शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रमको भारत भ्रमण

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जासम्बन्धी कस्ता सम्झौता हुँदैछन् ?

आइतबार, १४ जेठ २०८०, ११ : ३६
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री बनेको लामो समयपछि पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ गतेबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गर्दैछन् । उनले दक्षिण छिमेकी राष्ट्रको ४ दिने भ्रमणका क्रममा विद्युत् व्यापारलाई प्राथमिकतामा राखेका छन् ।

यसपटकको भ्रमणमा नेपाल र भारत दुवै पक्षले ऊर्जा सम्बन्धी ठूला सम्झौताको तयारी थालेका छन् । नेपालले उत्पादित बिजुलीको बजार भारतमा खोज्ने सम्झौताको तयारी गरिरहेको छ । ‘यो भ्रमणका क्रममा अन्तिम समयमा केही तलमाथि नभएमा ५ वटा सम्झौता हुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोत भन्छ, ‘ती पाँचवटै सम्झौताहरू दुवै देशको हितमा छ ।’ 

भारत भ्रमणका क्रममा नेपालले तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय नै गरिसकेको छ । आइतबार बिहानै बसेको लगानी बोर्डको बैठकले ६६९ मेगावाट क्षमताको उक्त आयोजनाको पीडीए गर्ने निर्णय गरेको हो । भारत भ्रमणको मुख्य ५ एजेन्डामध्ये यो आयोजनाको पीडीए पनि एउटा हो । 

यसपछि, ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजना समेत प्राथमिकतामा छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल सरकारले उक्त आयोजनालाई प्राथमिकताका साथ राखेको छ । र, भारतीय पक्षले समेत यो विषयलाई ध्यानमा राखेको स्रोतको भनाई छ । भ्रमणका क्रममा फुकोट कर्णाली आयोजना निर्माणका लागि नेपाल र भारतबीच द्विपक्षीय सम्झौता (एमओयू) हुनेछ ।

यसैगरी, भारत भ्रमणका क्रममा नेपालले बिजुली व्यापार सम्बन्धी एजेन्डालाई सबैभन्दा जोडतोडका साथ उठान गर्नेछ । भारतीय पक्षसँग बिजुली व्यापारसँग सम्बन्धित दीर्घकालीन सम्झौता गर्ने तयारी दुवै पक्षले गरिरहेका छन् । नेपाल सरकारले भ्रमणका क्रममा हस्ताक्षर गर्ने गरी २५ वर्षका लागि बिजुली बेच्ने सम्झौताको ड्राफ्ट बनाइसकेको छ ।

यो ड्राफ्टअनुसार नेपालका आयोजनाबाट उत्पादित बिजुली बेच्न भारतसँग २५ वर्षे लामो सम्झौता गरिन्छ । र, यो सम्झौताबाट १० हजार मेगावाटसम्म बिजुली निर्वाधरुपमा भारतमा बेच्ने बाटो खुल्ने स्रोत बताउँछ । ‘सम्झौताको ड्राफ्ट तयार भइसकेको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा हस्ताक्षरको तयारी छ,’ स्रोत भन्छ, ‘अन्तिम समयमा केही तलमाथि नभएमा सम्झौता हुन्छ नै ।’

भारतीय पक्षले विगत लामो समयदेखि विद्युत् प्राधिकरणको प्रस्ताव समेत स्वीकार गरेको छैन । प्रधानमन्त्रीको भ्रमणलाई विशेष बनाउने तयारीका साथ करिब ७–८ वटा आयोजनाको बिजुली बेच्न प्राधिकरणले गरेको प्रस्ताव रोकिएको हुन सक्ने जानकारहरू बताउँछन् । प्राधिकरणले गत वर्ष २०७९ सालमा नै ती आयोजनाबाट उत्पादित थप ४००/५०० मेगावाट बेच्न अनुमति माग गरेको थियो ।

‘लामो समयदेखि रोकिएको अनुमति प्रदानको अवस्था हेर्दा पनि प्रधानमन्त्रीकै भ्रमण कुरेको जस्तो देखिन्छ,’ स्रोत भन्छ, ‘नेपाल र भारतीय पक्षले नै प्रधानमन्त्री स्तरीय भ्रमणलाई विशेष बनाउने आँकलन गर्न सकिन्छ ।’ 

यसैगरी, यसपटकको भ्रमणको अर्को एजेन्डा बुटवल–गोरखपुर प्रशारणलाइनको शिलान्यास समेत हो । प्रधानमन्त्रीको भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर आयोजनाको शिलन्यासको तयारी भइरहेको छ । नेपाल र भारतलाई जोड्ने ४०० केभी क्षमताको प्रसारणलाइन निर्माणपछि नेपालबाट भारततर्फ सहजै बिजुली बेच्न सकिन्छ । यो आयोजनाको लम्बाई १२० किलोमिटर लामो छ ।

यसका साथै, भ्रमणका क्रममा उठ्ने बिजुली सम्बन्धीको एजेन्डा बंगलादेशतर्फ बिजुली निर्यातको विषय रहने बताइएको छ । ‘माथिका सबै एजेन्डामा नेपाल र भारत दुवै पक्ष इच्छुक छ । तर, बंगलादेशतर्फ बिजुली निर्यातको विषय नेपालले बढी उठाउने छ,’ स्रोत भन्छ, ‘यसमा प्रधानमन्त्री दाहालले मुख्य जोड गर्नेछन् । र, बंगलादेशतर्फ सुरुवातमा ४० मेगावाट बिजुली बेच्ने सम्झौताका विषयमा केही घोषणा हुन सक्छ ।’ यही भ्रमणका क्रममा सम्झौता नै हुने तयारी भने छैन ।

यसबाहेक, अन्य क्षेत्रीय प्रसारणलाइन र सबस्टेसन तथा अन्य विद्युतीय ऊर्जा सम्बन्धीमा छलफल र सम्झौताको तयारी समेत भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप