शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसमा देखियो सभापति र महामन्त्रीबीच ‘वार’

मङ्गलबार, २३ जेठ २०८०, ०६ : ५७
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति र महामन्त्रीबीच अन्तरविरोध देखिएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच सार्वजनिक तहमै अन्तरविरोध प्रकट भएको हो ।

महामन्त्रीद्वयले कार्यशैलीमाथि प्रश्न उठाएपछि सभापति देउवाले पार्टीलाई ठूलो बनाउँदा पनि गाली गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । शनिबार एक कार्यक्रममा देउवाले महामन्त्रीद्वय थापा र शर्माप्रति संकेत गर्दै आफ्नो नेतृत्वमा कांग्रेस ठूलो पार्टी बनेको अनदेखा नगर्न चेतावनी दिए ।

देउवाको नेतृत्वमा कांग्रेस गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पहिलो बनेको छ । ७५२ वटा पालिकामध्ये ३२९ पालिका (१८८ अध्यक्ष र १४१ प्रमुख) जितेर कांग्रेस पहिलो दलका रुपमा स्थापित छ । २०७४ मा नेपाली कांग्रेसले प्रमुख/अध्यक्ष गरी २६६ पालिकामा जितेको थियो । कांग्रेस २०७४ को तुलनामा ६३ बढी पालिकामा जिताएर देउवाले कांग्रेसलाई ‘कमब्याक’ गराएका थिए । अहिले कुल पालिकाको ४४ प्रतिशत हिस्सा कांग्रेसले ओगटेको अवस्था छ ।

कांग्रेसले १९० पालिकामा उपाध्यक्ष र ११० उपप्रमुखसहित ३ सय पालिकामा दोस्रो प्रमुख पद पनि जितेको छ । ७ हजार ६ सय ३३ मध्ये २ हजार ६ सय वडामा कांग्रेसको नेतृत्व छ ।

प्रदेशसभातर्फ पनि कांग्रेसकै बर्चस्व छ । बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा २७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १९ सांसदसहित कांग्रेस पहिलो दलका रुपमा स्थापित छ । ०७४ मा कांग्रेस कुनै पनि प्रदेशमा पहिलो दल थिएन । अहिले कोशी प्रदेशमा २९, मधेस प्रदेशमा २२ र लुम्बिनी प्रदेशमा २७ सांसदसहित कांग्रेस दोस्रो स्थानमा छ ।

 

०७४ को भन्दा ०७९ मा कांग्रेसले सबै प्रदेशमा सांसदको संख्या बढाएको छ । ०७९ मा संघीय संसदमा पनि कांग्रेस पहिलो दलका रुपमा स्थापित छ । ०७४ मा सम्पन्न निर्वाचनमा २३ प्रत्यक्ष र ४० समानुपातिक गरी कांग्रेससँग प्रतिनिधिसभामा ६३ सांसदको उपस्थिति थियो । संसदको दोस्रो दल भए पनि कांग्रेससँग एक तिहाइ सांसद संख्या पनि थिएन ।

२०७९ मंसिरमा भएको निर्वाचनबाट संघीय संसदको चित्र फेरिएको छ । अहिले ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ जना सांसदसहित कांग्रेस पहिलो दलका रुपमा स्थापित भएकोमा वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा तनहुँ–१ गुमाएको छ ।

तीन प्रदेशमा सरकारको नेतृत्व गरेको कांग्रेस तीन वटा प्रदेशमा सत्ता साझेदार दलका रूपमा सरकारमा सहभागी भएको छ । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारमा गत चैत १७ मा सहभागी भएको कांग्रेसले ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको छ । आफ्नो नेतृत्वमा प्राप्त भएको उक्त उपलब्धीलाई अनदेखा गरेर महामन्त्रीद्वय थापा र शर्मा विरोधमा उत्रिएको देउवाको गुनासो छ ।

उनले शनिबार महामन्त्री थापा र शर्मालाई शब्दको झटारो हानेका छन् । आफ्नो विरोध गरेरमात्रै पार्टी नबन्ने भन्दै महामन्त्रीद्वयलाई गाली गर्न छाडेर काम गर्न देउवाले जवाफ दिए । ‘मैले पार्टी ठुलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ,’ उनको भनाइ थियो ।

कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी रहेको कुरा नभुल्न देउवाले सचेत गराए । ‘नेपाली कांग्रेस ठूलो पार्टी भएको सत्य कुरा हो । स्थानीय तह, प्रदेश र केन्द्रमा हामी पहिलो पार्टी हो,’ उनी भन्छन्, ‘अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठुलो पार्टी भएको छ ।’

गत चैत ४ मा भएको स्ववियु निर्वाचनमा नेविसंघले त्रिवि केन्द्रीय क्याम्पससहित महत्त्वपूर्ण मानिने अधिकांश क्याम्पसको नेतृत्व हात पारेको थियो । यसको बलमा पार्टीलाई अझै बलियो बनाउनुपर्ने देउवाको भनाइ छ । ‘गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न, पार्टी ठुलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ,’ उनी भन्छन् ।

पार्टीको तल्लो कमिटीसम्म गएर नेतृत्वलाई गाली गर्दा पार्टी अप्ठ्यारोमा पर्ने देउवाको तर्क छ । ‘गाली गरेर कहाँ पार्टी बन्छ ? लडाइँ गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने ?’ उनको प्रश्न छ ।

महामन्त्री थापा भने कांग्रेसले नागरिकको मत जिते पनि विश्वास गुमाएको बताउँछन् । ‘कांग्रेसमा अहिलेजस्तो संकटको अवस्था यसअघि कहिल्यै देखिएको थिएन । संघ, प्रदेशको सरकारमा कांग्रेस छ ,’ उनले भने, ‘तीन सयभन्दा बढी स्थानीय तह कांग्रेसले जितेको छ । मत जिते पनि विश्वास गुमाएको छ । सेलिब्रेसन गर्ने बेला पार्टीका सदस्यहरूमा छटपटी, निराशा, र आक्रोश देख्छु ।’

यसलाई सम्बोधन गरेमा मात्रै अघि बढ्न सकिन्छ भन्ने महामन्त्री थापाको निष्कर्ष छ । ‘तर, यसलाई पार्टी सभापतिले बुझ्न चाहेको देखिँदैन । नेतृत्व आफैँ पनि समस्या बनेको छ । अहिले जे भइरहेको छ, यो तालले कांग्रेस संकटबाट बाहिर निस्कन सक्दैन भन्ने मेरो निष्कर्ष छ ,’ उनले भने ।

अर्का महामन्त्री शर्मा पनि यसमा एकमत देखिन्छन् । त्यसैले पछिल्ला दिनहरुमा सभापति देउवाको कार्यशैलीमाथि प्रश्न उठाउँदै महामन्त्रीद्वय आक्रोशित सुनिन थालेका छन् ।

पार्टी सञ्चालनको सन्दर्भमा सभापतिले महामन्त्रीलाई स्वीकार नगरेको उनीहरुको बुझाइ छ । पार्टीका केन्द्रीय सदस्य मनोनित, भ्रातृ संस्था गठन, टिकट वितरण, मन्त्री छनोटका निर्णयमा देउवाले बेवास्ता गरेको महामन्त्रीको गुनासो छ । देउवाले पार्टीमा विधानसम्मत् काम नगरिदिँदा ‘महामन्त्रीको जिम्मेवारी खै’ भन्ने कार्यकर्ताको प्रश्नले पनि उनीहरुलाई नेतृत्वमाथि खनिनुपर्ने बाध्यतामा पु¥याएको देखिन्छ । यद्यपि महामन्त्री शर्मा सार्वजनिक रुपमा देउवाविरुद्ध उभिएका भने छैनन् ।

गत २२ वैशाखमा बसेको पदाधिकारी बैठकमा भने महामन्त्री शर्माले सभापति पार्टी सुधारका लागि तयार नभए पदबाट राजीनामा दिएर कार्यकर्ता तहमा जाने चेतावनी दिएका थिए । ‘पार्टी रूपान्तरणमा सभापतिज्यू तयार नहुने र सुस्त भइरहने हो भने कहिलेसम्म महामन्त्रीले अपजस लिइरहने ?’ शर्माको भनाइ थियो । अब ‘रिफर्म’ वा ‘रिजाइन’ मात्र विकल्प रहेको उनले बताए ।

महामन्त्री थापाले भने सार्वजनिक रुपमै देउवाको कार्यशैली अब स्वीकार्य नहुने भन्दै चेतावनी दिएका छन् । डेढ वर्षदेखि सभापतिले बहुमतको आडमा मनोमानी गरिरहेको उनको आरोप छ ।

‘महत्त्वपूर्ण निर्णयहरू मैले पनि सञ्चारमाध्ययमबाट थाहा पाएँ । नसहनुपर्ने कुरा अहिलेसम्म सह्यौँ, अब सहन सकिन्नँ । पात्रमा समस्या छ भने पात्र बदल्नुपर्छ, प्रवृत्तिमा समस्या छ भने प्रवृत्ति बदल्ने हो । टुलुटुलु हेरेर बस्ने होइन,’ थापा भन्छन् ।

कांग्रेस केन्द्रीय सदस्य मिलेन्द्र रिजालले भने सभापति र महामन्त्री दुवैको भाव गलत भएको बताए । महामन्त्रीका प्रत्यासी समेत रहेका उनले भने, ‘कांग्रेस यत्तिकै चलिहाल्छ भन्ने भाव पनि गलत छ । अहिले सबै भत्किहाल्यो, सबै चिजलाई बदल्नुपर्छ भन्ने भाव पनि गलत हो ।’

पार्टीका लागि सभापतिको अनुभव र महामन्त्रीको नयाँ प्रयोग गर्ने कुराको समन्वय आवश्यक रहेको उनले बताए । ‘सभापतिसँग अनुभव छ । अनुभवले केही गर्दै नगर्ने भावबाट कांग्रेसको आजका समस्या समाधान हुँदैनन् । महामन्त्रीजीको जुनसुकै प्रयोग गर्ने मन छ,’ रिजालले भने, ‘जुनसुकै जोखिम उठाएर भए पनि केही गर्नुप¥यो भन्ने भावना पनि गलत छ । अनुभव र नयाँ प्रयोगको भावबाट कांग्रेस अगाडि जानुपर्छ ।’

महामन्त्रीका अर्का प्रत्यासी प्रदीप पौडेल भने सभापतिको कार्यशैलीले नै प्रश्नको माग गरेको बताउँछन् । उनका अनुसार नेतृत्वको सफलता भनेकै अरुले टिकाटिप्पणी गर्न नसक्ने गरी पार्टी चलाउने हो ।

‘निर्णयमा विवाद नहुने, विधि व्यवस्था नमिचिएको देखिने, लोकतान्त्रिक ढंगले चलेको जस्तो देखिने, राष्ट्रिय मुद्दालाई सम्बोधन गरेको देखिने र संस्थागत निर्णय गरेको देखिने हुनुपर्छ । यी सबै काम भएको छ र पनि नेतृत्वको विरोध गरिन्छ भने पूर्वाग्रह भन्न मिल्छ,’ पौडेलले भने ।

तर त्यो केही पनि कुरा भएको नभएकाले महामन्त्रीले पार्टीका समस्या मञ्चमा ब्याख्या गर्नुु परेको उनको बुझाइ छ । ‘यो किन भनेर भन्नै प¥यो । अब मिटिङ पनि हुँदैन । बारम्बार अनौपचारिक रुपमा भन्दा पनि हुँदैन,’ उनी भन्छन्, ‘त्यो नभइसकेपछि पार्टीमा भएका समस्या के हुन् भनेर पार्टीका मञ्चमा ब्याख्या गर्ने वा यो परिस्थिति अन्त्य गर्न हामी सहकार्य गरौं । दबाब दिऔं । तपाईहरुले मलाई साथ दिनुप¥यो भन्नु स्वाभाविक हो ।’

पार्टीको कुरा बाहिर गयो भन्दा टिकाटिप्पणी नहुने गरी निर्णय गर्नुपर्ने पौडेलको भनाइ छ । ‘पार्टीभित्र अन्तरविरोध देखियो भनेर हुन्छ ? आजको पारदर्शी दुनियाँमा कहाँ गोप्य रहन्छ,’ उनले भने, ‘पार्टीमा सकारात्मक निर्णय गर्नुप¥यो । पार्र्टी संस्थागत ढंगले चल्नुप¥यो । विधि विधानलाई पूर्णरुपमा आत्मसात् गरिएको हुनुप¥यो । टिकाटिप्पणी नहुने गरी निर्णय गर्नुप¥यो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप