३ वटा कसुरमा साढे २८ वर्ष कैद सजाय मागदावीको राय बुझाउँदै प्रहरी

काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार प्रहरीले ३ वटा कसुरमा सजाय गर्न मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिँदै छ । राष्ट्र हित प्रतिकुलको कसुर, ठगी र किर्ते सम्बन्धी कसुरमा अधिकतम सजाय हुनुपर्ने मागदावी लिएर अदालतमा मुद्दा लैजान राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले बताए ।
३ वटा कसुरसँगै ‘सङ्गठित अपराध’ र ‘एकीकृत कसुर’ बापत थप सजायको मागदावी गर्नुपर्ने प्रहरीको जिकिर छ । मुलुकी अपराध संहिता ०७४ को दफा ५१ अनुसार राज्य विरुद्धको कसुर अन्तर्गत ‘राष्ट्र हित प्रतिकुलको कसुर’ पर्छ । राष्ट्र हित प्रतिकुलको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना हुने व्यवस्था छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अनुसार ठगी मुद्दामा ७ वर्ष सम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ । प्रहरीले अरोपीहरुलाई किर्ते मुद्दामा पनि सजाय मागदावी लिन सरकारी वकिललाई राय प्रतिवेदन बुझाउने तयारी गरेको छ । सङ्गठित गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका जान खोज्ने ‘पीडित’ हरूलाई दिएको ‘नक्कली शरणार्थी परिचयपत्र’ प्रहरीले बरामद गरेको छ । सरकारी छाप दस्तखत किर्ते मुद्दामा ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
३ वटा कसुरसँगै प्रहरीले सङ्गठित अपराध र एकीकृत कसुरबापत थप सजाय हुन मागदावी लिनुपर्ने राय दिने तयारी गरेको छ । एकीकृत कसुरबापत थप सजाय गर्दा सबैभन्दा बढी सजाय हुने कसुरको बराबर र त्यसभन्दा थोरै सजाय हुने कसुरमा आधा सजाय हुने व्यवस्था छ । एकीकृत कसुर बापत ठगीमा ७ वर्ष, किर्तेमा साढे ३ वर्ष र राष्ट्र हित प्रतिकूलको कसुरमा साढे २ वर्ष गरेर १३ वर्ष कैद सजाय हुन सक्ने व्यवस्था छ । एकीकृत कसुर अन्तर्गत नै सङ्गठित अपराधमा थप ५० प्रतिशत कैद हुने व्यवस्था छ ।
सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ९ अनुसार अभियोजन गर्दा सरकारी वकिलले सबै कसुरमा थप ५० प्रतिशत सजाय मागदावी लिन सक्छन् । ३ वटा कसुर र सङ्गठित अपराध अन्तर्गत थप सजायसहित साढे २८ वर्ष कैद माग्ने गरी अनुसन्धान प्रतिवेदन तयार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने–‘सङ्गठित अपराध गरेको कसुरमा ५० प्रतिशत थप सहित सबै आरोपीलाई २८ वर्ष कैद सजायको मागदावी लिन राय पेश गर्छौं ।’
ठगी, किर्ते र राष्ट्र हित प्रतिकुलको कसुरमा अलग–अलग सजाय गर्दा १९ वर्ष हुन्छ । सङ्गठित अपराध बापत थप ५० प्रतिशत सहित साढे २८ वर्षसम्म कैद सजाय सजाय मागदावी लिनुपर्ने अनुसन्धान अधिकृतहरूले राय दिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद