बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फाले अन्याय गरेको ‘ए’ डिभिजन क्लबहरुको आरोप

शुक्रबार, १२ जेठ २०८०, १६ : ११
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आफूहरु अन्यायमा परेको आरोप लगाएका छन् । ‘ए’ डिभिजन लिग खेलिरहेका वटा १० क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी एन्फाले आफूहरुमाथि अन्याय गरेको आरोप लगाएका हुन् । क्लबहरुले दोस्रो किस्ताको तयारी खर्च, खेलको म्याच मनि, म्याच बल, खेलाडीले पाउनुपर्ने म्यान अफ दि म्याचवापतको रकम एन्फाले हालसम्म नदिएको आरोप लगाएका छन् । संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले पटकपटक आग्रह गर्दा पनि एन्फाबाट माग सम्बोधन नभएको बताए ।

एन्फाले ‘ए’ डिभिजन क्लबलाई तयारी खर्च स्वरूप पहिलो किस्तामा १५ लाख, दोस्रो किस्तामा १० लाख र तेस्रो किस्तामा ७ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । पहिलो किस्ताको रकम भने क्लबहरुले पाइसकेका छन् । यसैगरी एन्फाले हरेक खेलको विजेतालाई म्याच मनि वापत ५० हजार, खेल बराबरी भएका २५–२५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । तुलाधरले दुई पटक एन्फालाई ज्ञापनपत्र बुझाए पनि माग सम्बोधन नभएको बताए । उनले आफ्नो माग सम्बोधन नभए कठोर कदम चाल्न क्लबहरु बाध्य हुने चेतावनी पनि दिए । तुलाधर एन्फाका पूर्वमहासचिव पनि हुन् ।

यसैगरी हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले ब्यवस्थापनको कमजोरीले गर्दा एन्फा अहिलेको स्थितिमा पुगेको बताए । शेर्पा एन्फाका पूर्वअध्यक्ष पनि हुन् । एन्फाको वर्तमान नेतृत्वले फुटबललाई ब्यवस्थित रुपमा सञ्चालन गर्न नसकेको आरोप पनि लगाए । पत्रकार सम्मेलनमा मछिन्द्र क्लबका सचिव किरण महर्जन, खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घले, संकटाका अध्यक्ष इन्द्रमान तुलाधर, हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पा, एनआरटीका महासचिव नरेन्द्रमान श्रेष्ठ, फ्रेन्ड्सका अध्यक्ष विश्वासविक्रम शाह, सातदोबाटोका अध्यक्ष कपिलकिशोर मगर, चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र थ्री स्टार क्लबका सहकोषाध्यक्ष देवेन्द्रलाल श्रेष्ठ उपस्थित थिए ।

Anfa2Anfa1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप