मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

औषधि जनतासम्म पुर्याउन मुख्यमन्त्री पाण्डेको निर्देशन

बुधबार, १० जेठ २०८०, २० : ५३
बुधबार, १० जेठ २०८०

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधि र स्वास्थ्य उपकरण स्वास्थ्य संस्थामार्फत जनतासम्म पुर्याउन निर्देशन दिएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतको औषधि तथा स्वास्थ्य उपकरण भण्डारण कक्षको आज निरीक्षण गर्दै उनले स्वास्थ्य जनताको जीवनसँग जोडिएको संवेदनशील क्षेत्र उल्लेख गर्दै औषधि थन्काएर राख्ने नभई सक्दो जनताकहाँ पुर्याउनुपर्ने बताए ।

मङ्गलबार पोखरामा आयोजित एक कार्यक्रममा प्रदेशका विभिन्न पालिकाका जनप्रतिनिधिले औषधि, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गरेका थिए । उक्त गुनासोसँगै आज उनले भण्डारण कक्षको निरीक्षण गर्दै त्यहाँका कर्मचारीसँग औषधि थन्काएर राखेको, स्थानीय तहमा नपठाएको हो ? भन्ने प्रश्न गरे ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदबिन्दु शर्माले स्वास्थ्यको प्रोटोकलअनुसार १० प्रतिशत औषधि इमर्जेन्सीका लागि स्टक राख्नुपर्ने नियम रहेकाले सोहीअनुसार मात्रै स्टोरमा औषधि रहेको जानकारी गराए । सबै प्रकारका औषधि अझै १० प्रतिशत अपुग रहेको भन्दै उनले भएका औषधि जिल्ला अस्पताल र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई पुर्याउन नसकेको बताए  । इमर्जेन्सीका लागि बाहेक औषधि स्टक नरहेको उनले जानकारी गराए ।
मुख्यमन्त्री पाण्डेले औषधि १० प्रतिशत राख्नुपर्ने नियम भए पनि स्वास्थ्य उपकरण भने सक्दो धेरै प्रयोगका लागि पठाउन सुझाव दिए । प्रदेशका ११ जिल्लाका कम्तीमा एकरएक पालिकाका प्रमुखलाई बोलाएर स्वास्थ्य प्रोटोकल र नियमबारे पनि थाहा दिनुपर्ने उनले बताए ।

“हामी र स्थानीय तहबीच कम्युनिकेशन नहुँदा पनि केही समस्या भएको छ, उहाँहरूलाई प्रदेशमा औषधि छ हामीले पाएनौँ भन्ने परेको हुन सक्छ ।” मन्त्रालयका सचिवलाई निर्देशन दिँदै उनले भने “योबारेमा तत्काल स्थानीय तहका प्रमुखलाई पनि जानकारी गराउनुहोला ।” आफूलाई गरेको ब्रिफिङ र फिल्डमा फरक नहुने गरी काम गर्न मन्त्रालयका कर्मचारीलाई उनले निर्देशन दिए ।

स्वास्थ्यका विषयमा प्रदेश सरकार संवेदनशील रहेको उल्लेख गर्दै उहाँले अहिलेको स्थितिभन्दा आगामी वर्ष स्वास्थ्य क्षेत्रमा सुधार गर्ने जानकारी गराए । “हामीसँग साधन स्रोत सीमित छ, आवश्यकता र पूर्र्तिलाई कसरी व्यवस्थित गर्ने भन्ने योजनामा हामी छौँ”, उनले भने । निरीक्षणमा प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा लगायतको उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप