शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
एनएमबी बैंक लुटपाट प्रकरण

बैंकका कर्मचारी र जेलका कैदीबन्दीमाथि प्रहरीको निगरानी

शुक्रबार, १९ जेठ २०८०, १२ : ०९
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । महत्तरीस्थित महोत्तरी गाउँपालिका–२ मा सञ्चालित एनएमबी बैंकको शाखामा भएको लुटपाटबारे प्रहरीले सूक्ष्म ढंगबाट अनुसन्धान थालेको छ । गत सोमबार अपराह्न साढे १२ बजे बैंक भित्र प्रवेश गरेर हतियारधारी (पेस्तोल बोकेका) समूहले कर्मचारीलाई नियन्त्रणमा लिई रकम लुटपाट गरेका थिए । 

प्रहरीका अनुसार बैंकबाट १५ लाख एक हजार चार सय ९३ रुपैयाँ लुटपाट भएको हो । बैंकले शाखाको अन्तिम हिसाब मिलान गर्दा यो परिमाणको रकम लुटपाट भएकोले अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्राचार समेत गरेको छ। 

महोत्तरी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले बैंक लुटपाटको घटनामा सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए । उनले रातोपाटीसँग भने, ‘बैंकमा त्यति नै बेला यति रकम जम्मा भएको सूचना कहाँबाट चुहियो, सेवाग्राहीको भीड चापाचाप नभएको र यति बेला छिरेर रकम लुट्न सजिलो हुन्छ भन्ने सूचना कहीँ न कहीँबाट लिक भएको हाम्रो आशंका छ । हामी सबै आशंकालाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाएका छौँ ।’ एसपी मल्लका अनुसार बैंककै केही कर्मचारी र सुरक्षागार्डलाई समेत अनुसन्धानको दायरा भित्र राखिएको छ । प्रहरीले उनीहरूको फोनको कल रेकर्ड समेत केलाउँदै छ । ‘ अहिले ठ्याक्कै यही मानिसहरू संलग्न थिए भन्ने निर्क्योल भएको छैन, तर, कर्मचारी र जेलमा कैद भुक्तान गरेर लुटेराहरूसँग समेत बुझ्ने काम भइरहेको छ,‘ एसपी मल्लले भने,‘ बैंकको सीसीटीभीमा कैद भएका दृश्यमा उल्लेख भएको फोटो निकालेर लुटेराबारे सूचना संकलन गर्दैछौँ ।’ 

एनएमबी बैंक भएको स्थान र भारतीय सीमा करिब १० किलो मिटर छ । नेपाल – भारत खुला सिमानाका कारण भारतबाट आएका लुटेरा समूहले लुटपाट गरेर भागेको आशंका प्रहरीको छ । तर, बैंकमा जम्मा भएको रकमबारे सूचना महोत्तरीबाटै लिक भएको दाबी प्रहरीको छ । लुटेरा समूहले पटकपटक बैंकमा ‘रेकी’ गरेपछि मात्रै लुटपाट गरेको आशंका प्रहरीको छ । एसपी मल्लले भने,‘ यो लुटपाट योजनाबद्ध ढंगले भएको हुनुपर्छ , त्यसका लागि बैंकमा आएर पटकपटक लुटेराले रेकी गरेको हुनुपर्छ । हामीले बैंकको सीसीटीभीमा कैद भएका दृश्य केलाउँदै छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप