शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुरका बाबुछोराले लिए सानु भण्डारीबाट २ करोड, सिंहदरबारमै हातपात !

बुधबार, १० जेठ २०८०, १८ : ३०
बुधबार, १० जेठ २०८०

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री समेत रहिसकेका एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझीले नक्कली शरणार्थी प्रकरणमा २ करोड रुपैयाँ लिएको खुलेको छ । उनले प्रतिवादी सानु भण्डारीबाट १ करोड ६० लाख र छोराको खातामा थप ४० लाख पठाउन लगाएर कुल २ करोड रुपैयाँ लिएको खुलेको हो । 

टोपबहादुरले बयानका क्रममा सानु भण्डारी र केशवप्रसाद दुलालले टेकनाथ रिजाललाई आफ्नो घरमा भेट गराउन ल्याएको खुलाएका छन् । सो क्रममा रायमाझीले भुटानी शरणार्थीलाई अमेरिका पठाउँदा नेपालीलाई पनि भुटानी बनाइ अमेरिका पठाउने आफ्नो योजना रहेको बताएका थिए । सो योजनामा सहयोगका लागि टोपबहादुरले टेकनाथलाई आग्रह गरेको बयानका क्रममा खुलेको छ । 

यस्तै नेपालीलाई भुटानी शरणार्थी बनाउने योजनाअनुसार सन्देश शर्मा, सानु भण्डारी, केशव प्रसाद दुलालसँग टोपबहादुरले ललितपुरको रेस्टुरेन्टमा मिटिङ गरेको समेत खुलेको छ । ‘प्रतिवादी टोप बहादुर रायमाझी अन्य प्रतिवादीहरू ईन्द्रजित राई, सानु भण्डारी, केशव प्रसाद दुलाल, सन्दीप रायमाझी र टेकनाथ रिजालसँग प्रत्यक्ष रूपमा मिलेर सुरुवातदेखि नै कसुर अपराधको योजनाकारको रूपमा अन्य प्रतिवादीहरुलाई परिचालन गर्ने र आफू समेत परिचालित भई प्रस्तुत सङ्गठित ठगी एवं राष्ट्रहित प्रतिकुल काम गर्न नहुने अपराधमा सक्रिय भूमिका निर्वाह गरी आपराधिक समूहका अन्य प्रतिवादीहरुलाई परिचालन गरी जाहेरवालाहरु समेतबाट संकलन गरिएको ठगीको लिनेखाने काममा संलग्न रहेको देखिँदा यी प्रतिवादी टोप बहादुर रायमाझीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पटाइदिने समूहमा आबद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरूका आधारमा विश्वास दिलाई करौडौं रकम उठाउन लगाई पीडितहरूलाई हानी नोक्सानी पुर्‍याई ठगी गरी लाभ लिई मुलुकी अपराध संहिता,२०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसुर गरेको पुष्टि हुन आयो’, बुधबार काठमाडौँ जिल्ला अदालतमा दायर अभियोग पत्रमा रायमाझीको हकमा भनिएको छ । 

यस्तै रायमाझीले गृह मन्त्रालयमा सक्कली प्रतिवेदनका ठाउँमा नक्कली प्रतिवेदन राखी भुटानी शरणार्थीका नाममा सङ्गठित अपराध, लिखत किर्ते र ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको र भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाई लगाई लिखत किर्तेको कसुर समेत गरेको देखिएको अभियोग पत्रमा उल्लेख छ । जसअनुसार रायमाझीले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम सरकारी लिखत किर्तेको कसुर गरेको पुष्टि हुन अभियोग पत्रमा उल्लेख छ । 

यसैगरी रायमाझीले राज्यविरुद्धको कसुर, सङ्गठित अपराधको कसुर गरेको पनि गरेको अभियोग पत्रमा ठहर गरिएको छ । अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादी टोप बहादुर रायमाझी समेतले नियोजित र सङ्गठित रूपमा समूहमा आबद्ध भई एकै वारदातमा एकभन्दा बढी कसुर गरी एकीकृत कसुर समेत गरेको देखिदा निज प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले कसुर ठहर हुन अभियोग मागदावी लिइएको छ’, अभियोगमा भनिएको छ ।

गृह मन्त्रालयमै भएको थियो हातपात

नक्कली भुटानी शरणार्थी प्रकरणमा सिंहदरबारस्थित गृह मन्त्रालयमै हातपात भएको समेत खुलेको छ । ईन्द्रजित राई र सानु भण्डारी तथा केशव दुलालको बीचमा गृह मन्त्रालयस्थित ईन्द्रजित राईको कार्यकक्षमा नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने सम्बन्धमा विवाद हुँदा हातपातट भएको खुलेको हो । सानु भण्डारी तथा केशव दुलालले ईन्द्रजित राईलाई रकम दिएको र समयमा ईन्द्रजित राईले काम नगरेको सम्बन्धमा विवाद हुँदा हातपात भएको हो ।  सो क्रममा रायमाझीले सहजकर्ताको भूमिका निर्वाह गरेका रायमाझीकै बयानबाट खुलेको छ । 

२०७७ श्रावण, भदौ महिनातिर यी तीनै जना ईन्द्रजित राईको कार्यकक्षमा विवाद भई हातपात भएको रायमाझीको बयानमा उल्लेख छ । उनीहरुलाई छुट्याएर बाहिर ल्याएको र त्यसबेला इन्द्रजितले उनीहरुलाई भित्र पस्न नदिनु भनेर रायमाझीलाई भनेको पनि खुलेको छ । 

उपप्रधान तथा ऊर्जामन्त्री हुँदा सानु भण्डारी, केशव प्रसाद दुलाल, सन्देश शर्मा, ईन्द्रजित राई लगायतसँग बाक्लो उठबस, घुमफिर हुने गरेको पनि टोपबहादुरको बयानबाट खुलेको छ ।  मन्त्रलयबाट तयार हुने चिठ्ठी पत्रहरुको सहजीकरण गरी आफ्नो पदीय जिम्मेवारीको चरम दुरुपयोग गरी जाहेरवालाहरुलाई झुक्यानमा पारेको बयानबाट खुलेको अभियोग पत्रमा उल्लेख छ ।  सानु भण्डारी, केशब प्रसाद दुलाल र टोप बहादुर रायमाझी ईन्द्रजित राईको कार्यकक्षमा बारम्बार आउजाउ हुने गरेको पनि खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप