका छन् । 

मितिनी नेपालले यो वर्ष “सधैँ संगै : विविधतामा एकता” भन्ने विश्वव्यापी नाराका साथ दिवस मनाएको छ । दिवसको अवसरमा सातै प्रदेशमा रहेका करिब २०० यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एउटै स्थानमा ल्याउने र समुदायका व्यक्तिको आठ प्रेरणादायक कथा समेटिएको पुस्तक “सधैँ संगैः विविधतामा एकता” विमोचन गरिएको थियो । त्यस्तै समुदायका १०० ज्येष्ठ नागरिकहरूमा गरिएको सर्वेक्षणको आधारमा तयार गरिएको तथ्य पत्र “उमेर विभेदले नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका ज्येष्ठ नागरिकहरूमा पारेको प्रभाव” सार्वजनिक गरिएको थियो । 

उक्त कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य प्रमुख अतिथि रहेका थिए । यस पुस्तकमा साझेदार गरिएका कथाहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्रको विविध मुद्दाहरूलाई समेटिएको मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले जानकारी दिइन् । 

समुदायभित्रको जाति, वर्ग, उमेर, धर्म, वर्ण, लिङ्ग, अपाङ्गता, भौगोलिक अवस्थाको स्थितिलाई पनि कथामार्फत सम्बोधन गर्ने प्रयास गरिएको उनको भनाई छ । मन्त्री आचार्यले लामो समयदेखि सँगै बस्दै आएका एक जोडी तथा समुदायलाई स्वीकार गरेका एक परिवारलाई सम्मान गरेका थिए । सम्मानित हुने जोडीमा मधेस प्रदेश मिर्चैयाबाट बुलन सदा र रेम्नीदेवी सदा र परिवारमा बागमती प्रदेशबाट हेटौँडा, मकवानपुरकी सन्ध्या लोप्चनकी आमा बिनमाया लोप्चन रहेका छन् । 

मितिनी नेपाल महिला समलिङ्गी, द्धयलिङ्गी, र टान्सजेन्डर व्यक्तिहरूको सहयोगको लागि काम गरिरहेको एक गैरसरकारी संस्था हो । नेपालका यौनिक तथा लैगिंंक अल्पसङ्ख्यक समुदायको मानव अधिकारको संरक्षण तथा सम्वद्र्धन गर्ने तथा उनीहरूलाई सम्मानित जीवन जिउन सामाजिक, सांस्कृतिक, आर्थिक, कानूनी तथा राजनैतिक अधिकार सहितको समतामूलक समाज निर्माण गर्ने उद्देश्यले यो संस्था सन् २००५ मा स्थापना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप