शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
नीति कथा

स्वाभिमान

शनिबार, ०६ जेठ २०८०, १० : ३१
शनिबार, ०६ जेठ २०८०

जेठ महिनाको गर्मी खपिसक्नु थिएन । स्वामीको रुखमुनि चिसो हावा चलेकोले जमिनदार कृष्णलाल र हवल्दार श्यामसुन्दर पुनः चौतारीमा बसेर गफगाफ गर्दै थिए । 

कृष्णलाल एक्लो छोरा सम्पत्तिको लेखाजोखा नै छैन । आँखाले देखेर नभ्याइने जग्गा छ । जमिनदार बाउबाजेको सम्पत्ति आफूले सुको कमाउन परेको छैन । 

कृष्णलालले एकदिन गफैगफमा श्यामसुन्दरसँग भन्यो, ‘हेर श्यामे सम्पत्ति त मेरो दुई तीन पुस्तालाई पुग्नेछ । काम धन्दा नगरी खान पुग्छ ।’ 

उनको कुरा सुनेर श्यामेले भन्यो, ‘हो त नि साहु बा, अब आफू केही अमर हुने राम्रो काम गर्नुस्, सम्पत्ति जति पनि छ क्यारे ।’

कृष्णलालले भने, ‘धर्मकर्म गरेँ, मठ मन्दिर बनाएँ, तीर्थ गएँ । अरू के असल काम हुन्छ र श्यामे ? म अमर हुन्छु, महान् हुने काम गरेको छु ।’ 

उनको कुरा सुनेर श्यामेले भन्यो, ‘ती मूर्तिमा पैसा चढाएर मन्दिरमा ढोग्दैमा अमर भइँदैन । साहु बा अरू नै समाजसेवामा लाग्नुस् । मैले मन्दिरबाहिर बसेर भिख माग्नेलाई कति पटक खानेकुरा दिएको छु । हजुरभन्दा त मै महान् छु ।’ 

यस्तो कुरा सुनेर जमिनदारलाई श्यामेलाई जित्ने काम गर्न मन लाग्यो र सोच्यो । आउने शनिवार गाउँभरिका दुःखी गरिबलाई बोलाएर घरमा खाना खुवाउने छु । 

...

शनिवारको दिन गाउँले सबै जमिनदार कृष्णलालकोमा भतेर खान जम्मा भए । मीठा मीठा परिकारहरू पकाइएको थियो । आउने, जाने, खाने मान्छेको घुइँचो थियो । यो दृश्य देखेर कृष्णलाल निकै खुसी भए । आफूले ठुलो काम गरेको महसुस गरे । 

अलि पर एउटा किसानले त्यस्तो गर्मी याममा खेत जोतिरहेको देखे कृष्णलालले । ती व्यक्ति आफ्नो घरमा खाना खान न आएको देखेर अचम्म पर्‍यो उ । आफ्नो मान्छेलाई बोलाउन पठायो तर किसान आउन मानेन । नोकर एक्लै फर्केको देखेर जमिनदार छक्क परे । उनले सोधे:

खै त त्यो व्यक्ति किन आएन ? 

नोकरले भने, खै हजुर, निम्ता दिँदा सुनेको नसुन्यै गरे । 

त्यसपछि जमिनदार आफैँ बोलाउन गए । खेत जोतिरहेको किसान सामु पुगेर भने, ‘आज हाम्रो घरमा भतेर खुवाउने काम भएको छ । मीठो मसिनो परिकार बनेको छ । हिजो बेलुकै सबै गाउँलेलाई खबर गरिएको थियो । सबै जना आए । तिमीले खबर थाहा नपाएर हो कि किन हो ? नोकरलाई बोलाउन पठाउँदा पनि आएनौ त ?’ 

किसानले भन्यो, ‘हजुर, म आफै मिहिनेत गरेर खान रुचाउँछु । गरिब छु तर अरूको सित्तैमा पाएको चिज लिन्न । आफै कमाउँदा सम्म आफ्नै कमाइ खानुमा बडो आनन्द लाग्छ । माफ गर्नुहोला, हजुरको भतेर खान आउन मनले मानेन ।’

किसानको कुरा सुनेर जमिनदार छक्क परे । यस्तो गरिब, यो गर्मीमा सित्तैमा खान बोलाउँदा न आएको देखेर मनमनै अनेक सवाल खेलाउँदै घर पुगे  । अनि श्यामेसँग यी सब कुरा विस्तारमा बताए । 

‘हेर् श्यामे, मैले र तैँले राम्रो काम गरियो, पुण्य कमाइयो, अमर र महान् बनियो भन्नु झुटो रहेछ । वास्तविक महान् त त्यो किसान पो रहेछ । कति स्वाभिमानी ? आफैले मिहिनेत गरेर खान्छ, लोभलालच गर्दैन । त्यो किसानको अगाडि म आफूलाई अत्यन्तै सानो महसुस गरेको छु । 

मैले आजसम्म कहिल्यै मिहिनेत गरिन, जे जति धन सम्पत्ति छ, यो सबै पुर्खाले आर्जन गरेको हो । वास्तविक गरिब त त्यो किसान होइन, म पो रहेछु ।’ 

श्यामसुन्दरले भन्यो, ‘हो साहु बा हो, आफ्नो मिहिनेतको कमाई पो कमाई । अरूको सित्तैमा मिलेको धनमा घमन्ड गर्नु मूर्खता हो ।’

खजुरा, बाँके

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना पौडेल ‘जिज्ञासु’
कल्पना पौडेल ‘जिज्ञासु’
लेखकबाट थप