बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेश सरकारबारे माओवादी अनिर्णित

सोमबार, २२ जेठ २०८०, १८ : ३४
सोमबार, २२ जेठ २०८०

विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक अनिर्णित बनेको छ ।

प्रदेशसभा सचिवालयमा सोमबार बसेको बैठकमा सरकारको समर्थनबारे निर्णय लिने तयारी थियो । माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेतीले दिएको जानकारी अनुसार दलको बैठकले मंगलबार प्रदेशका नेताहरूसँग आवश्यक छलफल गरेर मात्रै निर्णय गर्ने बताए । 

यद्यपि माओवादीले दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि पहल गर्ने समिति भने गठन गरेको छ । उक्त समितिले नयाँ सरकार गठनबारे अन्य दलहरूसँग छलफल गर्नेछ ।

यसअघि जसपा सरकारबाट फिर्ता भैसकेको छ । एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीको १२ र जसपाको १ सांसदले समर्थन फिर्ता लिए कार्की नेतृत्वको सरकार स्पष्ट अल्पमतमा पर्नेछ । 

माओवादी केन्द्रबाट कार्की नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य सहभागी छन् । उनीहरू गत माघ ६ गते मन्त्री पदमा नियुक्त भएका हुन् ।

उता नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको गत जेठ ४ गते बसेको बैठकले केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी र जसपाले कोशी प्रदेश सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो ।

यसैबीच माओवादीबाट मन्त्रीद्वय चापागाईं र आचार्यले आजै मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउने तयारी गरेका थिए ।  दलले तत्काल कुनै निर्णय नलिएपछि उनीहरूले मुख्यमन्त्री कार्कीलाई बुझाउन लागेको राजीनामा पत्र गोजीमै थन्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप