शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पियनहरूको पोखरामा ‘पुनर्मिलन’

६ दशक पहिलेदेखि ओलम्पिकमा नेपालको सहभागिता तर खेलाडीबारे बेखबर
शुक्रबार, १९ जेठ २०८०, १९ : २८
शुक्रबार, १९ जेठ २०८०

 पोखरा । ओलम्पिकलाई विश्व खेलकुदकै महाकुम्भ भनिन्छ । प्रत्येक खेलाडीले ओलम्पिकमा खेल्ने सपना बुनेकै हुन्छ । उनीहरुको चाहना ओलम्पिक स्वर्ण पदक चुम्ने हुन्छ । 

सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को सदस्यता प्राप्त गरेसँग सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा यात्रा सुरु गरेको थियो । 

झण्डै ६ दशकको यो अन्तरालमा ५० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना) र शीतकालीन ओलम्पिकमा २ जनाले सहभागिता जनाएको तथ्याङ्क छ । ओलम्पिकमा सहभागी भएका १० जना खेलाडीको निधन भैसकेको छ । 

नेपाल ओलम्पिक एसोसिएसनका अध्यक्ष दीपक विष्टका अनुसार नेपालमा ओलम्पियन खेलाडी कति छन् भन्ने आधिकारिक तथ्याङ्क छैन । ओलम्पियनहरुले एक अर्कालाई चिन्दैनन् ।

नेपालले ६ दशकदेखि ओलम्पिकमा सहभागिता जनाउँदै आए पनि अहिले को कहाँ छन् र कुन अवस्थामा छन्, थाहा छैन । सोही कुरालाई मध्यनजर गरी नेपाली ओलम्पियनहरुको एक मात्र छाता संगठन नेपाल ओलम्पियन संघले पोखरामा दोस्रो ओलम्पियन पुनर्मिलन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान पनि गरिँदैछ । 

सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा सहभागी गराउन कार्यक्रमको उद्देश्य रहेको विष्टको भनाइ छ । 

जेठ १५ देखि २१ गतेसम्म हुने पुनर्मिलन तथा सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाको खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको समन्वय रहेको छ । 

‘केही ओलम्पियनहरु विदेशमा छन् । हाल स्वदेशमा रहेका ओलम्पियनहरुको पोखरामा जमघट गराउने हाम्रो प्रयास छ । ५० बढी ओलम्पियनहरुको सहभागिता रहने हामीले विश्वास गरेका छौं,’ अध्यक्ष विष्टले भने । 

संघको आयोजनामा पहिलो ओलम्पियनहरुको मिलन तथा सम्मान कार्यक्रम गत वर्ष असारमा काठमाडौंमा भएको थियो । पोखरामा हुन लागेको यो दोस्रो पटकको पुनर्मिलन हो । 

कार्यक्रममा सहभागी हुन ओलम्पियनहरु जेठ १५ गते पोखरा आइपुगेका छन् । जेठ २० गते बिहान लेकसाइडमा फुट ट्र्याकमा हिँडाउने तथा बेलुका औपचारिक कार्यक्रम आयोजना गरिएको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा कार्यक्रम हुन लागेको हो । पोखरामै जेठ २१ गते संघको वार्षिक साधारण पनि हुनेछ । सोही दिन गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरुसँग ओलम्पियनहरुको अन्तक्र्रिया आयोजना गरिएको छ । 

‘सर्भिस टु सोसाइटी, सर्भिस टु ओलम्पियन’ भन्ने नाराका साथ विश्वभरका ग्रिष्म र शीतकालीन ओलम्पियनहरुको छाता संगठनका रुपमा विश्व ओलम्पियन संघको स्थापना भएको विष्टको भनाइ छ । ‘संघमा सदस्य राष्ट्रका रुपमा नेपाल ओलम्पियन्स संघको गठन भएको थियो । 

खेल जीवनपछि पनि विभिन्न कार्यक्रममार्फत् सामाजिक काममा आबद्ध हुन ओलम्पियनहरुलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ पुनर्मिलनलगायत अन्य कार्यक्रमको आयोजना गर्न लागिएको हो,’ उनले भने । 

कार्यक्रममा विश्व ओलम्पियन संघका प्रतिनिधि पनि सहभागी हुनेछन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति तथा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । यो कार्यक्रम आयोजनाले गण्डकी प्रदेशमा खेलकुदमा सकारात्मक प्रभाव पर्ने विष्टको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप