आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सभा/सम्मेलन

पार्टीको परिपत्रसँगै अखिल क्रान्तिकारीको सम्मेलनको चर्चा

अब नेतृत्व ‘टिके’ होइन, चुनावबाट
मङ्गलबार, २३ जेठ २०८०, ११ : २४
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको चर्चा सुरु भएको छ । योसँगै अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट नेतृत्वमा पुग्न विद्यार्थी नेताहरू सक्रिय भएका हुन् । अखिल क्रान्तिकारीको विधान बमोजिम २ वर्षमा सम्मेलन गर्ने व्यवस्था भए पनि चार महिनाअघि देखि नै सम्मेलनको माहौल तात्न थालेको हो । यसअघि राष्ट्रिय सम्मेलन २०७८ साल असोज १७ गते भएको थियो ।

माओवादी केन्द्रले गत वैशाख ११ गते पार्टीका जनवर्गीय संगठन र मोर्चाको सम्मेलन समयमै गर्न अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र महासचिव देवप्रसाद गुरुङको हस्ताक्षरसहितको परिपत्र जारी गरेको थियो । पार्टीले नै परिपत्र गरेर सम्मेलन गर्न निर्देशन दिएपछि विद्यार्थी संगठनका नेताहरू सम्मेलन गर्नुपर्ने भन्दै दबाब बढाउन लागेका हुन् । आगामी भदौ अन्तिम वा असोज पहिलो साताभित्र सम्मेलन गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् । 

तर, अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले अध्यक्ष पञ्चा सिंह विदेश भ्रमणमा रहेकाले स्ववियु चुनावको समीक्षा र सम्मेलनबारे औपचारिक छलफल हुन नपाएको बताए । ‘हाम्रो संगठनको अध्यक्ष विदेश भ्रमणमा हुनुहुन्थ्यो हिजो स्वदेश फर्किनुभयो । त्यही भएर यो बीचमा स्ववियु चुनावको समीक्षा बैठक बस्न सकेको थिएन । अब बैठक बसेर स्ववियु निर्वाचनको समीक्षा र राष्ट्रिय सम्मेलनको विषयमा छलफल हुने छ,’ एमसीले भने, ‘अहिले तत्काल इकाई र जिल्लाबाट सम्मेलन गर्नुपर्छ भनेर साथीहरूले प्रेसर दिइराख्नु भएको छ । अबको बैठकको एजेन्डा राष्ट्रिय सम्मेलनकै एजेन्डामा केन्द्रित हुनेछ ।’ अध्यक्ष सिंह समेत समयमै सम्मेलन गर्न तयार भएकाले कुनै समस्या नहुने एमसीको दाबी छ ।

अखिल क्रान्तिकारीमा चुनाव गर्न दबाब 
अब हुने सम्मेलनमा चुनावी प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग जबरजस्त रूपमा उठेको छ । २१ औँ सम्मेलनमा चुनावी प्रतिस्पर्धा भए पनि २२ औँ सम्मेलनमा सर्वसम्मत गर्ने प्रयास गरिएको थियो । अध्यक्ष सिंहसहित सबै पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत बनाउँदा खोज्दा अखिल क्रान्तिकारी दुई चिरामा विभाजित भएको छ ।

सिंहको नेतृत्वमा कमिटी निर्माण भएपछि उपाध्यक्ष पवन कार्कीले असन्तुष्टि जनाउँदै समान्तर कमिटी कायम राखेका छन् । सर्वसम्मत गर्ने नाममा संगठन भद्रगोल भएपछि चुनावी प्रतिस्पर्धा हुनुपर्ने आवाज उठेको एमसीले बताए ।  ‘अहिले आन्तरिक रूपमा प्रतिस्पर्धा गर्न पाउनुपर्छ भन्ने छ । नेतृत्वमा टिके प्रथा हुँदा संगठन चलायमान हुन सकेन ।

नेतृत्वमा भएका साथीहरूलाई तलका साथीहरूले मानेनन्,’ एमसीले भने, ‘अब निर्वाचनमार्फत जे जति समस्या छन् हल गरेर जाने चुनावी प्रतिस्पर्धा गर्न पाउनुपर्छ भन्ने छ ।’ अब हुने सम्मेलनमा चुनावी प्रतिस्पर्धालाई रोक्न सक्ने अवस्था नरहेको एमसीले बताए । 

पदाधिकारी ठुलो हुँदा नेतृत्वको ‘सिनारियो’ देखिएन 
अखिल क्रान्तिकारीमा चुनावी प्रतिस्पर्धा नहुँदा पदाधिकारी ४१ जना पदाधिकारी छन् । प्रदेश पदाधिकारीलाई समेत केन्द्रको पदाधिकारी सरह मान्यता दिइएको छ । अब अध्यक्ष सिंह बिदा हुने भएपछि १९ जना उपाध्यक्ष र महासचिव दीपेश पुन अध्यक्षको तयारीमा लागेका छन् । 

धेरै ठुलो पदाधिकारी भएकाले भावी अध्यक्ष र महासचिवका उम्मेदवार को–को बन्ला भन्ने स्पष्ट चित्र देखिएको छैन । चुनावी प्रतिस्पर्धा हुने भएपछि कसले छोड्ने र कसले प्रतिस्पर्धा गर्ने  भन्ने टुङ्गो लागेपछि मात्रै अध्यक्ष र महासचिवको स्पष्ट चित्र आउने छ । अहिले उपाध्यक्ष भएका १९ जना र महासचिव पुनले आफूलाई भावी अध्यक्षको रूपमा उभ्याउने प्रयास गरेका छन् ।

उता समानान्तर कमिटी चलाएका पवन कार्कीले पनि आफूलाई भावी अध्यक्षको रूपमा उभ्याउने प्रयास गरेका छन् । समानान्तर कमिटी भएकाले दुवै पक्षलाई एक ठाउँमा उभ्याएर नेतृत्वमा व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप