बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

इजलासमा तत्कालीन गृहसचिवको आक्रोश– हिरासतमा टर्चर छ, मिडियाले बदनाम गराए !

सानु भण्डारीको बयान–त्यो डायरी मेरो हैन
बुधबार, १७ जेठ २०८०, २२ : ०८
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । तत्कालीन गृह–सचिव टेकनारायण पाण्डेसहित ४ जनाले बुधबार जिल्ला अदालत काठमाडौँमा बयान दिएका छन् । शरणार्थी प्रकरणमा पक्राउ परेका मुख्य योजनाकार सानु भण्डारी, सचिव टेकनारायण पाण्डे, मोरङका गोविन्द चौधरी र काठमाडौँ घर भएका रामशरण केसीले बयान दिएका हुन् ।

गोविन्द चौधरीको बयान पूरा भएपछि टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीले काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेमप्रसाद न्यौपाने सामु बयान दिएका हुन् ।

११ बजेर ३० मिनेटमा बयान सुरु गरेका टेकनारायण पाण्डेले करिब साढे ६ बजेतिर बयान पूरा गरे । आधा दर्जन कानुन व्यवसायीसँग पाण्डेले धेरैपटक बयानबारे परामर्श गरे । रातो मसीले बयान करेक्सन गरे । अन्तिम कपीमा हस्ताक्षर गरेपछि पाण्डेले इजलासमा न्यायाधीश न्यौपानेसँग भने– श्रीमान्, म सचिव तहको मान्छे हुँ, प्रहरीको हिरासतमा टर्चर छ ।

हिरासतमा टर्चर भएकै कारण धेरै मानिस ‘आत्महत्या’ गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै न्यायाधीश न्यौपानेसँग पाण्डेले सञ्चार माध्यमबारे आक्रोश पोखेका छन् ।

आफू जिल्ला प्रहरी परिसरमा जाँदै गर्दा सञ्चार माध्यमले ‘३ दिनदेखि रिसोर्टमा लुकेर बसेका थिए सचिव’ भनेर प्रचार गरेको उनको गुनासो थियो ।

सचिव पाण्डेले भने, ‘बद्नाम गराउने काम भयो, मिडियाले जे मन लाग्यो त्यही लेख्न मिल्छ र श्रीमान् ?’

अघिल्लो दिनसम्म आफू उपराष्ट्रपतिको कार्यालयमा हाजिर भएको र साँझ तनाव भएपछि भक्तपुरको एक रिसोर्टमा गएको उल्लेख गर्दै पाण्डेले भने, ‘मलाई बद्नाम गरिएको छ ।’

सचिव पाण्डेलाई न्यायाधीशले जवाफ दिए, ‘तपाईले उठाउनुभएको कुरा मैले बुझेको छु ।’ हिरासतमा हुने टर्चरबारे न्यायाधीश न्यौपानेले भने, ‘अनुसन्धान गर्ने अधिकार प्रहरीलाई छ, त्यसमा हामीले गर्न सक्ने केही हुँदैन ।’

म्याद थप्न ल्याउँदा प्रहरीलाई अनुसन्धानको प्रगति माग्ने भन्दा बाहेक अरु अधिकार न्यायाधीशलाई नहुने उल्लेख गर्दै न्यायाधीश न्यौपानेले भने, ‘अभियोजनको अधिकार सरकारी वकिललाई छ, त्यसमा हामीले छिटो गर्नुस् भन्ने बाहेक केही गर्न सक्दैनौं ।’

अन्य आरोपितको हकमा गरम देखिएको इजलास सचिवको हकमा भने ‘नरम’ देखिएको छ । यसअघिका ३ दिनको बयानमा आरोपितले बयान सुरु गरेपछि कानुन व्यवसायीसँग परामर्श गर्न इजलासले कडाई गरेको थियो । तर, बुधबार सचिव पाण्डेले पटक–पटक आधा दर्जन वकिलसँग परामर्श गरेर बयान सच्याउने सुविधा पाए ।

टेकनारायणले कुरा राखेपछि अर्का आरोपित सानु भण्डारीले पनि न्यायाधीशसँग भने, ‘अहिले हिरासतमै बस्नुपर्ने हुनाले मलाई समस्या पर्न सक्छ श्रीमान्, मेरो दाजुलाई बालकृष्ण खाणले जबर्जस्ती कागज गराएका छन् ।’

भण्डारीलाई न्यायाधीशले सोधे, ‘कागज गराएको कुरा बयानमा राख्नुभो ?’ भण्डारीले जवाफ दिए– छैन श्रीमान् ।

न्यायाधीशले फेरि भने, ‘बहसमा कानुन व्यवसायीमार्फत त्यो कुरा राख्नुहोला ।’

‘डायरी मेरो हैन’

ललितपुर महानगरपालिका–२३ बस्ने सानु भण्डारीको घरबाट प्रहरीले डायरी बरामद गरेको थियो । अनुसन्धानको क्रममा बरामद डायरीको आधारमा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपको संलग्नता पुष्टि भएको अनुसन्धान अधिकृतहरु बताउँछन् । तर, अदालतमा बयान गर्दा सानुले सो डायरीमा लेखिएको अक्षर आफ्नो नभएको जिकिर गरे । इजलासमा भण्डारीले भने, ‘डायरीको अक्षर मेरो होइन, डायरी पनि मेरो होइन ।’

डायरीबारे इजलासले गरेको निकै लामो प्रश्नमा अलमलिएपछि सानु भण्डारीलाई कानुन व्यवसायीले प्रश्नको व्याख्या गरिदिए । कानुन व्यवसायीसँग परामर्श गरेर प्रश्नबारे स्पष्ट भएसँगै उनले भने, ‘डायरी मेरो होइन ।’

सानु भण्डारी अलमलिएपछि उनलाई कानुन व्यवसायीसँग परामर्श गर्न न्यायाधीश न्यौपानेले अनुमति दिएका हुन् । परामर्शपछि कानुन व्यवसायीलाई न्यायाधीश न्यौपानेले सोधे, ‘प्रश्न (त्यसमा) उहाँलाई कन्भिन्स गर्नुभो ?’

बुधबार गोविन्द चौधरीले सबैभन्दा छिटो बयान सिध्याए । शरणार्थी प्रकरणमा बयान दिँदै चौधरीले भनेका छन्, ‘म आफैं पीडित छु, मैले कसैलाई ठगेको छैन ।’

गोविन्द चौधरीपछि रामशरण केसीले बयान दिए । रामशरणले सविन भट्टराईलाई ४ लाख ५० हजार बैंकमा डिपोजिट गरेको भौचर इजलासमा पेस गरेका छन् । रामशरणले आफू शरणार्थी नेता टेकनाथ रिजालका कारण झन्झटमा फसेको बयान दिएका छन् ।

रामशरणले इजलासमा भने, ‘घरमा रङ लगाउने ठेक्का लिन जाँदा पैसा कमाउने बाटो यता छ भनेर रिजालले भनेर मलाई यसमा फसाए ।’

रिजाललाई ११ लाख नगद बुझाएको बयान केसीले दिएका छन् ।

‘सूत्र परिचालन’का लागि कुरा गरेको सचिवको जिकिर

तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सूत्र परिचालन गर्न शरणार्थी प्रकरणमा संलग्न गिरोहका सदस्य केशव प्रसाद दुलालसँग कुरा गरेको बताएका छन् ।

सरकारी वकिल कार्यालयले केशव प्रसाद दुलाल र सचिव पण्डेको बीचमा भुटानी शरणार्थीका कोटामा अमेरिका पठाउने सम्बन्धी ह्वाट्स एपमा भएको लामो कुराकानी अदालतमा पेस गरेको छ । त्यसबारे सोधिएको प्रश्नमा पाण्डेले भने, ‘एसएमएस कुराकानी सूत्र परिचालनका लागि गरेको हुँ, गिफ्टको कुरामा पनि सूचनाको लागि ओको भनेको हुँ ।’

शरणार्थी सम्बन्धी कार्यदलले तयार गरेको प्रतिवेदन फोटोकपी गरेर सचिव पाण्डेले  नक्कल प्रमाणित गरेको भेटिएको छ । गृह मन्त्रालयले दुईथरी प्रतिवेदन अनुसन्धानको क्रममा प्रहरीलाई उपलब्ध गराएको थियो । बुधबारसम्म १२ जनाको बयान पूरा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप